Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषि‘सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ’

‘सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ’


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखेर तत्काल खोप दिने व्यवस्था गर्नका लागि आवश्यक पहल गर्ने बताएका छन् । ‘बैंक तथा वित्तीय क्षेत्रजत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई यस सरकारले खोपमा प्राथमिकता दिने छ’, उनले भने । सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै संवेदनशीलताका आधारमा प्राथमिकतामा राख्दै खोप दिने योजना रहेको बताए ।

‘नेपालको अर्थतन्त्रमा सहकारीको महत्वलाई यस सरकारले बुझेको छ । सरकार सहकारीलाई महत्व दिएर अगाडि बढ्नेछ’, उनले भने । राष्ट्रिय सहकारी महासंघको टोलीसँग भएको भेटमा महासंघको सल्लाहकार समेत रहेका गृहमन्त्री खाँडले सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने बताए । उनले महासंघको सल्लाहकार समितिको बैठकमा आफू उपस्थित भएर आवश्यक छलफल गर्ने बताए ।

महासंघका अध्यक्ष मिनराज कँडेल र वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनुपरेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए ।

महासंघका अध्यक्ष कँडेलको नेतृत्वको टोली गृहमन्त्री खाँडलाई भेटेर सफल कार्यकालको शुभकामना दिएको थियो । सो भेटमा महासंघका लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटा, सञ्चालक खेम पाठक, सञ्चालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, सञ्चालक डिबी बस्नेत, राजेन्द्र पौडेल, सागर ढकाल, महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र नायब महाप्रबन्धक बाबुल खनालको उपस्थिति थियो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया