Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिलालीगुराँस बहुउद्देश्यीय सहकारीको अध्यक्षमा श्रेष्ठ

लालीगुराँस बहुउद्देश्यीय सहकारीको अध्यक्षमा श्रेष्ठ


काठमाडौं ।
पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारणसभाले अमरदास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिका उपाध्यक्षमा हजुरी विष्ट, सचिवमा सुरेन्द्र भण्डारी, कोषाध्यक्षमा अमृतकुमार अर्याल निर्वाचित भएका छन्  । चारवर्षे कार्यकालको लागि संस्थाको सदस्यहरूमा कदम जोशी प्रधान, भोलाकुमार श्रेष्ठ र आर्यासिंह भण्डारी निर्विरोध निर्वाचित भए । यस्तै लेखा समितिको संयोजकमा पुण्यप्रसाद पोखरेल र सदस्यहरूमा विद्यादेवी पाण्डे र तिमिला रञ्जित निर्वाचित भएको छन् ।

नवनिर्वाचित पदाधिकारी, लेखा समितिका संयोजक र सदस्यलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता रत्न अवाले पद तथा गोपनीयताको सपथ गराएका थिए । कोरोना भाइरस (कोभिड–१९) को कारण २५ जनाभन्दा बढी सेयर सदस्यलाई भेला गर्न नहुने निर्देशनपछि संस्थाले मंसिर ११ देखि २६ गतेसम्म संस्थाको मुख्य कार्यालय तथा सदस्य सुविधा काउन्टरहरूमा सेयर सदस्यहरूको नामावली दर्ता भएपछि प्रतिनिधित्वको रूपमा साधारणसभा आयोजना गरिएको संस्थाका सचिव सुरेन्द्र भण्डारीले बताए ।

संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा संस्थाका सचिव भण्डारीले संस्थाको आ.व. ०७६/०७७ मा सहकारीले गरेको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतीको बारेमा जानकारी गराएका थिए । संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पुँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजस्वमा गरेको योगदान, रोजगारीलगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल रहेको उनको भनाइ छ । भण्डारीले देशभर सञ्चालित करिब ३५ हजार सहकारीमध्ये उत्कृष्ट संस्थाको रूपमा पहिचान बनाउन सफल रहेको बताए । पछिल्लो तथ्यांकअनुसार सहकारी संघसंस्थाहरूको सेयर पुँजी एक खर्बभन्दा बढी रहेको, बचत परिचालन आठ खर्ब र सोहीबराबरको ऋण प्रवाह भएको छ । उनले देशभरका सहकारी क्षेत्रमा प्रत्यक्षरूपमा तीन लाखभन्दा बढी व्यक्तिहरूले रोजगारी समेत प्राप्त गरेर सहकारी बजारमा योगदान दिएको बताए ।

संस्था स्थापना भएको दुई दशकमा सहकारीको सेयर सदस्यको संख्या बढेर करिब २२ हजार पुगेको छ । संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म सञ्चालन गरेको छ । साथै संस्थाले आफ्नै भवनमा अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ । साथै संस्था स्थापना भएको दिन असोज १५ गतेदेखि संस्थाले ‘श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग’ समेत सञ्चालनमा ल्याएको छ । साथै संस्थाले काठमाडौँको नयाँ बजार, महाराजगञ्ज, भक्तपुरको सूर्यविनायक, ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, कास्कीको पोखरा, गोरखाको सिरानचोक र मकवानपुरको हेटौंडामा सदस्य सुविधा काउन्टर सञ्चालन गर्ने तयारी गरेको छ ।

साथै संस्थाको सामाजिक उत्तरदायीत्वअन्तर्गत बहुउद्देश्यीय लगानीअन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रालि, शिक्षा क्षेत्रतर्फ नयाँ बानेश्वर शंखमुलमा श्री लालीगुराँस उच्च मावि/कलेज, डेरी परियोजनातर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, ऊर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोक, लार्चामा भैरवकुण्ड हाइड्रोपावरलगायत अन्य विभिन्न संघसंस्थाहरूमा लगानी गरेको जनाएको छ । साधारणसभामा संस्थाका १७ जना जेष्ठ सेयरसदस्य, संस्थाका सर्वाेत्कृष्ट, उत्कृष्ट र पाँचवर्षे सेवा गरेका कार्यक्रममा सर्वोत्कृष्ट कर्मचारी सविना विष्टसहित पाँच जना उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गरिएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया