Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिधानको समर्थन मूल्य निर्धारण

धानको समर्थन मूल्य निर्धारण


काठमाडौं । सरकारले धानको समर्थन मूल्य निर्धारण गरेको छ । गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल मूल्य दुई हजार सात सय ५२ रूपैयाँ र मध्यम किसिमको धानको मूल्य दुई हजार नौ सय दुई रूपैयाँ तोकिएको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष प्रतिक्विन्टल १७ रूपैयाँले बढी हो । गत वर्ष असारे धान लगाउनुपूर्व नै सरकारले धानको सर्मथन मूल्य तोकेको थियो । गत वर्ष मोटा धान प्रतिक्विन्टल दुई हजार पाँच सय ३५ रूपैयाँ र मध्यम धानको मूल्य दुई हजार आठ सय ८५ रूपैयाँ तोकिएको थियो । समयमा नै मूल्य नतोक्दा व्यवसायीले मनोमानी मूल्यमा धान खरिद गर्ने भन्दै सरकारले प्रत्येक वर्ष मोटा र मध्यम किसिमका धानको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ ।

तीन महिना पुग्ने चिनी मौज्दात : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वका लागि आवश्यक चिनी मौैज्दात रहेको जनाएको छ । पछिल्लो समय बजारमा चिनी नभएको गुनासो आएको भन्दै विभागले तीन महिना पुग्ने चिनी मौज्दात रहेको जनाएको हो ।

विभागले बुधबार एक सूचना जारी गरी बजारमा पर्याप्त मात्रामा चिनीको मौज्दात रहेकाले उपभोक्तालाई हतास नहुन आग्रह गरेको हो । ‘आयात अनुपात र खपत भएको मात्राका आधारमा बजारमा अझै तीन महिनालाई पुग्ने चिनी उपलब्ध छ । चिनी आयात प्रक्रिया नियमित रहेको र खुला बजारमा पनि पर्याप्त मात्रामा चिनी रहेकाले उपभोक्ता हतास हुनुपर्ने कुनै कारण छैन । तत्काल आवश्यक मात्राभन्दा बढी सञ्चित गरेर राख्नुपर्ने अवस्था नभएको हुनाले नियमित र सामान्य आपूर्ति प्रणालीमा असर पर्नेगरी अधिक मात्रामा खरिद गरी भण्डारण नगर्नुहुन अनुरोध छ’, विभागले जारी गरेको सूचनामा भनिएको छ । विभागले व्यवसायीलाई समेत गोदाममा वस्तुको मौज्दात हुँदाहुँदै बजारमा नपठाई उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ प्रतिकूल कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गरेको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया