Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकिसानलाई निवृत्तिभरण

किसानलाई निवृत्तिभरण


तम्घास ।
कृषि र कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न गुल्मीको छत्रकोट गाउँपालिकाले किसानलाई निवृत्तिभरण कार्यक्रम सुरुवात गर्ने भएको छ । निवृत्तिभरण दिने योजना बनाउने छत्रकोट जिल्लाकै पहिलो गाउँपालिका भएको समेत बताइएको छ ।

खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान गर्दै समृद्ध किसान बनाउने उद्देश्यले निवृत्तिभरण कार्यक्रम सुरु गर्न लागेको गाउँपालिकाले जनाएको छ । यसका लागि नवौँ गाउँसभाबाट ‘किसान पेन्सन (किसान प्रोत्साहन) कार्यक्रम सञ्चालन कार्यविधि‘ ०७७ पारित गरिएको छ । गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले कृषिमा यान्त्रिकीकरणको प्रयोगबाट उत्पादन एवं उत्पादकत्व बढाउने, व्यावसायिक कृषि प्रणालीबाट प्रतिस्पर्धात्मक क्षमता बढाउने, प्राविधिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षण संवद्र्धन एवं सदुपयोग गर्ने जानकारी दिए । उनले गाउँपालिकालाई कृषि र पशु क्षेत्रको उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले किसानलाई निवृत्तिभरण दिन लागिएको बताए ।

गाउँपालिकाले निवृत्तिभरण पाउने किसानलाई तीन वर्गमा विभाजन गरेको छ । ‘क’ वर्गको किसानलाई हरियो, ‘ख’ वर्गको किसानलाई निलो र ‘ग’ वर्गको किसानलाई पहेँलो परिचयपत्र दिने योजना बनाएको छ । किसानले वर्गअनुसार निवृत्तिभरण प्राप्त गर्नेछन् । गाउँपालिकाले अहिले डाटा संकलन गरिरहेको र वास्तविक किसान पहिचानपछि कार्यविधि संशोधन गरेर वर्गअनुसार निवृत्तिभरण (प्रोत्साहन भत्ता) तोक्ने गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले जानकारी दिइन् ।

कार्यविधिमा गाउँपालिका अध्यक्ष संयोजक रहेको पाँच सदस्यीय पेन्सन छनोट समिति र उपाध्यक्षको संयोजकत्वमा चार सदस्यीय अनुगमन समितिको पनि व्यवस्था गरिएको छ । कार्यविधिअनुसार पशुपन्छीको ‘क’ वर्गको लागि व्यक्ति वा व्यावसायिक फर्ममा गाईभैँसी पाँच माउ, बाख्रा २५ माउ, बङ्गुर १० माउ, कुखुरा ब्वाइलर प्रजाति पाँच सय, मौरीसहित मौरी घार २० र टर्की एक सय स्थानीय हाँस दुई सय ५० हुनुपर्ने कार्यविधिमा रहेको छ ।

यसैगरी कृषितर्फ ‘क’ वर्गका लागि कागती, सुन्तला, अमिलो, आँप, लिची जातका एक सय बोट, उत्पादन दिने तरकारी टनेल १०, च्याउ घर टनेल पाँच, बीजवृद्धि पाँच रोपनी, कफी पाँच रोपनी, उखु १० रोपनी, खाद्यान्य २५ रोपनी र केरा भुइँकटर प्रजाति एक हजार बोट हुनुपर्ने व्यवस्था कार्यविधिमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले बताए । यसैगरी पशुपन्छीमा ‘ख’ वर्गको लागि गाईभँैसी चार माउ, बाख्रा १५ माउ, बङ्गुर सात माउ, ब्वाइलर कुखुरा प्रजाति तीन सय, मौरीसहित मौरी घार १५, टर्की ७५ र स्थानीय हाँस एक सय ५० हुनुपर्नेछ । त्यस्तै कृषिमा ‘ख’ वर्गको लागि उत्पादन दिने कागती, सुन्तला, अमिलो, आँप, लिची जातका ७० बोट, उत्पादन दिने तरकारी टनेल सात, च्याउ घर टनेल तीन, बीजवृद्धि तीन रोपनी, कफी तीन रोपनी, उखु सात रोपनी, खाद्यान्य २० रोपनी र केरा भुइँकटर प्रजाति सात सय बोट आवश्यक पर्ने उनले बताए ।

गाईभैँसी तीन माउ, बाख्रा १० माउ, बङ्गुर पाँच माउ, ब्वाइलर कुखुरा प्रजाति दुई सय, मौरीसहित मौरी घार १०, टर्की ५० र स्थानीय हाँस एक सय भएका पशुपन्छीमा ‘ग’ वर्गमा पर्नेछन् । यसैगरी कृषिमा ‘ग’ वर्गका लागि उत्पादन दिने कागती, सुन्तला, अमिलो, आँप, लिची जातका ५० बोट, उत्पादन दिने तरकारी टनेल पाँच, च्याउ घर टनेल दुई, बीजवृद्धि दुई रोपनी, कफी दुई रोपनी, उखु दुई रोपनी, खाद्यान्य पाँच रोपनी र केरा भुइँकटर प्रजाति पाँच सय बोट हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया