Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषियुवाले कोदो झार्ने मेसिन बनाएपछि स्थानीय खुसी

युवाले कोदो झार्ने मेसिन बनाएपछि स्थानीय खुसी


सोलुखुम्बु ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ४ का दुई युवाले कोदो झार्ने मेसिन निर्माण गरेका छन् । स्थानीयरूपमा खेर गएका सामग्रीबाट स्थानीय युवाले कोदो झार्ने मेसिन निर्माण गरेका हुन् । बिग्रेको मोटरसाइकलको चेन, अलकत्रको जस्ता र मोटर प्रयोग गरेर कोदो झार्ने मेसिन निर्माण गरेका हुन् । उक्त मेसिन निर्माण भएसँगै घण्टौँ लगाएर हातमा ठेला उठाउँदै कुदो चुट्ने बाध्यताको अन्त्य भएको भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन् ।

उमेरले ७२औँ वसन्त पार गरिसकेकी जसलक्ष्मी राई भन्छिन्, ‘मलाई लाग्दैनथियो कि गाउँमै कोदो चुट्ने मेसिन निर्माण हुन्छ र त्यसबाट सहजै कोदो कुट्न सकिन्छ भनेर । तर गाउँका दुई युवाले कोदो चुट्ने मेसिन निर्माण गरेपछि अहिले गाउँका धेरै जना अचम्मित भएका छन् ।’ मेसिन निर्माण भएपछि कोदोको दाना बनाउनका लागि सहज भएको स्थानीयको भनाइ छ । राईले भनिन्, ‘हिजोसम्म हातमा ठेला उठाएर कोदो झार्नुपथ्र्यो अहिले त मेसिनले कुट्छ, निकै सजिलो भएको छ । कति मज्जाले काम गर्न सकिँदोरहेछ ।’

अघिल्लो वर्षसम्म १० जना मान्छेले दुई दिन लगाएर झार्ने कोदो अहिलेमेसिनले तीन घण्टामै सकिदिएपछि पैसा र समय दुवैको बचत भएको स्थानीयको भनाइ छ । समयको बचतसँगै सहजरूपमा समेत काम सम्पन्न गर्न सकिने यो मेसिन निकै उपयोगी भएको अर्का स्थानीय जयकुमार राईले बताए । प्रविधिको विकाससँगै गाउँमा पनि विभिन्न सामग्री बन्दा निकै सहज भएको उनले सुनाए ।

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणको लागि देशमा लकडाउन सुरु भएपछि काठमाडौंबाट गाउँ फर्किएका अर्जुन राई र सोही गाउँका बिकल राई मिलेर कोदो कुट्ने मेसिन निर्माण गरेका हुन् । धान कुट्ने थ्रेसर मेसिन युटुबमा हेरेर सोहीअनुसार आफूहरूले पनि बिग्रेको मोटरसाइकलको चेन, अलकत्रको जस्ता र मोटरलगायतका सामान जोडेर कोदो झार्ने मेसिन निर्माण गरेको उनीहरूले सुनाए । समयको सदुपयोगसँगै यो मेसिनबाट आम्दानी पनि लिन सकिएको उनीहरूले बताए । विद्युत्बाट सञ्चालन हुने उक्त मेसिनले एक घण्टामा चार मुरीसम्म कोदो झार्ने गरेको उनीहरूको भनाइ छ ।

मेसिन निर्माण भएसँगै स्थानीय नागरिकलाई कोदो झार्न सहज मात्र भएको छैन कि निर्माण गर्ने स्थानीय दुई युवालाई पनि राम्रो आम्दानी हुने गरेको छ । स्थानीय सरकारले स्रोत साधनहरू जुटाइदिएर अवसर प्रदान गर्ने हो भने यस्तै अन्य सिर्जनशील कामहरू गर्न सकिने उनीहरूले सुनाए । त्यसो त नागरिकको नजिकको सरकार स्थानीय सरकारलगायत देशका अन्य दुई सरकारले पनि यस्ता प्रतिभाहरूलाई उजागर गर्न आवश्यक छ । जसले गर्दा बिग्रेका समग्रीको प्रयोग हुनुका साथै रोजगारी समेत सिर्जना हुने थियो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया