Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषितपाईं हाम्रो बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः थापा

तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः थापा


काठमाडौं, पुस २८
तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः मनोजकुमार थापा मगर निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको १२औं वार्षिक साधारणसभाले मनोजकुमार थापा मगरको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा गंगाराम दुलाल निर्वाचित भएका छन् । यसअघि पनि दुलाल उपाध्यक्ष थिए । त्यस्तै सचिवमा पुनः बुद्ध तण्डुकार निर्वाचित भएका छन् भने कोषाध्यक्षमा मन्नु खनाल खत्री चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा रजतकुमार श्रेष्ठ, रोशनी तण्डुकार, प्रेमबहादुर महर्जन, माधवप्रसाद लम्साल र सञ्जयचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै लेखा समिति संयोजकमा रामप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् भने सदस्यहरूमा प्रतिक न्यौपाने र कस्तुरी भुजेल चयन भएका छन् । नवनिर्वाचित सञ्चालक समिति र लेखा समितिलाई शनिबार नै शपथग्रहण गराइएको थियो । साधारणसभाले सञ्चालक समितिले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदनलगायत विभिन्न प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट सदस्यलाई १५ प्रतिशत लाभांश बाँढ्ने राखेको प्रस्तावसमेत पारित गरेको छ । संस्थाले गत आर्थिक वर्षमा पनि १५ प्रतिशत लाभांश सदस्यलाई प्रदान गरेको थियो ।

आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्मा संस्थाको सदस्य चार हजार आठ सय ११ रहेको छ । सोही अवधिसम्ममा संस्थाको चुक्ता पुँजी पाँच करोड १४ हजार रहेको जानकारी गराउँदै संस्थाका अध्यक्ष मनोजकुमार थापा मगरले ४१ करोड ४१ लाख निक्षेप संकलन गरी ४२ करोड ७१ लाख रूपैयाँ कर्जा प्रवाह गरेको बताए । संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा ८६ लाख ३२ हजार रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यस अविधसम्म आइपुग्दा संस्थाको सम्पत्ति ५१ करोड ६७ लाख ८५ हजार पुगेको अध्यक्षले बताए । संस्थाले केन्द्रीय कार्यालयको साथै कलंकी सेवा केन्द्रबाट समेत सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । यस सहकारीले चन्द्रागिरि नगरपालिका १३ पुरानो नैकापमा कृषि फार्मसमेत सञ्चालन गर्दै आएको छ । संस्थाले गत २०७६ असार २० गतेबाट लघुवित्त कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । साधारणसभामा राष्ट्रिय सहकारी महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटा, प्रतिनिधिसभा सांसद देवेन्द्र पौडेल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक पार्वती थापालगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया