Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिदोलखामा फस्टाउँदै किबी खेती

दोलखामा फस्टाउँदै किबी खेती


दोलखा । किबी खेतीको हिसाबले राम्रो सम्भावना बोकेको हिमाली जिल्ला दोलखामा किबी खेती विस्तार हुँदै गएको छ । एक दशकअघिदेखि सुरु गरिएको किबी खेती अहिले जिल्लाका छ स्थानीयतहमा व्यावसायिक खेतीको रूपमा फैलिएको छ । भिन्न कृषि अनुदान तथा कृषि केन्द्रको अनुदान सहयोग तथा किसान स्वयमको लगानीमा भिमेश्वर नगरपालिका, जिरी नगरपालिका, शैलुङ गाउँपालिका, गौरीशंकर गाउँपालिका, बिगु गाउँपालिका र कालिञ्चोक गाउँपालिकाभित्रका हजारौँ हेक्टर जमिनमा किबी खेती हुनेगरेको छ ।

यसबाहेक बैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिका र मेलुङ गाउँपालिका समेत किबी खेती आंशिक रूपमा विस्तार हुँदै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण जिल्ला शाखा दोलखाले जनाएको छ । जिल्लामा सबैभन्दा बढी भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाबाट किबी उत्पादन हुँदै आएको छ । भीमेश्वर नगरपालिकाको बोचबाट मात्र वार्षिक ५० टन किबी उत्पादन हुँदै आएको छ । छिटो, छरितो र छोटो समयमा किबी खेतीबाट आम्दानी हुने हुँदा दोलखाका किसानले परम्परागत अन्नबालीको खेती छाडेर किबी खेतीमा लागेका छन् ।

जिल्लाको शैलुङ गाउँपालिकाभित्रका दर्जनौँ किसानले खेती गरेको किबीबाट राम्रो आम्दानी लिने गरेका छन् । करिब छ वर्षअघिदेखि व्यावसायिक किबी खेतीमा जुटका शैलुङ गाउँपालिका वडा नम्बर ८ शैलुङका विष्णु कार्की, मादव केसी, पदम खत्री र ओम कार्कीले गाउँमा परम्परागत खेती छाडेर व्यावसायिक किबी खेती सुरु गरेका छन् । किसान विष्णु खत्रीले मकै तथा कोदो खेतीबाट भन्दा किबीबाट दोब्बर आम्दानी हुनेगरेको बताए । चार जना मिलेर पाँच वर्षअघिदेखि सुरु गरेको किबी खेतीबाट अहिले लाखौँ आम्दानी गर्नेगरेको उनले सुनाए ।

गत वर्ष उनीहरूको फार्मबाट करिब २० टन किबी उत्पादन भएको सोही गाउँका किसान पदम खत्रीले जानकारी बताए । किबी खेती अहिले गाउँपालिकाभरिका किसानले व्यावसायिक रूपमा खेती गर्न थालेका छन् । शैलुङ गाउँपालिकाको वडा नम्बर ३,४,५,७ र ८ का दर्जनौँ किसानले व्यवसायी रूपममै किबी खेती गरेको शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिए ।

अध्यक्ष दुलालका अनुसार गाउँपालिकाले किबी खेती गर्ने इच्छुक किसानको लागि अनुदान दिन थालेको छ । कतिपय किसानले आफ्नै मुख्य लगानीमा किबी खेतीलाई विस्तार गर्दै लगेका छन् । किसानले उत्पादित किबीलाई कात्तिकदेखि बजारमा निकाल्ने गर्छन् । उनीहरूले बिक्री गर्नुअगाडि किबीको ग्रेडिङ, प्याकेजिङ गरेर राख्ने गर्छन् । त्यस्तै कतिपय ठाउँमा किबीबाट वाइन, जुसलगायतको उत्पादन गरेर समेत बिक्री गर्ने गरिएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया