Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिलक्ष्य प्राप्त भएपछि धान खरिद बन्द

लक्ष्य प्राप्त भएपछि धान खरिद बन्द


वीरगञ्ज ।
नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले लक्ष्य प्राप्ति भएपछि किसानसँग धान खरिद गर्ने कार्य बन्द गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गरी संघीय सरकारले तोकेको लक्ष्य प्राप्ति भएकोले फागुन २० गते दिउँसो १ बजेबाट धान खरिद गर्न बन्द गरिएको जानकारी गराएको हो ।

संघीय सरकारले चालू आर्थिक वर्षमा ३५ हजार क्वीन्टल सोना मन्सुली धान खरिद गर्ने लक्ष्य दिएकामा कार्यालयले तोकिएको अवधिभित्र १० करोड नौ लाख ७५ हजार मूल्यबराबरको ३५ हजार क्वीन्टल सोना मन्सुली धान खरिद गरी लक्ष्य भेट्टाएको छ । पाँच हजार क्वीन्टल जिरामसिनो धान खरिद गर्ने लक्ष्य पाएकोमा तीन लाख ४१ हजार मूल्यबराबरको एक सय १८ क्वीन्टल मात्र जिरामसिनो धान खरिद गर्न सकेको छ ।

यस क्षेत्रमा जिरामसिनो धानको खेती कम मात्रामा हुने गरेको तथा निजी जिल्ला व्यापारीभन्दा कम दररेटमा जिरामसिनो धान खरिद गर्ने भएकाले लक्ष्य प्राप्ति हुन नसकेको सो कार्यालयका सूचना अधिकारी मुनिलाल कुशवाहाले बताए । कार्यालयले चालू आर्थिक वर्षमा सोना मन्सुली धान प्रतिक्वीन्टल दुई हजार आठ सय ८५ रूपैयाँ र जिरा मसिनो धान प्रतिक्वीन्टल दुई हजार नौ सय रूपैयाँमा खरिद गरेको हो ।

अघिल्लो वर्षभन्दा यस वर्ष सोना मन्सुली धान खरिदको मूल्य आठ प्रतिशतले बढी भएको तर जिरामसिनो धान पाँच प्रतिशतले कम मूल्य निर्धारण गरिएको थियो । मंसिर ११ गतेबाट संस्थानले किसानबाट धान खरिद सुरु गरेपछि तीन महिना १० दिनभित्रै लक्ष्य प्राप्ति गरेको थियो । यसपालि आठ सय सात जना किसानले संस्थानलाई धान बेचेर आर्थिक लाभ लिन सफल भएका छन् ।

एउटा किसानले औसत ४४ क्वीन्टलसम्म धान बेचेका थिए । अघिल्लो आवमा संस्थानले सोना मन्सुली धान २५ हजार क्वीन्टल र जिरामसिनो धान ३२ क्वीन्टल खरिद गरेको थियो । खरिद गरिएको धान कुटानी गरी चामल बनाउने काम भइरहेको छ ।

यहाँबाट उत्पादित चामल वीरगञ्ज, रौतहट, भीमफेदी र चितवन कारागारमा लाने गरिन्छ भने बाँकी रहेको चामल नेपालको अन्य शाखा कार्यालयमा तथा कर्णाली प्रदेशसम्म जानेगरेको छ । कार्यालयले अचानक सूचना प्रकाशित गरी धान खरिद कार्य स्थगित गरे पनि फाटफुटरूपमा किसान धान बेच्न उक्त कार्यालयमा आउनेगरेको भए पनि धान खरिद कार्य बन्द गरेपछि किसान निराश भएर घर फर्किन बाध्य भएका छन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया