Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकिसानले पाएनन् मल

किसानले पाएनन् मल


टिकापुर ।
कोरोना संक्रमणका कारण कैलाली जिल्लामा निषेधाज्ञा लागू भएपछि यहाँका किसान मारमा परेका छन् । निषेधाज्ञा लागू भएकाले वर्षे धान खेतीका लागि किसानले रासायनिक मलको जोहो गर्न पाएका छैनन् । निषेधाज्ञाअघि कैलालीका विभिन्न कृषि सहकारीमा रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध भए पनि निषेधाज्ञापछि मल बिक्री बन्द हँुदा किसान मारमा परेका छन् ।

किसान भोजबहादुर चौधरीले निषेधाज्ञाका कारण खेती गर्ने समय नजिक आइसक्दा समेत मल नपाएको बताए । ‘यसपटक मल अभाव हुन्न भन्ने सुनेका थियौँ, मजस्तै धेरै किसान ढुक्क थिए’, उनले भने ‘खेतमा रोप्नका लागि ब्याड तयार हुन थाल्यो तर मल पाइएको छैन । सहकारीले मल बिक्री गरिरहेका छैनन् । अब कसरी मलको जोहो गर्नु ?’ गत वर्ष कोरोनापछिको बन्दाबन्दीका कारण मल नपाएको सास्ती खेपेका कैलालीका किसानहरू यसपाली पनि मल पाइने, नपाइने केही ठेगान नभएकामा चिन्तित भएका छन् ।

जेठ महिनाको पहिलो सातादेखि धान खेतीका लागि धानको ब्याड राख्न किसानले सुरु गरेका छन् । मलको जोहो हुने कि नहुने निश्चित नभएकाले किसानहरू निषेधाज्ञामा समेत रासायनिक मलको खोजीमा लाग्ने गरेका अर्का किसान प्रेमलाल चौधरीले बताए । ‘निधेषाज्ञा छ, मल पाउने टुंगो छैन, अब कोरोना सर्ला भनेर घर बस्ने कुरा रहेन’, प्रेमलालले भने, ‘अब सहकारी तथा स्थानीय सरकारले हामीलाई सहज मल पाउने व्यवस्था गरिदिनुपर्छ । नत्र उत्पादन घट्ने निश्चित छ ।’

वर्षे धान खेतीको तयारीमा किसान जुटिसकेका छन् । वर्षे धानका लागि मल बीउको जोहो गर्ने बेला यही होे । कोरोनाले निम्त्याएको निषेधाज्ञाका कारण किसानले मल, बीउको जोहो गर्न सकिरहेका छैनन् । विगतका दिनमा मल पर्याप्त पाइने भनिए पनि मल समयमा नपाइने समस्या देखिएपछि किसानमा चिन्ता थपिएको छ ।

किसानहरू रासायनिक मलको जोहो नगरे धान खेतीमा असर पर्ने भएकाले मलका सहजताको लागि बिक्रेता, सहकारी र स्थानीय सरकारले आवश्यकता र प्राथमिकता हेर्नुपर्ने किसान वीरबल डगौराको भनाइ छ । ‘निषेधाज्ञा जारी रहोस् तर किसानलाई आवश्यक मल, बीउ, इन्धन सहज पाइयोस्, हामीलाई सहज हिँड्ने वातावरण बनाइदिनुस्’, डगौराले भने, ‘अहिले सबैले ट्याक्टरको सहयोगमा खेत जोत्ने चलन छ । खेत जोत्न इन्धन पनि सहज र सबै समयमा उपलब्ध गराउनु प¥यो ।’

किसानहरू महामारीले मुलुक ठप्प भएमा बेला कृषि उत्पादनमा समेत असर परेमा भोकमरी हुने बताउँछन् । ‘मुलुकमा आर्थिक गतिविधि ठप्प छन् । मानिसको भोक मेट्ने भनेको उत्पादनले हो । कृषि उत्पादन बढाउन बीउ, मल, सिँचाइ, खेती गर्न आवश्यक जनशक्तिजस्ता कुरामा सहयोग चाहिन्छ’, किसान अगुवा रूपेश शर्माले भने, ‘यी सबै पूर्वाधार जुटाउन, आवश्यक व्यवस्था गर्न सरकारले प्राथमिकतामा राख्नुपर्छ । साथै किसानको उत्पादन बजारीकरणमा सघाउने काम पनि गर्नुपर्छ ।’ कैलालीका किसानले हरेक वर्ष मलका लागि भौतारिनुपरेको छ ।

विगतमा भारतीय नाका खुला हुने भएकाले भारतीय बजारको भरमा मल व्यवस्थापन गर्ने किसान गत वर्षबाट भारतीय नाका बन्द भएपछि निकै मारमा परेका छन् । कैलालीमा ७१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुनेगरेको छ भने करिब २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने गरेको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया