Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिमहाकालीपारि कृषि व्यवसायमा तल्लीन नरेश

महाकालीपारि कृषि व्यवसायमा तल्लीन नरेश


कञ्चनपुर ।
कञ्चनपुरको दोधारा चाँदनीका युवाहरू अहिले आफ्नै गाँउमा व्यावसायिक बन्दै गइरहेका छन् । कोही लोक कुखुरा पाल्दै आर्थिक समृद्ध बढाउँदै छन् भने कोही ब्वाइलर, माछा कोही व्यावसायिक तरकारी खेती गर्दै जीवन व्यवस्थित गर्न थालेका छन् । कोरोना भाइरसको कारण सरकारले लकडाउन गरेपछि उब्जेको रोजगारीको समस्या र त्यसले घरमा चुल्हो बाल्न परेको पीडाले कतिलाई फेरि भारत जान बाध्य बनाएको छ भने कतिले आफ्नो खेतबारीमा केही गर्ने कि भन्ने अभिप्रायले कृषि क्षेत्रमा लागेका छन् ।

विगतका दिनहरूमा पनि हरेक युवाको आकर्षण वैदेशिक रोजगार भएका बेला महाकाली नगरपालिका वडा नं. ८ का युवा वर्ष ३१ का नरेश खड्का खेतवारी खन्न र वस्तुभाउलाई चारो र घाँस खुवानमै व्यस्त छन् । उनले गरेको काम माहाकाली नगरपालिकालाई समृद्ध तथा विकास गर्ने कार्यमा प्रेणादायिक युवा जोस पनि जुर्मुराएको छ । जबसम्म युवा जोस र जाँगर मौलाउन सक्दैन तबसम्म कुनै खालका प्रयास सफल हुँदैन भन्ने गतिलो उदाहरण बनेका छन् माहाकाली नगरपालिकाका नरेश खड्का ।

आफ्नो खेतबारीलाई हरियो बनाउँदै आएका उनी खेतबारीमै रमाउन थालेको झण्डै ३ वर्षभन्दा धेरै भएको छ । विगतमा पाँचवटा रैथाने जातका बाख्रा पालन गरेर सुरुवात गरेका खड्कासँग अहिले आएर ३० वटा रैथाने बाख्रा पालेका छन् । उनी भन्छन्– ‘हामीले विभिन्न विकासी जातका लागि बाख्रा खरिद गर्न आर्थिक समस्या पर्छ, त्यसैले मैले रैथाने जातका बाख्रापालन गर्न रुचाएको हुँ ।’ उनले बाख्रा, कुखुरा, बङ्गुर तथा माछापालनसँग हरियो सागपात तथा बेमौसमी तरकारी फलाएर मनग्य आम्दानी गर्दै आएका छन् । उनको खेतमा अझै पनि बेमौसमी तरकारी फलाएर स्थानीय बजारमा बेच्दै आएका छन् ।

प्रवीणता तहमा विज्ञानको पढाइसँगै कृषि प्राविधिक शिक्षा (जेटीए) पढाइ सकेर उनी झण्डै केही वर्ष एक संस्थामा जेटीएको रूपमा काम पाए । त्यसपछि उनी आफ्नै घरमा केही गर्ने उद्देश्यले घरमै एग्रोभेट सञ्चालन गरे । अहिले घरनजिक रहेको छिमेकीको जग्गा ठेक्कामा लिएर माछापालन समेत गरेका छन् । केही दिनअघि मात्रै ठेक्कामा लिएको जग्गामा माछापालनको लागि ताल निर्माण गरी नैनी, ग्रासकार्पलगायत विभिन्न जातका माछाका भुरा हालेका छन् ।

खड्काले यसअघि आफ्नो एक बिघा जग्गामा बाख्रा पालन, चार कठ्ठा जग्गामा माछापालन र १५ प्रजातिको घाँस तथा तरकारी लगाएका हुन् । एक बिघा जग्गामा मिश्रित खेती गर्दै आएको नरेश खड्काले बताएका छन् । उनले आफ्नो एक बिघा जग्गामा मिश्रित खेती गरी झण्डै १० लाख वर्षेनी आम्दानी गरेको बताउँछन् । पहिला आफ्नो एक बिघा जग्गामा मिश्रित खेती गर्थे तर अहिले आएर थप एक बिघा पाँच वर्षको लागि ठेक्कामा जग्गा लिएर काम अघि बढाएको उनले बताए । यस काममा उनलाई उनका परिवारहरूले निकै सघाउँदै आएको बताउँछन् । ‘

कृषिकार्यमा मेरो परिवारबाट प्रोत्साहन पाएको हुँ’ युवा किसान नरेश खड्का भन्छन् । आफ्नो खेतबारीमा बाख्रा, बङ्गुर, माछा तथा तरकारी फलाएर उनलाई निकै आनन्द दिने गर्दछ । पानी अर्थात् सिँचाइको ट्युबेलको व्यवस्था गरेपछि उनलाई यस कार्यमा निकै सघाउ पुगेको छ । सुरुसुरुमा साथीबाट पैसा सापटी लिएर थोरै मात्रामा मिश्रित खेती गरेका उनले आज आएर लाखौंको सम्पत्ति जोड्न भ्याएका छन् ।

अहिले उनी र उनको सिङ्गो परिवार नै तरकारी खेती र पशुपालनमा खटिएर लागेका छन् । उनलाई महाकाली नगरपालिकामा रहेको श्रृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि सघाएको छ । खड्का थप मिश्रित खेतीको लागि यतिबेला ठेक्कामा एक बिघा जग्गाको खोजीमा छन् । आफ्नो खेती प्रणालीलाई मोडेल फारम बनाउने इच्छा रहेको बताएका छन् ।

श्रीमतीसहित एक छोरीका बाबु नरेश खड्काको घरमा चार जनाको परिवार छ । घरमा श्रीमान्ले गरेको कामप्रति खुशी रहेको नरेशकी श्रीमती गंगा विष्ट खड्काले बताइन् । जेटीए पढाइ सकेर आफ्नो खेतमा व्यवसायी कृषक बन्न उत्रेका युवा कृषक नरेश खड्काको कामको सबैले प्रशंसा गर्न थालेका छन् । कृषि क्षेत्रमा पनि युवाहरूले काम गर्न सके राम्रै गर्न सकिन्छ भन्ने अभिप्रायले कस्सिएका युवा किसान नरेश खड्काले घरपरिवार र समाजमा निकै चर्चा बटुल्न सफल भएका छन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया