Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिखाद्य बैंकद्वारा २३ जिल्लामा अन्न उत्पादन गर्न सुरु

खाद्य बैंकद्वारा २३ जिल्लामा अन्न उत्पादन गर्न सुरु


काठमाडौं ।
पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान भन्ने नारासहित स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेडले २३ वटा जिल्लामा अन्न उत्पादन गर्न सुरु गरेको छ । बैंकका अध्यक्ष शंकर उप्रेतीले विस्तारै अन्य तरकारी र फलफूलहरु उत्पादन गर्दै जाने बताए । बैंकले लगानीकर्ता र पत्रकारबीच शनिबार गरेको साक्षात्कार कार्यक्रम अध्यक्ष उप्रेतीले असल माटो भए मात्र असल उत्पादन गर्न सकिने बताए ।

काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय भएको बैंकले सबै प्रदेशमा प्रादेशिक कार्यालय र ७७ वटै जिल्लामा जिल्ला कार्यालय र विस्तारै आवश्यकताअनुसार विभिन्न पालिका तथा वडाहरुमा समेत जानलागेको उनको भनाइ छ । उप्रेतीले बैंकको सार्थकता र औचित्यको बारेमा जानकारी गराँउदै बैंकले कृषि, पशु, जडीबुटीलगायतका हरेक उत्पादनसँग सम्बन्धित उत्पादन र अनुसन्धानअन्तर्गतका कार्यहरु समेत गरिँँदै जाने प्रस्ट्याए ।

बिग्रेको माटोलाई सपार्दै जैविक खेती पद्धतिबाट उत्पादन गर्ने बैंकको लक्ष्य रहेको उनको भनाइ थियो । आम किसान वर्ग र उपभोक्तालाई समेत जैविक खेतीबारे पर्याप्त जानकारी र विकल्प समेत दिएर अगाडि बढ्ने उनले बताए । बैंकले उत्पादनको बाली पात्रो बनाएर बैंक अगाडि बढ्ने उनले जानकारी दिए ।

विभिन्न क्षेत्रका विज्ञहरुको समुह बैंकमा भएको र विभिन्न बालीहरुका जातका बीउहरु समेत उत्पादन गरिने उनले बताए । कृषिमा किसानहरु किन असफल भए ? यो कुरा वैज्ञानिक तरिकाले कारण खोज्दै समाधान गर्ने उनको दाबी थियो । साथै बैंकले बजारीकरणको लागि पनि सुनिश्चितता गराउने बताए । नेपालमा रहेका बाँझा जग्गाहरुको सदुपयोग गर्न जहाँ जे फल्छ त्यही उत्पादन गर्दै अगाडि बढ्दै जाँदा नेपालमा कृषि क्षेत्रमा भएको परनिर्भरता समेत घटाउन सकिने उनको भनाइ थियो ।

कार्यक्रममा बैंकका सल्लाहकार तथा वरिष्ठ धान बाली विज्ञ भोलामानसिंह बस्न्यातले धानको उत्पादनले प्रत्यक्ष रुपमा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा असर पार्ने बताए । धानको उत्पादन बढाउनसके जीडीपीमा नै वृद्धि हुने उनको भनाइ थियो । नेपालका सिँचाइको सुविधा भएका विभिन्न तराई, भित्री मधेश तथा पहाडी क्षेत्रमा चैते धानको प्रवर्द्धन गर्नुपर्ने उनले बताए ।

धान फूल फुलेपछिको समयमा सूर्यको प्रकाश जति बढी भयो त्यति नै धानको उत्पादन बढ्ने हुँदा चैते धानको खेतीको भूभाग बढाउनुपर्ने र किसानलाई चैते धानमा खेती गर्न प्रेरित गर्नुपर्ने उनको भनाइ थियो । उनले भने ‘नेपाल आजभन्दा तीन दशक अघिसम्म पनि चामल निर्यात गर्ने देशमा पर्दथ्यो, तर आज करिब मासिक रुपमा साढे दुई अर्बको चामल आयात गर्नुपरेको छ ।’

धानको उत्पादन बढाउन बीउको गुणस्तरदेखि प्राविधिक कुराहरुले पनि असर पार्ने भन्दै उनले विज्ञहरुसँग तालिम लिएर खेती गर्दा पक्कै पनि उत्पादन बढाउन सकिने बताए । बैंकका सल्लाहकार तथा कृषिविज्ञ प्राडा टंक प्रसाद पोखरेलले विषाक्त खानपानको कारण मानिसहरु एकदमै रोगी भएको र यसलाई बैंकले घटाउँदै लानुपर्नेमा जोड दिए । कृषक र उपभोक्ताहरु सबैले स्वस्थ खानपानसहितको जीवनयापन गरे मात्र स्वस्थ बन्न सकिने उनको भनाइ थियो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया