Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकञ्चनपुरको बेलडाँडीका किसान उखुखेतीतर्फ आकर्षित

कञ्चनपुरको बेलडाँडीका किसान उखुखेतीतर्फ आकर्षित


कञ्चनपुर ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका क्षेत्रका किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । गत वर्षदेखि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभरि सञ्चालन गरेको मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत यहाँका कृषकहरूले उखुखेती गर्न थालेका हुन् । प्रदेश सरकारले उखुखेतीका लागि बीउ, मलदेखि अनुदानमा यान्त्रिकीकरण समेत दिनथालेपछि यहाँका सयौँ किसान व्यावसायिकरूपमा यसतर्फ आकर्षित भएका हुन् । बेलडाँडी गाउँपालिका ३ खैरीघाट कञ्चनपुरका युवा अम्मरराज पण्डित तीन वर्षअघि भारतमा रोजगारी गर्दै आएका थिए । स्वदेशमा कुनै रोजगारी नभएपछि उनी डेढ दशकदेखि भारतमा रोजगारी गरी घर गुजारा चलाउँदै आएका थिए ।

गत वर्ष पण्डित स्वदेश (घर) फर्किए । कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम लागू भइरहेको थियो । पण्डितको गाउँ बेलडाँडीमा समेत मुख्यमन्त्री नमूना कृषि गाउँअन्तर्गत उखुखेती कार्यक्रम आएको थियो । उनकै आठ कठ्ठा खेतमा सुरुमै प्रर्दशनीका लागि उखुखेती गरियो । ‘म घर फर्किनासाथ मुख्यमन्त्री नमूना कृषि गाउँ(उखु)समन्वय समितिले नमूनाका लागि उखुखेती गरिदिए, पण्डितले भने– ‘अहिले ठूलो भइसकेको छ, आउँदो फागुनमा बेच्छु ।’ उनको खेतमा उन्नत जात (०२३८) अर्थात् ट्रेन्चर आधुनिक प्रविधिबाट उखुखेती गरिएको छ । ‘पहिले यो खेतमा परम्परागत बाली लगाउँदा घरमा खानसमेत धौधौ हुन्थ्यो’, पण्डितले भने– ‘अहिले खेतरभरि लटरम्म उखु फस्टाएको छ ।’

आठ कठ्ठा जमीनमा उनको झण्डै डेढ लाखदेखि दुई लाखसम्म आम्दानी हुनेछ । नगदेबालीको रूपमा रहेको उखुखेतीबाट राम्रो आम्दानी हुने भएपछि यसतर्फ आकर्षण भएको उनले बताए । ‘अब विदेश जाँदैन, स्वदेशमै पसिना बगाउँछु’, उनले भने– ‘मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमबाट मलखालदेखि यान्त्रिकीकरण पाइएको छ ।’

खैरीघाटकै सञ्जिवविक्रम सिंह पनि उखुखेतीतर्फ आकर्षित भएका छन् । उनले दुई विगाहमा उखुखेती लगाएका छन् । ‘गाउँनजिकै चिनीमिल छ, उनले भने– ‘नमूना गाउँअन्तर्गत सिँचाइदेखि यान्त्रिकीकरण पाएका छौँ, विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै काम गनुपर्छ ।’ मलखाद, प्रविधिबारे ज्ञानसीप, सिँचाइका लागि बोरिङ एवं यान्त्रिकीकरण पाएसँगै किसानलाई उखुखेती गर्न सहज भएको भन्दै उनले काम गर्न सके स्वदेशमै आम्दानी राम्रो गर्न सकिने बताए ।

अर्का किसान जोगी सिंहले स्वदेशमै उखु मिल नहुँदा समस्या हुनेगरेको बताउँदै उनले अहिले गाउँमा चिनी मिल भएपछि किसानलाई बिक्रीवितरणमा सहज भएको बताए । ‘पहिला हाम्रो नेपालमा चिनीमिल थिएन’, उनले भने, ‘उतिबेला भारतमा लगेर सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता थियो, अहिले गाउँमै चिनीमिल खुलेर सहज भएको छ ।’ परम्परागतरूपमा खेती गर्दै आएका सिंहले कार्यक्रम लागू भएसँगै दोब्बर उत्पादन भइरहेको बताए । ‘पहिले गोरुबाट जोतेर उखु लगाउँथेँ, उनले भने– ‘अहिले प्रविधिबाट खेत जोतेर उखु लगाउँछौँ, उत्पादन पनि वृद्धि भइरहेको छ ।’ कार्यक्रमअन्तर्गत आफूले ट्याङ्की, मेसिन पाएको बताउँदै सिंहले औषधि छर्किन सहज भएको बताए । सिंहले पनि एक बिघा जमीनमा उखुखेती गरेका छन् ।

बेलडाँडी गाउँपालिका १ बेलडाँडीका स्थानीय एवं मुख्यमन्त्री नमूना कृषि गाउँका सल्लाहकार चक्र शाहले उँचो भागतिर उन्नत जातको अर्ली उखु लगाउँदा जंगली जनावरको समस्या रहेको बताए । यस कार्यक्रमबाट किसानलाई थुप्रै राहत भएको छ, उनले भने– ‘राहत पाएपछि किसान उखुखेतीतर्फ आकर्षित भएका छन् ।’

महाकाली सुगर इन्डष्ट्रिज प्रालिका क्यान मेनेजर सीडी पाण्डेले उद्योगका लागि चाहिने कच्चापदार्थ अभाव हुन नदिन किसानलाई प्राविधिकरूपमा सहयोग गर्दै आएको बताए । ‘हामीले पनि यो मुख्यमन्त्री कार्यक्रमसहित अन्य उखु किसानलाई प्राविधिक सहयोग गर्दै आएका छौँ’, उनले भने– ‘किसानलाई कुनै प्राविधिक समस्या आएर हामीलाई कच्चापदार्थ अभाव हुन नदिन हामी किसानसँगै छौँ ।’ उनले स्तरीय उखु अर्लीमै जोड दिएको बताए । बेलडाँडीका अगुवा एव किसान रामबहादुर सिंहले कृषि व्यवसायलाई आत्मनिर्भर बनाउँदै बेलडाँडीका किसान उखुखेतीमा जुटेको बताए । आवश्यक स्रोत साधन दिएर किसानलाई भरपुर सहयोग गर्नुपर्नेमा सुझाव दिए ।

मुख्यमन्त्री नमूना कृषि गाउँ (उखु) समन्वय समिति बेलडाँडीका अध्यक्ष सुरेन्द्र सिंहले किसानलाई उखुखेतीका लागि चाहिने मल, बीउ, खाद, यन्त्र, उपकरण अनुदानमा वितरण गरिएको बताए । ‘गत वर्षदेखि किसानलाई अत्याश्यक बीउ, मलखाद, यन्त्र उपकरण अनुदानमा वितरण गरिरहेका छौँ’, उनले भने– ‘यसवर्ष पनि किसानका खेत–खेतमै सिँचाइका लागि ट्युबेल जडान गरिहेका छौँ ।’ अध्यक्ष सिंहका किसानलाई बोरिङ, इन्जिन, मोटर, पाउर टिलर, रोटाभेटर औषधि छर्किने ट्यांकी, सर्भिस पाइपलगायतका यन्त्र एवं उपकरण जडान गरिनेछ ।

बेलडाँडी गाउँपालिका १, ३, ४ अन्तर्गत सात सय किसानले आठ सय बिघामा उखुखेती गरेका छन् । ‘यसवर्षदेखि हामी फटिलाइजर मेसिन समेत वितरण गछौँ’, अध्यक्ष सिंहले भने– ‘विगतमा खेतमा आगो लगाइन्थ्यो, अब त्यो झन्झट हट्यो ।’ किसानसँग उखुखेतीका लागि लगानी अभावका कारण उनीहरूले अन्य परम्परागत खेती गर्दै आएको बताउँदै सिंहले कार्यक्रममार्फत लगानी, अनुदान, बीउबिजन, मलखाद, आधुनिक प्रविधिबाट खेती गर्दै यान्त्रिकीकरण वितरण गरेसँगै किसान उखुखेतीतर्फ आकर्षित भएको बताए ।

अन्तरबाली पनि सँगसँगै : बेलडाँडी गाउँपालिका क्षेत्रका किसानले मुख्यमन्त्री नमूना कृषि गाउँ (उखु) अन्तर्गत अन्तरबाली समेत लगाएका छन् । कार्यक्रमअन्तर्गत उखुलाई पहिलो प्राथमिकतामा राखेर अन्तरबाली लगाएका हुन् । ‘अहिले १५ जना किसानले अन्तरबाली लगाएका छन्, अध्यक्ष सिंहले भने– ‘उखुसँगै तोरी, आलु, मसुर लगाएका छन् ।’ छोटो अवधिमा तयार हुने बाली र उखु सँगसँगै लगाइन्छ । उखु पाक्न वर्षदिन लागेपछि अन्य ३ र ६ महिनामा तयार हुने बाली पनि लगाइन्छ । अन्तरबालीबाट किसानलाई दोहोरो उत्पादन र लाभ हुने अध्यक्ष सिंहले बताए ।

कृषिमा औद्योगिकीकरण गर्नका लागि कार्यक्रम : कृषि ज्ञान केन्द्र
कृषि ज्ञान केन्द्र कञ्चनपुरले मुख्यमन्त्री नमूना कृषि गाउँअन्तर्गत कृषिमा आत्मनिर्भरका साथै कृषिलाई औद्योगिकीकरण गर्ने सरकारले लक्ष्य रहेको जनाएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिलबहादुर विष्टले किसानलाई परम्परागतबाट व्यावसायिक, आधुनिकीकरण गर्दै औद्योगिकीकरणतर्फ लैजाने कार्यक्रम भएको बताए ।

‘उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने हो, ज्ञान केन्द्र प्रमुख विष्टले भने– ‘किसानलाई प्रविधियुक्त बनाएर उत्पादन वृद्धि गर्दै आर्थिकस्तर वृद्धि गर्ने पनि हो ।’ सुदूरपश्चिम प्रदेश सरकारबाट सञ्चालित कार्यक्रम बेलडाँडीसहित जिल्लाका अन्य पालिकाहरूमा समेत कृषि वस्तु उत्पादन एवं ठाँउ परिवेश सुहाउँदो नमूना गाउँ बनाएर किसानलाई कृषिको आधुनिक व्यवसायीतर्फ उन्मुख गराउने योजना रहेको बताए ।

नगदेबालीको रूपमा रहेको उखुखेतीको थप विस्तारका लागि समेत पहल भइरहेको प्रमुख डा. विष्टले बताए । ‘अहिले जति काम भइरहेको छ, त्यसमा राम्रो काम भए थप क्षेत्र विस्तार गरेर अरु किसान समेट्दै जान्छौँ, किसानलाई आत्मनिर्भर बनाउँछौँ ।’ सुदूरपश्चिम प्रदेश सरकारले कृषिमा जनतालाई आकर्षित गरेर स्वदेशमै वस्तु उत्पादन गर्दै जीवनस्तर वृद्धिका साथै आर्थिक गतिविधिमा संलग्न गराउने नीतिअनुरूप सो कार्यक्रम ल्याएको हो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया