Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिप्रविधिमा जोडिँदै दोलखाका किसान

प्रविधिमा जोडिँदै दोलखाका किसान


दोलखा ।
पछिल्लो समय जिल्लाका ग्रामीण बस्तीमा नयाँ प्रविधिका कृषि औजारको प्रयोग बढिरहेको छ । केही वर्षअघिसम्म परम्परागत शैलीमा खेती गर्ने किसानलाई हाल बजारमा भित्रिएको प्रविधिले खेतीपाती गर्न र बाली कुटपिट गर्न सहज भएको छ । हातपाखुरा दुखाएर दिनभर गहुँ कुट्ने बैतेश्वर ६ नाम्दुका किसान गोरे नेपाली अहिले गहुँ कुट्ने मेसिन गाउँमा ल्याएपछि निकै सहज भएको बताउँछन् ।

मेसिन नहुँदा एक मुरी गहुँ कुट्न दिनभर लाग्थ्यो, अहिले गाउँमा मेसिन आएपछि आधा घण्टामा गहुँ कुटेर सकेको नेपालीले बताए । दुई/चार वर्षअघिसम्म गोरुले खेतबारी जोत्ने किसान अहिले ट्र्याक्टरको प्रयोग गर्न थालेका छन् । खेतीअनुसारका प्रविधि गाउँ भित्रिएसँगै काम गर्न सहज भएको किसानहरू बताउँछन् ।

दिनभर हलो जोतेर एक हजार नकमाउने किसान अहिले नयाँ प्रविधिका मेसिनरी कृषि औजारको प्रयोग गरेर सिजनमा दैनिक तीन हजारदेखि पाँच हजार रूपैयाँसम्म कमाउने गरेको बैतेश्वर तीन मिर्गेका किसान पुष्कर बस्नेत सुनाउँछन् । बस्नेतसँग गहुँ कुट्ने मेसिन र खेतबारी जोत्ने ट्र्याक्टर रहेको छ ।

गहुँको सिजनमा गहुँ कुटेरै एक महिनामा करिब ५० हजार आम्दानी गरेको उनले सुनाए । तेल तथा मर्मत खर्च कटाउँदा पनि ३० हजार आम्दानी गरेको बताए । त्यस्तै अब धान खेतीको समय सुरु भएकाले खेत जोत्ने ट्याक्टरबाट पनि दुई महिना राम्रो आम्दानी हुने बस्नेतको भनाइ छ । छिटोछरितो ढंगले खेतीपाती गर्न सहज भए पनि काम गर्दागर्दै बिग्रेका कृषि औजार बनाउने ठाउँ र सहजरूपमा इन्धन नपाउँदा खर्च बढ्नेगरेको उनको गुनासो छ । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया