Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिधान उत्पादनमा वृद्धि

धान उत्पादनमा वृद्धि


दोलखा ।
गत वर्षको तुलनामा यस वर्ष दोलखामा धान उत्पादनमा वृद्धि भएको छ । जिल्लामा गत वर्ष सात हजार चार सय ७२ दशमल ५ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष भने आठ हजार पाँच सय ४८ दशमलव ४५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाले जनाएको छ ।

दोलखाको दक्षिणी क्षेत्र तथा तल्लो क्षेत्रका किसानहरूले धान खेती गर्ने गरेका छन् । माथिल्लो क्षेत्रमा भने धान खेती हुँदैन । बैतेश्वर गाउँपालिका काब्रेका किसान नवराज दाहालल गत वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत नै बढी धान फलेको बताउँछन् । गत वर्ष १२ मुरी धान फलेकोमा यस वर्ष सोही खेतमा छ मुरी धान थप उत्पादन भएर १८ मुरी धान फलेको उनले सुनाए । कोरोना संक्रमणका कारण पर्यटन, व्यापार व्यवसाय र स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुगेको भए पनि धान खेतीमा भने थोरै भए पनि फाइदा पुगेको देखिएको छ ।

समयमै किसानले धानमा हाल्ने मल नपाए पनि मौसमले साथ दिएर पर्याप्त मात्रमा पानी परेकाले यो वर्ष मलै नपुग्दा पनि उत्पादन वृद्धि भएको किसानहरूको बुझाइ छ । अरु समय बाहिर रहने मानिसहरू कोरोनाका कारण घर फर्किएका कारण खनजोत तथा गोडमेल राम्रो भएको र नयाँ खालको बीउ रोपेकाले पनि धानलगायतका कृषि उत्पादन बढेको पहाडीबाली अनुसन्धान कार्यक्रम काब्रे दोलखाले जनाएको छ ।

उन्नतजातको धान रोप्नु, कोरोनाका कारण किसानहरू समयमै घर आउनु र गोडमेलमा ध्यान दिनुजस्ता कारणले धान उत्पादनमा वृद्धि भएको पहाडीवाली अनुसन्धान कार्यक्रमका प्रमुख डाक्टर सुवास सुवेदीले बताए । धान रोप्ने बेलामा समयमा नै पानी पर्नु र धान भित्र्याउने समयमा असिनापानी नपरेको कारण पनि धान उत्पादन राम्रो भएको दोलखा मेलुङ गाउँपालिका वडा नम्बर १ का कृषक नारायणबहादुर श्रेष्ठको भनाइ रहेको छ ।

दोलखा जिल्लाको दुई हजार नौ सय ८९ हेक्टर भू–भागमा धान खेती हुँदै आएको छ । जसमा यो वर्ष आठ हजार पाँच सय ४८ दशमलव ४५ मेट्रिक टन धान उत्पादन भएको हो । रोपाइँको समयमा तुलनात्मकरूपमा वर्षाले साथ दिएको र कोरोनाका कारण नागरिक घर फर्किएर बाँझो रहेको खेतमा समेत धान खेती गरेका कारण जिल्लामा धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र रामेछापका कृषि प्राविधिक ऋषिराज सुवेदी जानकारी दिए । यस वर्ष धान उत्पादन वृद्धि भएको पाइएपछि यहाँका स्थानीय तहले धान खेतीलाई खेती वृद्धि गर्न तथा उत्पादन बढाउन कृषि क्षेत्रमा सोहीअनुसारको कार्ययोजना र कार्यक्रम बनाउन सके पछिल्ला वर्षहरूमा जिल्लालाई धान खेतीमा आत्मनिर्भर बनाउन सकिने सरोकारवालाहरूको भनाइ रहेको छ ।

पहिले बाँझै रहने खेतहरूमा समेत यसवर्ष रोपाइँ गरिएकोले पनि धान उत्पादनमा वृद्धि भएको बैतेश्वर गाउँपालिका कृषि शाखाका प्राविधिक निरज पाण्डेले बताए। साथै यस पटक किसानले अघिल्लो वर्षको तुलनामा एक महिनाअघि नै धान भित्र्याएका छन्। सामान्यतया असारमा रोपेको धान मंसिरमा पाक्ने गरे पनि धानलाई चाहिनेजति सिँचाइ पुगेकाले यो वर्ष किसानले कात्तिकमै सबै धान भित्र्याएका हुन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया