Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिराष्ट्रिय सहकारी बैंकद्वारा संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँड

राष्ट्रिय सहकारी बैंकद्वारा संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँड


काठमाडौं ।
राष्ट्रिय सहकारी बैंकले सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को प्रावधानअनुरूप आर्थिक वर्ष २०७६/०७७ को संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरूले पाउने रकमको बाँडफाँड गरेको छ ।

बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सहकारी बैंकमा नियमित कारोबार गर्ने संघसंस्थाको खातामा जम्मा गर्ने व्यवस्था मिलाएको जनाएको छ । सदस्य संघसंस्थाले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजको लागि ६० प्रतिशत भारको आधारमा संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको हो ।

बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ संघसंस्थाहरू आव २०७६/०७७ को संरक्षित पुँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकमफिर्ता पाउने सदस्यले बचततर्फ ४३ लाख चार हजार रूपैयाँ सम्म र कर्जातर्फ १२ लाख १८ हजार रूपैयाँसम्म प्राप्त गर्न सफल भएका छन् । ५० हजार रूपैयाँभन्दा बढी संरक्षित पुँजी फिर्ता कोष रकम प्राप्त गर्ने सहकारी संघसंस्थाहरू पाँच सय ४९ रहेका छन् ।

यसअघि बैंकले आफ्ना सदस्य सहकारी संघसंस्थाहरूलाई आव २०७६/०७७ को लागि बैंकको १७औं साधारणसभाबाट पारित गरी १५ प्रतिशत लाभांश वितरण गरिसकेको छ । बैंकले नियमित बचत तथा कर्जाको कारोबार गर्ने र संरक्षित पुँजी फिर्ता कोषबाट रकम पाउने सम्पूर्ण सहकारी संघसंस्थाहरूलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरूमा समेत सहकारी बैंकमा कारोबार गरी संरक्षित पुँजी फिर्ता कोषबाट लाभलिन अनुरोध समेत गरेको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया