कञ्चनपुर । ‘जमिनका नाममा घडेरी मात्रै छ । श्रीमान् ट्रक चालक हुन् । त्यसैको भरमा परिवारको गुजारा चलाउनुपर्ने । सानोतिनो खर्चका लागि पनि श्रीमान्कै तलब कुर्नुपर्ने । त्यसैमा दिनभरि घरमा एक्लै बस्दा दिक्क पनि लाग्ने । खेतीपाती र अन्य व्यवसाय गर्न पनि नत जमिन धेरै न लगानी नै ।’
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीकी कमला जोशी एक दिन महेन्द्रनगरस्थित दिदीको घर पुगिन् । त्यहाँ उनले दिदीको छिमेकीले बजारमै जमिन लिजमा लिएर गाईपालन गरेको देखिन् । बजार क्षेत्रमा एक महिलाको मिहिनेतबाट प्रभावित भएकी जोशी अहिले पशुपालन गरेर लाखौँको कारोबार गरिरहेकी छन् । जोशी अहिले जिल्लाकै नमूना पशुपालक कृषक बनेकी छन् । उनले घर छेउमै आधा बिघा जमिन लिजमा लिएर गाईपालन गरिरहेकी छन् ।
उनको फार्ममा अहिले ३० वटा हलस्टेन र जर्सी गाई छन् । उनले दैनिक डेढ/दुई सय लिटर दुध बिक्री गर्दै आएकी छिन् । दुध बिक्री गर्न उनी आफैँ दुग्ध विकास संस्थानको अत्तरियास्थित संकलन केन्द्रमा पुग्छिन् । दुुध बेचेर फर्किंदा गाईका लागि चारादेखि सबै सामान आफैंँ ल्याउँछिन् । ‘पाँच गाईबाट सुरु भएको मेरो फार्म अहिले यस क्षेत्रकै नमूूना बनेको छ,’ जोशीले भनिन्, ‘जमिन छैन, लगानी छैन भनेर त्यतिकै बस्नुभन्दा आँट गरेर सफल भइन्छ ।’ सुरुमा उनले बंगुरपालनबाट व्यवसाय थालेकी थिइन् । एक/दुई वर्ष बंगुरपालनबाट राम्रै फाइदा भयो ।
बंगुरहरू बिरामी हुन थालेपछि जोशीले गाईपालन गर्ने सोचिन् । उनले भूमिराज कृषि तथा पशुपालन फार्म दर्ता गरेर पाँच गाई खरिद गरेको सुनाइन् । जिल्लाकै बेलौरी नगरपालिका क्षेत्रबाट हलस्टेन गाई ल्याएर उनले नयाँ व्यवसाय सुरु गरेकी हुन् । ‘त्यसपछि पटक–पटक गरी गाई थप्दै गए,’ जोशीले भनिन्, ‘श्रीमानले पनि साथ र सहयोग गर्दै आउनुभएको छ ।’ कमलाका श्रीमान् रमेश अहिले पनि धनगढीमा ट्रक चलाउँछन् । अहिले दुध बेचेर मासिक ४०/५० हजार बचत भइरहेको जोशी बताउँछिन् । दुध प्रतिलिटर ४८/५० रूपैयाँमा बिक्री हुनेगरेको छ । उनले बाच्छाबाछी बिक्रीबाट पनि राम्रै आम्दानी हुनेगरेको छ । उनले घाँसका लागि पनि थप आधा बिघा जमिन लिजमा लिएकी छिन् । गाई फार्ममा तीन जनाले रोजगारी पनि पाएका छन । गाईहरूलाई दाना खुवाउने, घाँस काट्नेदेखि गोठ सफा गर्ने र दुध दुहुने आदि कामका लागि एक्लै नसकिने भएकाले तीन जना कामदार राखेको उनले बताइन् ।
कमलाले गाईपालन सुरु गर्नेदेखि गाईको संख्या बढाउने सबै विषयमा रमेशकै सल्लाहअनुसार गरिरहेकी छिन् । ‘महिलाले पनि आँट गरेमा राम्रै गर्न सक्दा रहेछन्,’ कमलाका छिमेकी लक्ष्मण कार्कीले भने, ‘एक्लैले गाई पालनदेखि दुध बेच्ने र घाँस काट्ने सबै काम धानिरहेकी छिन् ।’ जोशीले गाईपालन व्यवसाय बढाउनुका साथै व्यवस्थित पार्ने योजना बनाएकी छन् । दुई/चार गाई भैँसी पालेर स्थानीय तह र प्रदेश सरकारबाट अनुदान लिने थुप्रै छन् । तर ग्रामीण भेगमा नमूना रूपमा गाईपालन गरिरहेकी जोशीले भने कतैबाट पनि अनुदान नपाएको बताइन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
- विश्व बजारमा गहुँ र मकैको मूल्य बढ्यो
- सेयर बजारको उकालो यात्रा कायम नैं
- नेपाल घरेलु तथा साना उद्योग महासंघ ३४ औँ वर्षमा
- मैदा उद्योग संघको अध्यक्षमा पुनः दुगड
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया