Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिनयाँ भाउको पर्खाइमा दोलखाका अलैँची किसान

नयाँ भाउको पर्खाइमा दोलखाका अलैँची किसान


दोलखा । निरन्तर मूल्यमा गिरावट हुँदै आएको अलैँचीको मूल्य यस वर्ष आंशिक वृद्धि भएको देखेपछि दोलखाका अलैँची किसान नयाँ मूल्यमा अलैँची बिक्री गर्ने तयारीका साथ बसेका छन् । केही वर्षदेखि निरन्तर रूपमा मूल्य घट्दै गएको अलैँचीको माग यस वर्ष बढेको हुँदा आंशिक मूल्य वृद्धि भएको जिल्लाका किसानहरूले बताएका छन्।

हाल जिल्लाको बैतेश्वर, विगु, गौरीशंकर, तामाकोसी र कालिन्चोक गाउँपालिकाको विभिन्न क्षेत्रमा लगाएको अलैँची निकाल्ने सिजन सुरु भएको छ। केही वर्षदेखि गाउँमा उत्पादन भएको अलैँची जम्मा गरेर बिक्री गर्दै आएका बैतेश्वरका अलैँची व्यापारी राजु तामाङ यतिबेला अलैँची खेती गरिएको क्षेत्रमा अलैँची किन्न पुग्ने गर्छन् । गत वर्ष करिब १० लाखको अलैँची बिक्री गरेका तामाङ यस वर्ष पनि भदौको मध्यम समयदेखि नै अलैँची खोज्न सुरु गरेको बताउँछन् ।

भारत, चीनलगायतका छिमेकी देशमा अलैँचीको माग र मूल्य बढेकाले नेपालमा पनि यसको मूल्य वृद्धि होला भन्ने आसमा गत वर्षको भन्दा बढी मूल्य दिएर अलैँची जम्मा गरिरहेको तामाङले बताए । विगतका वर्षहरूमा भाउ ओरालो लाग्दा अलैँची बिक्न नसकेर दुःखी बनेका जिल्लाका अलैँची किसान यस वर्ष केही खुसी देखिएको बताउँछन् अर्का व्यवसायी विशाल बस्नेत । उनीहरूले गत वर्षको भन्दा प्रतिकेजी ५० रूपैयाँ बढी मूल्य दिएर अलैँची किनिरहेका छन् । हाल जिल्लामा अलैँचीको मूल्य प्रतिकेजी पाँच सय ५० रूपैयाँदेखि छ सय रूपैयाँसम्म रहेको छ ।

उत्पादन र खेतीको हिसाबले जिल्लामै सबैभन्दा बढी अलैँची उत्पादन हुने गाउँ बैतेश्वर गाउँपालिका वडा नम्बर तीन मिर्गे रहेको उनीहरू बताउँछन् । मिर्गेका किसानले गत वर्षको तुलनामा यो वर्ष अलैँचीको मूल्य वृद्धि भएपछि केही राहत महसुस गरेका छन् । मिर्गेबाट मात्रै वर्षमा झन्डै ३० हजार केजी अलैँची उत्पादन हुँदै आएको छ । गत वर्ष साढे चार सय रूपैयाँ केजी बिक्री भएको अलैँची अहिले पाँच सयदेखि छ सय रूपैयाँसम्म किसानलाई दिएर उठाउने गरेको बस्नेत बताउँछन् । गत वर्ष किसानलाई उत्पादित अलैँची प्रतिकेजी चार सय रूपैयाँमा बिक्री गर्न समेत मुस्किल परेको स्थानीय अलैँची किसान दिनेश तामाङले जानकारी दिए ।

बैतेश्वर ४ काब्रेका किसान नवराज दाहाल भने अलैँचीको मूल्यमा वृद्धि भएको सुन्नमा आए पनि गाउँमा अलैँचीको मूल्य वृद्धि भएको नपाएको बताए । अलैँची बिक्रीको लागि नयाँ भाउको पर्खाइमा बसेको दाहालले बताए । दाहालले वर्षौनि आफ्नो बगानमा उत्पादन भएको अलैँची लिन आउने व्यापारीलाई नयाँ मूल्य लिएर आउन भनेका छन् । उनको अलैँची बगानबाट करिब तीन लाखबराबरको अलैँची उत्पादन हुने गर्छ ।

भदौ अन्तिम सातादेखि किसानलाई दुई महिना अलैँची झिक्ने चटारो चल्ने गर्छ । दोलखाको बैतेश्वर गाउँपालिका किसान यो समय आफ्नो खोल्साखोल्सी र भिरपाखामा लगाएको अलैँचीको नयाँ दाना झिक्न र अलैँची घारीबाट काटेको अलैँची केलाउन, सुकाउन व्यस्त छन् । सामान्यतया किसानले भदौ अन्तिम सातादेखि असोजभरि अलैँचीका दाना काट्ने गर्छन् । अहिले किसान अलैँची निकाल्न व्यस्त रहेको स्थानीय कृषक राजकुमार तामाङले जानकारी दिए ।

अलैँची व्यवसाय महासंघ दोलखाका अध्यक्ष भवेन्द्र कार्कीका अनुसार दोलखाबाट वार्षिक २५ सय टन अलैँची उत्पादन हुँदै आएको छ। जिल्लाका कतिपय अलैँची किसानले भने उपयुक्त मूल्य नपाएको भन्दै अलैँची खेती त्याग्न थालेका छन् । केही वर्षअघि खेतीयोग्य जमिनमा अलैँची खेती सुरु गरेका किसानले लगानी समेत उठाउन नसकेको भन्दै अलैँची खेती त्यागेर पुरानो खेतिमै फर्किन थालेको बैतेश्वर ४ का स्थानीय किसान राजु तामाङले बताए । अलैँची खोज्न जिल्लाका धेरै ठाउँमा पुग्दा मूल्य र अलैँचीमा लाग्ने रोगका कारण किसानले अलैँची खेती त्याग्ने गरेको पाएको उनले बताए । दोलखाबाट वार्षिक चार करोडबराबरको अलैँची बाहिरने गरेको छ । त्यसमा जिल्लाको मिर्गेबाट मात्र करोड हाराहारीमा अलैँची उत्पादन हुनेगरेको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया