Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिगण्डकी प्रदेश सरकारसँग सहकारीलाई सहुलियत दरको कर्जा उपलब्ध गराउन माग

गण्डकी प्रदेश सरकारसँग सहकारीलाई सहुलियत दरको कर्जा उपलब्ध गराउन माग


काठमाडौं ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेतीले सहकारीमार्फत गरिबी निवारणमा योगदान गर्नका लागि सहुलियतपूर्ण कर्जा सहकारी बैंकमार्फत परिचालन गर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

राष्ट्रिय सहकारी बैंकले बुधबार भर्चुअलरूपमा आयोजना गरेको सहकारीमा साइबर सुरक्षा तालिमको शुभारम्भ गर्दै उप्रेतीले यस्तो बताएका हुुन् । गरिबीका रेखामुनि रहेका जनताको आयस्तर बढाउन तथा आत्मनिर्भर हुन प्रेरित गर्न सहुलियतपूर्ण कर्जा परिचालन आवश्यक रहेको भन्दै उप्रेतीले प्रदेश सरकारको योजनाअनुसार लक्षित वर्गको उत्थानका लागि सहकारी बैंकमार्फत पुँजी परिचालन गर्न उनले आग्रह गरे । सहकारीमार्फत उत्पादन, प्रशोधन र बजारीकरणलगायत सेवा क्षेत्रमा प्रभावकारी काम गर्नका लागि प्रदेश सरकार र सहकारी बैंकबीच सहकार्य गर्न आह्वान गर्दै उनले प्रदेश सरकारले सहुलियतपूर्ण कर्जा बैंकलाई उपलब्ध गराउने र बैंकले त्यसमा थप गरेर सहकारीमार्फत उत्पादनमा लगाउन सकिने उनले बताए ।

हामीले प्रदेश सरकारसँग सहुलियत दरको कर्जाको माग गरेका छौँ, प्रदेश सरकारले कर्जा उपलब्ध गरायो भने हामी सरकारको लक्ष्यअनुसार नै सहकारीमार्फत परिचालन गर्न तयार छौँ, उप्रेतीले भने, प्रदेश सरकारले उपलब्ध गराउने कर्जामा शतप्रतिशत थप गरी प्रदेशका सहकारीहरूमार्फत लक्षित वर्गमा परिचालित गछौँ । प्रदेश सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराएमा बैंकको समेत थप गरी कृषि तथा पशुपन्छी पालनमा आश्रित कृषक, स्वरोजगार सिर्जना गर्न दक्ष शिक्षित युवा, वैदेशिक रोजगारीबाट फर्किएका युवा, महिला र विपन्न तथा आर्थिक सामाजिक रूपमा पिछडिएका वर्गमा परिचालन गरिने उप्रेतीले बताए ।

कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीलाई प्रभावकारी रूपमा सञ्चालनका लागि प्रविधिको जति आवश्यकता छ, त्यति नै प्रविधिको सुरक्षाको आवश्यकता रहेकाले प्रविधिको सुरक्षाका लागि सचेत रहन आग्रह गरे । सहकारी रजिष्ट्रारको कार्यालय पोखराका अधिकृत सागर खनालले प्रविधिमार्फत सहकारीको सम्पूर्ण तथ्यांक अद्यावधिक गर्न आवश्यक रहेको बताए । उनले सरकार र अभियानबीच सहकार्य गरेर सहकारीलाई प्रविधिमैत्री तथा प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बैंकको सूचना सञ्चार तथा प्रविधि विभागका प्रमुख नविन कुमार कार्कीले सहकारीमा साइबर सुरक्षा विषयमा सहजीकरण गरेका थिए । कार्कीले सहकारीमा प्रविधिको आवश्यकता, प्रविधिको प्रयोगमा हुनसक्ने जोखिम, प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने विषयहरूमा जानकारी गराएका थिए । बैंकको शिक्षा तथा तालिम विभागका वरिष्ठ अधिकृत मिना शर्माले सञ्चालन गरेको कार्यक्रममा प्रदेश शाखा पोखराका प्रमुख नरेश पाण्डेले स्वागत गरेका थिए । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया