Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकृषिको व्यवसायीकरणका लागि सहकारी उपयुक्त माध्यम

कृषिको व्यवसायीकरणका लागि सहकारी उपयुक्त माध्यम


वागलुड. ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले कृषि क्षेत्रलाई व्यावसायिक रुपमा अगाडि बढाउनका लागि सहकारी उपयुक्त माध्यम भएको बताएका छन् । बाग्लुङ नगरपालिका वडा नं. ८ सिगानास्थित गणेश व्यावसायिक कृषि सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभाको बुधवार उद्घाटन गर्दै उनले सहकारीमार्फत कृषकहरुलाई कृषिसम्बन्धी ज्ञान उपलब्ध गराई सदस्यहरुलाई उत्पादनमा केन्द्रित गराउने बताए । साथै उनीहरुले उत्पादन गरेको वस्तुलाई संकलन र बजारीकरणको काम सहकारी गर्नुपर्नेमा उनको जोड थियो ।

कृषि उत्पादन बढाउनका लागि आवश्यक स्रोतको व्यवस्थापन सहकारीले गरिदिएर कृषकलाई निर्धक्क उत्पादनमा लगाउने र संकलन र बजारीकरणको व्यवस्थापन स्थानीय सरकार र सहकारीले गर्नुपर्ने उनले बताए । कार्यक्रममा कृषि ज्ञान केन्द्र बाग्लुङका प्रमुख भानुभक्त भट्टराईले कृषिको व्यवसायीकरणका लागि कृषिसम्बन्धी प्राविधिक ज्ञानको आवश्यकतामा जोड दिए । ‘ज्ञान भएन भने उत्पादन बढाउन गाह्रो हुन्छ’, प्रमुख भट्टराईले भने, ‘कृषकलाई प्राविधिक ज्ञान दिनका लागि कृषि ज्ञान केन्द्र सदैव तयार छ ।’ बागलुङ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जीत बहादुर जिसी (राजन) ले वडा कार्यालयले व्यावसायिक रुपमा कृषि क्षेत्रमा लाग्ने कृषकहरुलाई सहयोग गर्दै आएको बताए ।

संस्थाले सुन्तला, तरकारी उत्पादनमा सदस्यहरुलाई केन्द्रित गराउनुका साथै सदस्यहरुले उत्पादन गरेको सुन्तलाको भण्डारणका लागि २१ लाख ४० हजारको लागतमा कोल्ड स्टोर निर्माण गरी कृषकहरुलाई सहजता प्रदान गरेको छ । कृषकहरुलाई उत्पादनका लागि आवश्यक स्रोतको व्यवस्थापनमा सहयोग गर्दै आएको संस्थाका अध्यक्ष खड्काले बताए । साधारणसभाले सचिव रमेश थापाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष तिल बहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया