
काठमाडौं ।
महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–४ का किसान हिरालाल महतोले पोहोर साल तीन बिघा क्षेत्रफलमा उखुखेती गरेका थिए । तर यसपाली एक बिघामा मात्र खेती गरेका छन् । उत्पादन गरेको उखुको भुक्तानी हालसम्म नपाउँदा उनी उखुखेती मासेर अन्नबाली खेती गर्ने सोचमा रहेका छन् ।
विगत लामो समयदेखि उखुखेती गर्दै आएका महतो मात्र होइन, त्यहाँका अर्का किसान धनेसी महतोको पनि यस्तै पीडा छ । ‘ऋण काढेर उखुखेती गरिन्छ’, उनले भने– ‘उखु मिलले समयमा रकम भुक्तानी नदिँदा ऋणमा डुब्ने डरले यसपालीदेखि उखुखेती गर्न छोडिएको छ ।’ धनेसीले उधारोमा आफ्नो उत्पादन बेच्दा चिनी उद्योगीले समयमा रकम भुक्तानी नगरेको अवस्थाको कारण आफूहरू उखुखेती छाडी अन्नबालीखेती गर्ने सोचमा रहेको बताए ।
नगदेबालीको उधारो कारोबारले आजित भएका यहाँका उखुखेती गर्ने किसानहरू भुक्तानीका लागि निकै सास्ती खानुपरेकाले जिल्लाको उत्तरी भेग बर्दिबासदेखि सुदूरदक्षिणको जलेश्वरसम्म विगत १५ वर्षदेखि उखुखेती गर्दै आएका किसान विस्तारै उखुखेती मासेर अन्नबालीखेती तर्फ आकर्षित हुन थालेका छन् ।
महोत्तरी भङ्गाहाकै अर्का किसान सूर्यदेव मुखियाले पनि वर्षौँदेखि गर्दै आएको उखुखेती मासेर यसपाली डेढ बिघा क्षेत्रफलमा गहुँखेती गरेका छन् । जिल्लामा विगत लामो समयदेखि उखुखेती गर्दै आएका किसान क्रमशः अब यो पेसा त्यागेर अन्य बालीको साहारा लिन थालेका हुन् ।
करिब २० हजार बिघामा व्यावसायिक उखुखेती हुने महोत्तरी जिल्लामा अहिले यो क्रम घट्दै गएको छ । अहिले जिल्लामा छ हजार पाँच सय बिघामा उखुखेती भइरहेको छ । ‘यसपालि छ हजार पाँच सय बिघामा उखुबाली छ’, उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले भने– ‘यसमध्ये दुई हजार पाँच सय बिघामा खुट्टी (दोस्रो वर्षको बाली) उखु छ, यो यसपालि खाली भएपछि अर्का वर्ष तीन हजार बिघामा झर्छ ।’
एकपटक रोपेर दुई बाली लिइने उखुमा पहिलो वर्षकोलाई ‘मुडन’ र दोस्रो वर्षकोलाई ‘खुट्टी’ भनिन्छ । यसपालि नयाँ उखु लगाउने किसान नदेखिएपछि अझै उखु घट्ने स्पष्ट देखिएको हो । उखु खेतीको तयारीमा प्राविधिक सहयोग र सुलभ ऋण नपाउनु, मूल्य निर्धारणमा वर्षेनी झमेला हुनु र भुक्तानी समयमा नपाएपछि यो खेती घट्दै गएको बताइएको छ ।
उखुखेती नगदेबाली र सरकारले यसलाई राष्ट्रिय बाली भनेर घोषणा गरिसकेको छ । तर नगदेबाली भनिएको उखुको उधारो कारोबारले किसानलाई अहिले त्यही खेती निल्नु न ओकल्नु भएको छ । चिनी उद्योगले किसानको उखु किन्दा समयमै रकम भुक्तानी नदिएकाले किसान वर्षौँदेखि प्रताडित हुँदै आएका छन् । उधारोमा उखु बेच्न बाध्य रहेका किसानले आफ्नो भुक्तानी लिन प्रत्येक वर्ष उखु मिलमा धाउनुपर्ने बाध्यता रहेको छ ।
जग्गा भाडामा लिएर तथा ऋण काढेर उखुखेती गरेका किसान जग्गाको भाडा, मल, बीउ, खेतालाको पैसा तिर्न नसकेर घरखेत लिलाम हुने अवस्थामा पुगेको उखु उत्पादक किसान संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बताए । जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिजले उखु कटानको चलान पुर्जी दिन थालेको छ । तर मूल्य निर्धारण नहुँदै आफ्नो उत्पादन बुझाउनुपर्ने भए पनि भुक्तानी भने कहिले पाउने थाहा नभएकोले उखुको गुलियो उत्पादन अमिलोजस्तो भएको छ । महोत्तरी जिल्लामा मात्र नभएर प्रदेश नं २ को अधिकांश जिल्लाका किसानले विस्तारै उखुखेती छोड्दै गएका छन् ।
उखुको उधारो कारोबार र चिनी उद्योगीको भुक्तानी नदिने मनसायका कारण आजित भएका किसानले धमाधम उखुखेती मासिरहेका छन् । सिँचाइ सुविधा नभएका कतिपय ठाउँमा त खेत बाँझो नै राखिएको छ । प्रदेश नं २ को अधिकांश जिल्लमा उखुखेती घटेसँगै कतिपय चिनी मिल बन्द हुने अवस्थामा पुगेको छ । उद्योगले किसानसँग खरिद गरेको उखुको समयमै भुक्तानी नदिनेजस्ता कारणले एकातिर उद्योग धराशायी हुनेगरेको छ भने अर्कोतिर कैयौं मजदुरको रोजगारीसमेत गुमेका कारण तिनीहरूलाई आर्थिक समस्या समेत आएको देखिन्छ ।
सरकारले विदेशबाट आयात भएर आउने चिनी नरोक्दा आफ्नो उत्पादन बजारसम्म पुग्न नसकेकाले आर्थिक अभावको कारण समयमा किसानलाई भुक्तानी दिन नसकिएको मिलका सञ्चालकले स्वीकारेका छन् । उनीहरू भन्छन्, ‘उद्योग सञ्चालनमा लागेको पुँजीको ब्याज, उद्योगस्थलको भाडा, किसानको खेती लागत र उत्पादन समेतको वैज्ञानिक लेखाजोखा गरेर सरकारले उखुको मूल्य तोक्नुपर्दछ ।’
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
- राजीनामा बाध्यता कि नैतिक मात्रै
- मल आपूर्ति तथा वितरकको जिम्मा साल्ट ट्रेडिङ्गलाई
- नौ वर्षपछि पक्राउ परे वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पौडेल
- सेयर बजार परिसुचक २५ सय १५ अंकमा
- पशुपतिनाथ मन्दिर परिसरमा बैंक अफ काठमाण्डूको डिजिटल दान पेटिका शुभारम्भ
- सेञ्चुरी बैंक र राष्ट्रिय व्यवसायी महासंघबीच सम्झौता
- कुमारी बैंक र काठमाडौँ इमेजिङबीच सम्झौता
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया