Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषियुवा जनशक्ति, वैदेशिक रोजगार र कृषि

युवा जनशक्ति, वैदेशिक रोजगार र कृषि


काठमाडौं ।
नेपाल कृषिप्रधान देश हो । अझै पनि नेपालमा आधाभन्दा बढी जनता कृषिमा आश्रित रहेका छन् । तर यसको विकास र विस्तारमा भने कसैको आँखा पुग्न सकेको देखिँदैन । विश्व बजारमा विज्ञान र प्रविधिले यति धेरै फड्को मारेको भए पनि हाम्रो देशको हालत भने जस्ताको तस्तै रहेको छ । हलो, कुटो र कोदालोले धानेको हाम्रो देशको कृषि प्रणाली ती साधन चलाउने हातहरू खाडीको मरुभूमिमा बालुवा चाल्दै गर्दा अलपत्र अवस्थामा छ । यसरी देशका सबै युवाहरू विदेशी भूमिमा पलायन हुँदा गाउँघरमा बुढाबुढी र बालबालिका मात्र रहेका छन् । सधैँ रमाइलो र रमझम हुने चौतारीहरु रित्ता र शून्य अवस्थामा छन् । बिरामी पर्दा पानी दिने र मर्दा मलामी जाने मान्छेसमेत पाउन गाउँघरमा अहिले गाह्रो छ ।

विदेशबाट आएको रेमिट्यान्सले अहिले सबैको मुहारमा उज्यालो छाएको देखिए पनि यसको दीर्घकालीन असरबारे सबै बेखबर छन् । केही वर्ष विदेश बसेर स्वदेशमै केही गर्छु भनेर जोस र जाँगरसहित आएका युवाहरूलाई पनि आकर्षण गर्ने केही योजना देखिँदैन भने अर्काेतर्फ यस क्षेत्रको विकृति अनि विभिन्न समस्याले गर्दा काम सुरु गर्ने, डराउने अनि गरिहाले पनि सुरुवाती चरणमै समस्याको जालोभित्र जेलिएर पलायनको सिकार हुनुपरेको छ । यस्ता समस्या तुरुन्तै समाधान हुने गीत मात्र बन्छन् सधैँ । भाषण र कागजमा मात्र सीमित यस्ता समस्याको वास्तविक समाधानचाहिँ पीडितहरुले कहिले पाउने हुन् त्यो हेर्न धेरैका आँखा आतुर छन् ।

जलस्रोतको दोस्रो धनी देश नेपाल भौगोलिक विविधताको साथै हावापानीमा पनि विविधताले भरिपूर्ण रहेको छ । यसको उचित सदुपयोग गर्नसके कृषि क्षेत्रसँगै समग्र नेपाल र नेपालीकै लागि बरदान सावित हुन सक्छ । यहाँको हावापानी र वातावरणअनुकूलका कृषिजन्य उत्पादनमा मात्र जोड दिने हो भने पनि हामीले आर्थिक उन्नतिको नतिजा खोज्न धेरै पर जान पर्दैन । प्रशस्त सम्भावना हुँदाहुँदै पनि कृषिसम्बन्धी ज्ञान र सीपको अभावले हामी निर्वाहमुखी प्रणालीबाट माथि उठ्न सकिरहेका छैनौँ । आधुनिक प्रविधिमा पहुँच नहुनु र भए पनि ज्ञानको अभाव हुनु, सिँचाइको अभाव, उचित बजार व्यवस्थाको अभाव, विचौलियाहरूको दादागिरी अनि बजारमा सिन्डिकेटजस्ता कुराहरू अहिलेसम्म पनि यस क्षेत्रमा विद्यमान समस्याको रूपमा रही आएका छन् ।

दुई/चार कक्षा पढ्नेबित्तिकै जस्तोसुकै होस् घरबाहिर गएर महिनावारी पैसा आउने काम नै गर्नुपर्छ अथवा जागिर नै खानुपर्छ भन्ने सोच र पढेलेखेका मान्छेले खेतीपातीको काम गर्नै हुन्न भन्ने मान्यताले गाँजेको हाम्रो समाजमा जबसम्म यो कमजोर मानसिकता हट्दैन तबसम्म कृषिको विकास पनि हुनसक्ने स्थिति देखिँदैन । अनि कृषिको राम्ररी विकास र यस क्षेत्रमा आधुनिकीकरण नभएसम्म नेपालजस्तो कृषिप्रधान देशको विकास हुन्छ भन्नु पनि उही कुलो र कुरो जता लगे पनि जान्छ भन्नुजस्तै मात्र हो । त्यसैले जबसम्म यो क्षेत्रप्रतिको नकरात्मक धारणा बदलिएर शिक्षित मान्छे यहाँ प्रवेश गर्दैनन् तबसम्म नेपालको कृषिमा देखिएका समस्या नहट्ने र कृषिक्षेत्रको विकास नहुने पक्का छ ।

बाराम्बार जतासुकैबाट ठगिएका छन् कृषक । बीउदेखि लिएर पानी, मल हुँदै उत्पादित सामग्री बजारसम्म नपु¥याउँदासम्म ठगिने भनेको सोझा कृषक नै हुन् । भारतबाट दैनिक ट्रकका ट्रक कृषिजन्य सामग्री भित्रिँदा यहाँका उत्पादन कुहिएर बारीमै सडाउनुपर्ने बाध्यता भएको देश हो नेपाल । फेरिइरहने सरकारसँगै आएका नारा र भाषणमा युवा र कृषिलाई लक्षित गरेर विभिन्न कार्यक्रम नआएका हैनन् । कुरामा र नारामा आए पनि कार्यान्वयनको पाटो भने सधैँ ओझेलमा परेको छ । आखिर केले छेक्छ यी सारा योजनाका कार्यान्वयको पाटोलाई ?

देशले तीनै तहको निर्वाचन सकेर बहुमतसहितको स्थायी सरकार पाएको पनि धेरै भइसक्यो । पाँच वर्षका लागि काम गर्ने जनादेश पाएको सरकारले समेत जनअपेक्षाबमोजिम काम गर्न नसकेर बीचमै विघटन हुनेसम्मको अवस्था आइसकेको छ । लामो समयसम्मको अस्थिरताबाट पिल्सिएका नेपाली जनताले केही राहतको सास फेर्ने ठूलो आसा राखेका थिए । तर, हात्ती आयो, हात्ती आयो फुस्सा भनेझैँ सब मिराकलसिवाय केही भएन नेपाली जनताका लागि ।

कृषि गणना २०६८ ले नेपालमा ३८ लाख ३१ हजार कृषक परिवार रहेको तथ्याङ्क सार्वजानिक गरेको छ । तीमध्ये एक लाख १६ हजारले खेतीपाती नै गरेका छैनन् र यो सङ्ख्या अझै बढ्दो क्रममा देखिन्छ । विकसित देशहरूको तुलनामा हेर्ने हो भने क्षेत्रफलको हिसाबमा यो सङ्ख्या कृषि पेसाका लागि पर्याप्त देखिन्छ । तर विभिन्न समस्यामा जेलिएर रुमलिइएकाले वर्षेनी अर्बाैं रुपैयाँबराबरको खाद्यान्नलगायत कृषिजन्य वस्तु छिमेकी मुलुकबाट आयात गर्नुपर्ने तीतो यथार्थ हामीमाझ नै रहेको छ । देशको दुई तिहाइभन्दा बढी जनसङ्ख्या यस क्षेत्रमा लागेर पनि यहाँको उत्पादनले केही समयका लागि मात्र धानेको छ । अरू बाँकी सबै छिमेकी मुलुक भारत र चीनको भरमा बस्नुपरेको छ । यसको मूल कारण हाम्रै अदूरदर्शी नीति र नेतृत्व नै हो ।

आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार केही मात्रामा भए पनि नेपालको कृषिमा आधुनिक औजारको प्रयोग बढ्दा यहाँ जनसङ्ख्याको आबद्धता भने घट्दै गएको छ । सन् २००८ को नेपाल श्रमशक्ति सर्वेक्षणअनुसार कृषिक्षेत्रमा आबद्ध जनसङ्ख्या ७३ दशमलव नौ प्रतिशत रहेकोमा सन् २०१८ मा यस्तो जनसङ्ख्या ६० दशमलव चार प्रतिशत मात्र रहेको छ । नेपालमा कृषि क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा २७ दशमलव सात प्रतिशत योगदान पु¥याएको छ । पछिल्लो समय नेपालमा कृषि क्षेत्रको उत्पादन तीन दशमलव दुई प्रतिशतले बढेको छ ।

कृषि क्षेत्रमा बढ्दो विकर्षणको कारणले एकातिर यसले दिने योगदान घट्दै छ भने अर्काेतर्फ हरेक युवाहरूको वैदेशिक रोजगारप्रतिको मोहले विकराल रूप लिँदै गरेको अवस्था छ । यसको प्रत्यक्ष असर नेपालको कृषि प्रणलीमा परेको छ । सरकारले विभिन्न समयमा ल्याएका कृषिलक्षित योजना र कार्यक्रम पनि वास्तविक कृषकलाई आकासको फल आँखा तरी मर भनेझैँ भएको छ । यस्ता कार्यक्रम पार्टीका नेता, कार्यकर्ता र पहुँचवालाहरूको हातबाट फुत्कन सक्ने स्थिति छैन ।

विदेश गएर खुरुखुरु मासिक आम्दानी गर्ने बानी परेका युवाहरूलाई एकैचोटि यस क्षेत्रमा ल्याएर काम लगाउन त्यति सजिलो नभए पनि सरकारले समयमै समुचित प्रयास गर्नुपर्छ । यसो नगरेमा यो झन् समस्याका रूपमा फैलने निश्चित छ । तीनवटै तहका सरकारले युवालाई लक्षित गरेर कृषिसम्बन्धी विभिन्न आकर्षक कार्यक्रम र तालिमको व्यवस्था गर्नुपर्छ ।

विश्वव्यापी कोरोनाको महामारीसँगै धेरै नेपालीको वैदेशिक रोजगार गुमेको छ । नियमित रुपमा आम्दानी गरिरहेका उनीहरु एक्कासि आर्थिक आम्दानीको बाटो रोकिँदा मानसिक रुपमा समेत विछिप्त बनेको समाचारहरु दैनिकजसो पढ्न र सुन्न पाइन्छ । यिनै युवाहरुलाई मात्र पनि सही ढङ्गले कृषिमा लगाएर व्यवस्थित गर्नसके पनि यस क्षेत्रले फड्को मार्ने अवस्था छ । केवल सरकारको स्पष्ट नीति र कार्यक्रमको खाँचो छ ।

बाहिर गएकालाई फर्काउनुभन्दा पनि अहिले यहाँ भएकाहरूलाई रोक्न सकेमा पनि केही उपलब्धि भएको मान्न सकिन्छ । अनि सरकारले बोकेको युवा स्वरोजगारको नाराले पनि केही सार्थकता पाउन सक्छ । जिन्दगीको डुङ्गा कता बगाउने भन्दै यता न उताको स्थितिमा अलमलिइरहेका लाखौँ युवाहरूलाई लगानीको सुरक्षा र बजारको ग्यारेन्टीसहित यस क्षेत्रमा आकर्षित गर्न सके खाडीका मरुभूमिलाई हराभरा बनाउन सक्ने यति धेरै नेपाली युवाहरूको रगत मिसिएको पसिनाले सही सम्मान पाउँथ्यो कि ? 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया