Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिउत्पादनलाई व्यवस्थित गराउन सहकारी प्रभावकारी माध्यम

उत्पादनलाई व्यवस्थित गराउन सहकारी प्रभावकारी माध्यम


बागलुड. ।
काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले उत्पादन क्षेत्रलाई व्यवस्थित गराउनका लागि सहकारी माध्यम सबैभन्दा सहज र प्रभावकारी रहेको बताएका छन् । बागलुङ पशु स्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड काठेखोला–२ बागलुङको आठौँ वार्षिक साधारणसभाको शनिबार उद्घाटनपछि बोल्दै उनले उत्पादनका क्षेत्रमा काम गर्न साह्रै गाह्रो रहेको तर पनि उत्पादन बढाउनका लागि सहकारी माध्यम नै उपयुक्त भएकाले सहकारीमार्फत उत्पादनमा जोडिन उनले किसानहरुलाई आग्रह गरे ।

सहकारी क्षेत्रले पुँजी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष थापाले अब सहकारीमा केन्द्रित भएको पुँजीलाई उत्पादनमा परिचालन गर्नुपर्ने बताए । उत्पादनमा लागेका सहकारीहरुलाई व्यवस्थित गर्नका लागि गाउँपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले उत्पादनका क्षेत्रमा क्रियाशील सहकारीहरुलाई राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए ।

राज्यले सहकारीमार्फत उत्पादन बढाउनका लागि योजना ल्याउनुपर्ने र त्यसका लागि सहयोगको वातावरण आवश्यक रहेको जिसीको भनाइ थियो । कार्यक्रममा काठेखोला गाउँपालिका वडा नं. २ का अध्यक्ष विद्यापति शर्मा, वडा नं. ६ का अध्यक्ष युक्तप्रसाद कंडेल र बागलुङ दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष ओमनाथ सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पारित गर्नुका साथै सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको छ ।

समितिको अध्यक्षमा दिपक गौतम, उपाध्यक्षमा बालानन्द कंडेल, सचिवमा लालबहादुर खनाल, सहसचिव बालकृष्ण शर्मा, कोषाध्यक्षमा रामबहादुर हमाल तथा सदस्यहरुमा बालकृष्ण कंडेल, लक्ष्मणप्रसाद शर्मा, जगन्नाथ कंडेल र कान्तालाल जैसी रहेका छन् । लेखा समितिको संयोजकमा शिवलाल कंडेल तथा सदस्यहरुमा पहलमान थापा र राजकुमार पौडेल चयन भएका छन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया