Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारथप ६ सहित नेपालमा एक सय ४४ धानका जात सिफारिस

थप ६ सहित नेपालमा एक सय ४४ धानका जात सिफारिस


काठमाडौं । नेपालमा थप छ किसिमका धानका जात सिफारिस गरिएको छ । यसअघि नेपालमा एक सय ३८ किसिमका धनका जात लगाइँदै आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यही साउन ३२ गते सोमबार राजपत्रमा सूचना प्रकाशित गरी धानका थप जातहरु सिफारिस गरेको हो । थप गरी सिफारिस गरिएका ती सबै धानका जात भारतमा विकास गरिएका वर्णशंकर जातहरु हुन् । छवटा धानका जात थपिएसँगै नेपालमा धानका जातको संख्या एक सय ४४ पुगेको छ । यसअघि विभिन्न क्षेत्रमा लगाउनका लागि एक सय ३८ वटा धानका जात सिफारिस गरिएका थिए ।

मन्त्रालयका अनुसार थप गरिएका छवटा धानका जातहरु नेपालका तराई, भित्री मधेश र बेसीहरुमा मात्र लगाउन मिल्नेछ । ती धानका जातहरु समुद्री सतहदेखि सात सय मिटरसम्मको नेपालका भू–भागमा मात्र लगाउन मिल्नेछ । राजपत्रमा प्रकाशित सूचनाअनुसार टीएमआरएच–१२४, एमपी–३०३०, एरिज एजेड–६६३३ एसटी, २७ पी–२२, आरएचआर–१११ र एमपीआर–५०५ रहेको छ ।

यस्तै, नेपालमा नै विकास गरी मकैको जात पनि मन्त्रालयले थप गरेको छ । नेपालमा विकास गरी थप गरिएको मनकामना–९ नामको मकै समुद्री सतहदेखि आठ सय मिटरदेखि १८ सय मिटर उचाइसम्मका मध्यपहाडी क्षेत्रमा लगाउन मिल्छ । नयाँ थप गरिएको सहित नेपालमा एक सय दुई किसिमका मकैका जात लगाउन पाइन्छ ।

यसैगरी, नेपालमा विकास गरी थप दश किसिमका गहुँको बीउ पनि मन्त्रालयले लगाउन सिफारिस गरेको छ । यसअघि ३२ जातका गहुँ लगाउँदै आइएकोमा अब थप दशसहित ४२ जातका गहुँ नेपालमा लगाउन पाइनेछ । मन्त्रालयले मुडुले–१, कौटिला, तिला, सुर्मा, हिमगंगा, भेरीगंगा, खुमलशक्ति, जिङ्क गहुँ–१, जिङ्क गहुँ–२ र बोर्लोग–२०२० गहुँका जात सिफारिस गरेको छ । मुडुले–१ जातको गहुँ समुद्री सतहबाट १७ सयदेखि २२ सय ९० मिटर उचाइसम्मका उच्च पहाडी क्षेत्रमा लगाउन मिल्छ । त्यस्तै, कौटिला जातको गहुँ भने समुद्री सतहबाट एक हजार मिटरदेखि २२ सय ९० मिटरसम्मका मध्य तथा उच्च पहाडी क्षेत्रमा लगाउन मिल्नेछ ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार तिला जातको गहुँ समुद्री सतहबाट १७ सयदेखि २२ सय ९० मिटर उचाइसम्मका उच्च पहाडी क्षेत्रमा लगाउन पाइन्छ । सिफारिस गरिएको अर्को गहुँको जात सुर्मा र हिमगंगा समन्द्र सतहदेखि एक हजारदेखि २२ सय ९० मिटर उचाइसम्मका मध्य र उच्च पहाडी क्षेत्रमा लगाउन मिल्छ । सिफारिस गरिएको अर्को जात भेरीगंगा गहुँ समुद्री सतहबाट १७ सय मिटरदेखि २२ सय ९० मिटरसम्मका उच्च पहाडी क्षेत्रमा लगाउन मिल्छ । खुमलशक्ति गहुँ भने समुद्री सतहबाट एक हजारदेखि १७ सय मिटरसम्मको मध्यपहाडी क्षेत्रमा लगाउन मिल्छ । जिङ्क गहुँ–१, जिङ्क गहुँ–२ र बोर्लोग–२०२० भने तराई र भित्री मधेशलगायत समुद्री सतहदेखि आठ सय मिटर उचाइसम्मका क्षेत्रहरुमा लगाउन मिल्छ ।

मन्त्रालयले जुम्लालगायतका आसपासको क्षेत्रका लागि भनेर नेपालमा नै विकास गरिएको नयाँ जातको कोदो पनि सिफारिस गरेको छ । नेपालम यसअघिसम्म पाँच जातका कोदो लगाउँदै आइएकामा अब एक जात थप भएर छ पुगेको छ । नयाँ सिफारिस गरिएको रातो कोदो समुद्री सतहबाट दुई हजारदेखि तीन हजार पाँच सय मिटर उचाइ भएका भू–भागमा लगाउन मिल्छ । थप दुई जातका फापर पनि मन्त्रालयले सिफारिस गरेको छ । तितेफापर–१ र तितोफापर–२ नाम दिइएका ती फापरहरु समुद्री सतहबाट छ सयदेखि तीन हजार पाँच सय मिटरसम्मका उच्च भागमा समेत लगाउन मिल्छ । यसअघि नेपालमा एक जातको फापर मात्र थियो ।

मन्त्रालयले दुधेचिनो, बरियो कागुनो, जीतपुर–५, ६ र ७ जातका उखु, रामसाई, गोलासाई, डम्बरसाई, भर्लाङ्गे, जिर्मले नामका थप पाँच जातका अलैंची पनि सिफारिस गरेको छ । कर्णालीका हिमाली जिल्लाहरुमा लगाउनको लागि मनकामना रायोको सागको बीउ पनि सिफारिस गरेको छ । यो रायो साग समुद्री सतहबाट १५ सयदेखि दुई हजार मिटर उचाइ भएका हुम्ला, जुम्ला र सो आसपासका जिल्लामा लगाउन मिल्छ ।

यस्तै, तराई र मध्यपहाडी क्षेत्रका लागि भनेर दुई किसिमका हाईब्रिड गोलभेंडा पनि सिफारिस गरेको छ । खुमल गोलभेडा हाईब्रिड–२ र ३ एफ वान नाम दिइएको छ । ती गोलभेँडा नेपालमा नै विकास गरिएको हो । यस्तै, दोलखा जिल्ला लगायतका आसपासका क्षेत्रमा लगाउन भनेर मन्त्रालयले खैरो र पहेंलो घिउसिमीको नयाँ जात पनि सफारिस गरेको छ । समुद्री सतहबाट १५ सयदेखि दुई हजार मिटर उचाइ भएका हुम्ला, जुम्ला र समान हावापानी भएका कर्णालीका आसपासका जिल्लामा लगाउन भनेर लाल मार्से नामको लट्टेको सागको बीउ पनि सिफारिस गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया