
तम्घास ।
विश्व महामारीका रुपमा फैलिएको कोरोनाले धेरैको भविष्य अन्योल बनाए पनि गुल्मीका युवाले भने नयाँ सोचसहित सामूहिक तरकारी खेती गर्न थालेका छन् । विदेश तथा स्वदेशमा काम गर्ने धेरैका रोजगारसमेत गुमेको बेला यहाँको रेसुङ्गा नगरपालिकाका युवा विदेशबाट फर्केर सामूहिक तरकारी तथा कृषि खेतीमा लागेका छन् ।
रेसुङ्गा नगरपालिक–१० सिमिचौरका ४० वर्षीय राजन कुँवर विगत १० वर्षदेखि मलेसियामा विभिन्न रेष्टुरेन्ट तथा अन्य कम्पनीमा काम गर्नुहुन्थ्यो । व्यक्तिगत कामका लागि गत फगुन २४ गते स्वदेश फर्किए । त्यसपछि कोरोना महामारी सुरु भयो । विदेशको भिसा पनि कम्पनीले बन्द गरिदियो ।
परिवार चलाउनकै लागि अर्थोपार्जका विभिन्न उपाय सोच्दै गरेका कुँवरले सामूहिक कृषि खेतीको अवधारणा बनाए । अहिले उहाँसहित सिमिचौरका पाँच र रेसुङ्गा नगरपालिका–४ अर्खलेका एक गरी ६ जना मिलेर गत जेठदेखि सिमिचौरमै सामूहिक तरकारी खेती गरिरहेका छन् । उनीसहित टोपबहादुर कुँवर, फर्सुराम कुँवर, रवि कुँवर, सुवास कुँवर र टेकराज कुँवरले सामूहिक तरकारी खेती सुरु गरेका हुन् । उनीहरु सबै वैदेशिक रोजगारीबाट बन्दाबन्दीको समयमा घर फर्किएका हुन् ।
छ युवाले सिमिचौरकै १० जनाको कुल ७२ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएका छन् । उक्त जग्गा छ वर्षदेखि बाँझो थियो । जसले गर्दा खेतमा रूख उम्रिएर जङ्गलमा परिणत भएको थियो । युवाले आफूहरुको परिश्रमसहित कुल ६ लाख लगानीमा ५५ रोपनी जङ्गल (खेत) फँडानी गरी अहिले तरकारी लगाएका छन् । जग्गाधनीमध्ये केहीले एक वा दुई वर्षको भाडा छुट गरेका छन् । त्यसपछि भने वार्षिक रु ६० हजार जग्गा भाडा बुझाउनुपर्ने राजन कुँवरले बताए ।
खेतमा अहिले पाँच क्विन्टल आलु लगाइको छ । त्यस्तै गोपी, प्याज, काँक्रा, घिरौँलालगायत तरकारीका नर्सरीहरु रहेका छन् । अन्य तरकारीका बेर्नाहरु पनि यामअनुसारका उत्पादन गर्छन् । अहिलेसम्म प्याज, गोपीलगायत बेर्ना बिक्रीबाट मात्रै एक लाखभन्दा बढी आम्दानी भइसकेको छ । अहिले बारीमा बन्दागोभी, लोकल गाजर, साग, मूला, टमाटर, केराउलगायत तरकारी छन् । उत्पादित कृषिजन्य सामग्री सबै रेसुङ्गा नगरपालिकाको हाटबजारमा बिक्री हुने गरेका छन् । कृषि उपज लिन नगरपालिकाको गाडी फार्म नजीकै आउने भएकाले बजारको समस्या नभएको अर्का कृषक फर्सुराम कुँवरले बताए ।
विदेशमा काम गर्नेको तुलनामा ६० प्रतिशत मात्रै मिहिनेत गरे राम्रो आम्दानी हुने राजनको भनाइ छ । भविष्यमा आफूहरुले उक्त ठाउँलाई टमाटरको पकेट क्षेत्र बनाउने योजना रहेको उनले सुनाए । विदेशमा अरूको मातहतमा काम गर्न परे पनि स्वदेशमा ‘आफ्नै हात जगन्नाथ’ हुने उनको अनुभव छ । ७२ रोपनीमध्ये बाँकी रहेको केही जग्गा फँडानी गरी तरकारी खेती गर्न तयारी अवस्थामा राखिएको छ ।
बाँकी रहेको २०/२२ रोपनी जग्गामध्ये केही भाग फँडानी गरी बाख्रा पाल्ने र केही भाग बाख्राका लागि चरन क्षेत्र बनाउने योजना छ । अब एक/डेढ महिनाभित्रै खोर बनाउन सुरु गरिने, खोरमा चार सयसम्म बाख्रा पाल्ने र उक्त बाख्राका लागि घाँस पनि लगाउने अर्का कृषक टोपबहादुरले बताए । सिमिचौरकै २६ वर्षीय सुवास कुँवर रोजगारीको सिलसिलामा अहिलेसम्म तीन देश घुमे । सुरुमा मलेसिया गए ।
दलालका कारण काम राम्रो नभएपछि उनी दुई महिनामै घर फर्कनुभयो । त्यसपछि रोजगारीकै लागि भारत र कतार गए । तर, कोरोनाका कारण काम बन्द भएपछि उनी पुनः घर फर्किए । गाउँमै केही काम गर्ने सोच बनाएका सुवास सामूहिक खेतीमा भविष्य देखेर काममा होमिए । आफूको सानैदेखि कृषिमा रुचि भएकाले पनि अहिले तरकारी खेती गर्दा आनन्द लागेको उनले सुनाए । विदेशमा भन्दा स्वदेशमा काम गर्दा छुट्टै प्रकारको आनन्द आउने उनको अनुभव छ । “विदेशमा अरूको मातहतमा बस्नुपर्छ, समयमा तलब आउने ग्यारेन्टीसमेत हुँदैन, उनले भने, ‘यहाँ त आफ्नै प्रकारको स्वतन्त्रता छ ।’
सामूहिक कृषि खेतीमा लागेका अर्का सदस्य ३७ वर्षीय टेकराज विगत पाँच वर्षदेखि मलेसियामाा थिए । कोरोनापछि गाउँ बस्ने सोच बनाएर सुरु गरेको तरकारी खेतीबाट उनलाई सन्तुष्टि मिलेको छ । अहिले आफूहरुलाई काम गर्नका लागि विभिन्न कृषि सामग्री फार्मसम्म पु-याउन तथा उत्पादित कृषिजन्य उपजहरु बजारसम्म लैजान मोटरबाटोको समस्या तथा सिँचाइका लागि पानी भए पनि पाइपको समस्या रहेको उनले गुनासो गरे ।
त्यस्तै विभिन्न कृषिजन्य सामग्री जस्तै हाते ट्र्याक्टर, टनेल, बीउ तथा आवश्यक मललगायत सामग्री पाए उत्पादनमा वृद्धि हुने उनले बताए । मलेसियामा वार्षिक चारदेखि पाँच लाख आम्दानी हुने गरेकामा यहाँ त्योभन्दा बढी हुने उनको अपेक्षा छ । रेसुङ्गा नगरपालिकाका कृषि शाखाप्रमुख हरिशरण पन्थीले नगरपालिकाभित्रका व्यावसायिक कृषि फार्मलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम बनाएको बताए ।
नगरपालिकाले कृषकलाई तालीम, अनुदान, युवा लक्षित कार्यक्रम, हाते ट्र्याक्टर, स्प्रेयरजस्ता सामग्री प्रदान गरिएको पन्थीले बताए । कृषकको उत्पादनलाई बजारको ग्यारेन्टी नगरपालिकाले गरेको र यसबाट धेरै कृषक लाभान्वित भएको उनले जानकारी दिए । नगरपालिकाले हाटबजार सञ्चालन गरी तोकेको दरमा जुनसुकै प्रकारका कृषि उपजहरुको बजारको ग्यारेन्टी गरेको पन्थीको भनाइ छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- मलेसियाको सामाजिक सुरक्षा योजनामा नेपाली नागरिक सहभागी हुन पाउने
- नदीमा माछा पाउन छाडेपछि गुजारा चलाउन मुस्किल !
- पेट्रोलियम अपचलन गर्ने एक हजार ट्यांकरमाथि कारबाही
- अनधिकृत व्यापार हटाउन पुरातत्व विभागसँग माग
- मुख्य नदीहरूमा पानीजहाज सञ्चालन गरी भारतसँग जलमार्गमार्फत व्यापार गर्ने
- नेतृत्वका कारण झन् तनावको खतरा
- रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक पक्राउ
- यातायात र स्वास्थ्य क्षेत्रका कम्पनीमा धेरै विवाद
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया