Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिचिया निर्यातमा उल्लेख्य वृद्धि, चालु आवको नौ महिनामा ३ अर्ब ६ करोडको निर्यात

चिया निर्यातमा उल्लेख्य वृद्धि, चालु आवको नौ महिनामा ३ अर्ब ६ करोडको निर्यात


काठमाडौं ।
कोरोना महामारीले धेरै क्षेत्रमा असर पारेपनि चियाको निर्यातमा भने उल्लेखनिय वृद्धि भएको पाईएको छ । गत आर्थिक वर्ष २०७६।७७ मा २ अर्ब ७८ करोड रूपैयाँ बराबरको ११ हजार १ सय ८५ मेटन चिया निर्यात भएकोमा चालु आ.व. २०७७।७८ को ९ महिनाको अवधिमै ३ अर्ब ६ करोड रूपैँया बराबरको ९ हजार ५ सय ७० मेटन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्ले देखाएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्क अनुसार आ.व. २०७५।७६ मा २५ हजार २ सय ५ मेटन चिया उत्पादन हुँदा आ.व. २०७६।७७ मा २४ हजार १ सय १८ मेटन चिया उत्पादन भएको थियो । उत्पादनमा केहि गिरावट आउँदा तथा कोरोना महामारीका बीचमा पनि चियाको निर्यातमा उल्लेखनिय वृद्धि हुनुलाई उपलब्धीको रूपमा लिन सकिने वोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले बताए ।

गत वर्ष कोरोना महामारीले धेरै क्षेत्रमा नकारात्मक असर पा-यो । यद्यपी अन्य क्षेत्रको तुलनामा नेपालको चिया क्षेत्रले त्यति धेरै क्षेति व्यहोर्नु नपरेको डा भट्टराईको भनाई छ । लकडाउनका बीच पनि स्वास्थ्य सम्बन्धी सरकारले तय गरेका मापदण्डहरू पालना गरि बोर्डको अग्रसरतामा चिया बगान र उद्योगहरू सञ्चालनमा रहेको उनले बताए । जसले गर्दा अन्य बाली एवं वस्तुको उत्पादनमा गिरावट आउँदा पनि चियाको निर्यातमा उल्लेखनिय वृद्धि भएको उनको भनाई छ ।

नेपालले धेरै उपभोग्य वस्तुहरू आयात गर्दै आईरहेको भएपनि चिया उत्पादनमा भने आत्मनिर्भर भएको धेरै भईसकेको छ । नेपालले स्वदेशमा चिया उपभोग गरि बढि भएको उत्पादन भारत लगायतका तेश्रो मुलुकमा निर्यात गर्दै आईरहेको छ ।

नेपाली चियाको खपत वार्षिक २ सय ग्राम प्रति व्यक्ति भन्दा कम रहेको अनुमान गरिन्छ । छिमेकी मुलुक भारतमै वार्षिक ३ सय ३० ग्राम प्रति व्यक्ति खपत रहेको सन्दर्भमा नेपालमा चिया उपभोग अत्यन्तै न्यून रहेको छ । आन्तरिक खपत वृद्धि गर्न निर्यातका अलावा स्वदेशी बजार विस्तारमा चिया उद्यमी र सरोकारवालाहरू लाग्नु पर्ने वोर्डका कार्यकारी निर्देशक डा भट्टराई बताउँछन् ।

चियामा पाइने दिफ्लेभिन तत्वले नोभेल कोरोना भाइरसको असरलाई रोक्न सक्ने चिया अनुसन्धान संघले अनुसन्धानबाट पत्ता लगाएको सन्दर्भमा यस महामारीलाई चियाको बजार विस्तार गर्ने अवसरको रूपमा पनि लिन सकिने उनले बताए । आगामी दिनमा बोर्डले चियाको आन्तरिक बजार प्रवर्द्धनमा रणनीतिक रूपमा अघि बढ्ने उनले बताए ।

वोर्डले हरेक वर्ष बैशाख १५ गतेलाई राष्ट्रिय चिया दिवसको रुपमा मनाउँदै आएको छ । यस वर्षको २५ औँ राष्ट्रिय चिया दिवसको नारा भने ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’, भन्ने रहेको छ । कोरोना महामारीको कारण वोर्डले चिया दिवसको अवसरमा यसवर्ष कुनै औपचारिक कार्यक्रम भने राखेको छैन ।

वोर्डका कार्यकारी निर्देशक डा विष्णु प्रसाद भट्टराईले एक विज्ञेप्ती जारी गरि चिया कृषक, उद्योगी व्यवसायी, सहकारी, चिया पारखी र सबै सरोकारवालाहरूमा राष्ट्रिय चिया दिवसको शुभकामना दिएका छन् । नेपालको झापा, ईलाम, पाँचथर, धनकुटा, तह्रथुम, नुवाकोट, सिन्धुपाल्चोक, मोरङ, कास्की, ललितपुर, संखुवासभा र लमजुङ लगायतका जिल्लामा चिया उत्पादन हुदैँ आएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया