Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकिबी फलमा समस्या देखिन थालेपछि कृषक चिन्तित

किबी फलमा समस्या देखिन थालेपछि कृषक चिन्तित


सोलुखुम्बु । जिल्लाको विभिन्न ठाउँमा लगाइएका किबी फलमा समस्या देखिन थालेको सोलुखुम्बुका किबी कृषकहरूले गुनासो गरेका छन् । यस वर्ष किबीलाई आवश्यकभन्दा बढी वर्षात् हुँदा डाँठ कुहिएर फल झर्ने, पातहरूमा ढुसी लाग्ने, थोप्ले, डढुवाजस्ता रोगहरू देखिन थालेको गार्माका जाङबु शेर्पाले बताए । जिल्लामा हेवार्ड प्रजातिका किबी सबैभन्दा बढी खेती गरिएको भए पनि एबोट प्रजातिको किबी भने झर्ने तथा फल पाक्नै नपाई गिलो हुने समस्या देखिएको बागबानी केन्द्र फाप्लुका निमित्त प्रमुख उपेन्द्र ठाकुरले जनाकारी दिए ।

किबीलाई बढी घाम र कम पानी आवश्यक भए पनि यस वर्ष अत्यधिक पानी पर्दा फलहरू सानो हुने, ढुसी लाग्नेजस्ता समस्या देखिन थालेको सोलुदुधकुण्ड नगरपालिका ७ का दोमी शेर्पाले बताए । जिल्लामा किबी खेतीको सम्भावना राम्रो भएकाले यसतर्फ किसानको आर्कषण बढेको छ । किबी खेतीका लागि पानी जम्ने जग्गा उपयुक्त मानिँदैन । आवश्यक भिटामिनको समेत अभाव हुँदा फल झरेको हुनसक्ने पूर्वबागबानी विकास अधिकृत तथा किबीविज्ञ चन्द्रमान श्रेष्ठले बताए । सम्म ठाउँ भए नाली खन्ने, पानी बगेर जाने बनाइदिन, भिटामिनहरू नभए हाल्ने गर्न उनको सुझाव छ ।

जिल्लामा अहिले एक सय १५ हेक्टरभन्दा बढी जमिनमा व्यावसायिक रूपमा किबी खेती भइरहेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । सोलुमा वार्षिक ६५ मेट्रिकटन किबी उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । उत्पादित किबीमध्ये ४० मेट्रिकटन जिल्लाबाहिर निर्यात हुने गरेको जनाइएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया