Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिदोलखाका सहकारीहरू धमाधम वैकल्पिक उपायबाट साधारणसभा गर्दैँ

दोलखाका सहकारीहरू धमाधम वैकल्पिक उपायबाट साधारणसभा गर्दैँ


दोलखा । दोलखामा रहेका सहकारी संस्थाले गत वर्षजस्तै गरी यस वर्ष पनि वैकल्पिक विधि अपनाउँदै साधारणसभा गर्न सुरु गरेका छन् । करिब पाँच सय सहकारी दर्ता रहेको जिल्लामा आर्थिक हिसाबले शक्तिशाली मानिने केही सहकारीहरूले रेडियो र अनलाइनको माध्यमबाट वार्षिक साधारणसभा गर्न सुरु गरेका हुन् ।

जिल्लामा कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै सहकारीले स्थापना गरेका सेवा केन्द्र तथा रेडियोको माध्यमबाट साधारणसभा गर्न सुरु गरेको जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंले जानकारी दिए । उनका अनुसार कोरोना भाइरसका कारण सहकारी तथा वित्तीय संस्थाले भदौ यता गर्ने साधारणसभा तथा नयाँ नेतृत्व चयन गर्ने कार्य असहज भएको छ । गतवर्ष पनि जिल्लाका साना ठूला सबै सहकारीले कोरोना भाइरसका कारण वैकल्पिक उपाय अपनाई साधारणसभा सम्पन्न गरेका थिए । दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा चार सयभन्दा बढी सहकारी सक्रिय रूपमा बचत तथा ऋणको कारोबार गर्दै आएका छन् ।

जिल्लाको सदरमुकाम चरीकोट बजारमा रहेको हाम्रो जनकल्याण सहकारी गत शनिबारदेखि आफ्नो २४औं साधारणसभा वैकल्पिक ढङ्गले सुरु गरेको छ । सहकारीले रेडियोबाट आफ्ना सेयर सदस्यलाई साकोसको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेर सुनाउँदै २४आँै वार्षिक साधारणसभाअन्र्गत एकाइगत तथा क्षेत्रगत साधारणसभा कार्यक्षेत्रका विभिन्न १४ स्थानमा सम्पन्न गरेको संस्थाका प्रमुख अधिकृत दिपक बस्नेतले जानकारी दिए ।

त्यस्तै नेपालकै नमूना र आर्थिक रूपमा ठूलो मानिने बैतेश्वर गाउँपालिका मैनापोखरीमा रहेको जनसचेतन साकोसले कोरोना भाइरस महामारीको अवस्थालाई मध्यनजर गरी सहकारी विभागले जारी गरेको मार्गनिर्देशन तथा संस्थाको साधारणसभा सञ्चालनसम्बन्धी कार्यविधि २०७७ अनुसार २८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको संस्थाका अध्यक्ष हेमन्त चौलागाईंले जानकारी दिए । उनका अनुसार संस्थाले भीमेश्वर नगरपालिकाको मुनाल साकोस, काभ्रे जिल्लाको रसिक बहुउद्देश्यीय सहकारीलाई एकीकरण गरी संस्थाको कार्यक्षेत्र पाँच जिल्लामा विस्तार गरेको छ भने १६ वटा सेवा केन्द्रमा पुगेर साधारणसभा सम्पन्न गरेको छ । संस्थाको कुल पुर्जी एक अर्ब ९३ करोड ६४ लाख पुगेको छ ।

त्यसैगरी भीमेश्वर नगरपालिकाको चरीकोट बजारमा मुख्य कार्यालय रहेको सदरमुकाम चरीकोट बजारको ठूलो मिलिजुली कालिञ्चोक सहकारीले पनि आगामी कात्तिक १ गते जिल्लाका पाँचवटा सामुदायिक रेडियो र अनलाइनको वैकल्पिक माध्यमबाट सहकारीको साधारणसभा गर्ने जनाएको छ ।

सहकारीले कोरोना भाइरसको महामारी अझै समाप्त भई नसकेको भन्दै सहकारीको साधारणसभा कार्यव्यवस्था निर्देशिका २०७६ बमोजिम दुईवटा एकाइ बनाई गर्ने तयारी गरेको मिलिजुली कालिञ्चोक सहकारीका सचिव ठाकुरप्रसाद पाठकले जानकारी दिए । सहकारी एकीकरणपछिका उपलब्धि तथा आयव्ययका प्रतिवेदन रेडियो तथा अनलाइनबाट प्रस्तुत गर्न लागिएको जानकारी दिए । जिल्लाका अन्य साना सहकारीले पनि भीडभाड कम गर्दै साधारणसभा गर्न लागेको जनाएका छन् । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया