Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसहकारीहरूले नाफाको लागि नभई उत्पादन र रोजगारी सिर्जनामा प्रतिस्पर्धा गर्नुपर्ने

सहकारीहरूले नाफाको लागि नभई उत्पादन र रोजगारी सिर्जनामा प्रतिस्पर्धा गर्नुपर्ने


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सहकारीहरूले नाफाको लागि नभई उत्पादन र रोजगारी सिर्जनामा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । उत्पादनमुखी अर्थतन्त्रको विकास गर्न सहकारीका साथै लघुवित्त क्षेत्रले पनि जोड दिनुपर्ने बताए । त्यसका लागि सरकारले नीतिमा परिवर्तन गरी सहजीकरण गर्ने उनले जानकारी दिए ।

राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित ‘सहकारीमा लघु वित्त सम्मेलन–२०७८’ मा उनले सहकारीहरूले उत्पादनमा जोड दिँदा त्यसले रोजगारी सिर्जना गर्ने बताए । त्यसैले सहकारी संस्थाहरूहरूले नाफाको प्रतिस्पर्धा नगरी रोजगारी सिर्जना, गरिबी अन्त्य गर्ने तथा उत्पादन वृद्धिमा प्रतिस्पर्धा गर्नुपर्ने उनको सुझाव थियो । साथै उनले सामाजिक सुरक्षाको भत्ता पनि सहकारी बंैक तथा गाउँ–गाउँमा रहेका लघुवित्त कम्पनीमार्फत भुक्तानी गर्ने व्यवस्थाका लागि छलफल चलाइरहेको जानकारी दिए ।

यस्तै शर्माले सहकारी बैंकका चेक क्लीयरिङ नहुने नियम खारेज गर्ने बताए । यसैगरी मन्त्री शर्माले ऋण प्रवाहमा रहेको असमानता समेत हटाउन पहल गरिने जानकारी दिए । ‘गाडी किन्ने कर्जा थोरै ब्याज लाग्ने तर गरिबले लिने कर्जामा धेरै ब्याज लगाउने कार्य सच्याउनुपर्नेछ’ उनले भने । उनले कर्जा प्रवाहमा ब्याजदर घटाएर सहज बनाउन सहकारी बैंक, सहकारी संस्था तथा लघुवित्त संस्थाहरूलाई आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशव बडाल, पत्रकार शर्मिला ठकुरी, राष्ट्रिय सहकारी बैंकका उत्कृष्ट कर्मचारीलगायतलाई सम्मान गरिएको थियो । मंगलबार सुरु भएको ‘सहकारीमा लघु वित्त सम्मेलन–२०७८’ बुधबारसम्म चल्नेछ । कोरोनाका कारण सम्मेलनमा भौतिक उपस्थिति कम गराइएको छ भने भर्चुअल माध्यमबाट छ सयभन्दा बढीको सहभागिता रहेको आयोजक राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया