Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिदोलखामा अलैँचीको मूल्य ५० प्रतिशतले वृद्धि, उत्पादन भने २० प्रतिशतले घट्यो

दोलखामा अलैँचीको मूल्य ५० प्रतिशतले वृद्धि, उत्पादन भने २० प्रतिशतले घट्यो


दोलखा । केही वर्षअघि कालो सुनको रूपमा लिइने अत्यधिक माग र भाउ रहेको अलैँचीको मूल्य बीचमा केही समय ओरोलो लागेको थियो । मूल्य ओरालो लागेको पाँच वर्षपछि फेरि दोलखामा अलैँचीको मूल्य ५० प्रतिशतले वृद्धि भएको छ ।

गतवर्ष दोलखाका किसानले प्रतिकेजी पाँच सय रूपैयाँमा अलैँची बिक्री गरेका थिए । यस वर्ष भने छिमेकी देश भारत र बंगलादेशमा नेपालमा उत्पादन हुने अलैँचीको माग बढेकाले अलैँचीको मूल्य ५० प्रतिशत वृद्धि भएर प्रतिकेजी एक हजार पुगेको छ । गत वर्ष न्यून मूल्यमा अलैँची बिक्री गरेका जिल्लाका किसान यस वर्ष भने मूल्यवृद्धि भएपछि थप राहत मिलेको बताउँछन् । अलैँची खेती र उत्पादन बढी हुने जिल्लाको बैतेश्वर गाउँपालिकाको मिर्गे जैनालुको सिङ्गो गाउँका किसानले वर्षौँदेखि अलैँची खेती गर्दै आएका छन् ।

जैनालु गाउँका प्रत्येक किसानले वर्षमा अलैँचीबाटै ४० हजारदेखि चार लाख रूपैयाँसम्म कमाउने गर्छन् । गाउँमा विगत सात वर्षदेखि अलैँची खेती गर्ने किसान शंकर तामाङले यस वर्ष दुई सय केजी अलैँची निकालेर बेच्ने तयारी गरिरहेका छन् । गत वर्ष कम मूल्यमा दुई सय ५० केजी अलैँची बिक्री गरेका उनले यस वर्ष अलैँचीको बगनमा रोग लागेका कारण उत्पादन घटेको बताए । पाँच वर्षपछि भाउ बढे पनि यस वर्ष जिल्लामा अलैँचीको उत्पादन घटेको किसानहरू बताउँछन् । तामाङले अघिल्लो वर्ष एक लाख २५ हजार रूपैयाँको अलैँची बिक्री गरेका थिए । अहिले अलैँचीको उत्पादन घटे पनि मूल्यवृद्धि भएकाले दुई लाख रूपैयाँको अलैँची बिक्री गर्ने उनले बताए ।

जैनालु गाउँका किसानलाई यो समय अलैँची काट्न र अलैँची सुकाउन भ्याइनभ्याइ छ । गाउँमा रहेकोे दुईटा अलैँची भट्टीमा दैनिक एक सय केजी अलैँची लिएर किसान सुकाउन पुग्ने गरेको स्थानीय अलैँची किसान दिनेश तामाङले जानकारी दिए । तामाङले गत वर्ष तीन सय केजी अलैँची उत्पादन गरेका थिए । यस वर्ष भने अलैँचीको बिरुवामा डरुवा रोग लागेर धेरै अलैँचीको बोट सुकेको हुँदा २० प्रतिशत उत्पादन घटेको उनले बताए । उनले यस वर्ष तीन लाख रूपैयाँबराबरको अलैँची बिक्री गर्ने बताए ।

गत वर्ष अलैँची बिक्री नसकेका मिर्गेका केही किसानलाई भने यसवर्ष अलैँची बिक्री गर्न मूल्य र माग बढेकाले सहज भएको किसान श्याम तामाङले बताए । अघिल्लो वर्ष बिक्री नभएको २० केजी अलैँची र यस वर्ष उत्पादन भएको ७० केजी अलैँची बिक्री गरी करिब एक लाख रूपैयाँ आम्दानी गर्ने दाउमा रहेका तामाङ यो समय अलैँची सुकाउन व्यस्त देखिन्छन् ।

दोलखाको मिर्गेबाट मात्रै ५० लाखबराबरको अलैँची उत्पादन हुँदै आएको छ । मिर्गेको जैनालु, कुलाफाट, माजगाउँ, मजुवा, यार्सा, पाइले, चिलाउने खर्कलगायतका बस्तीका सयौँ किसानले अलैँची खेती गर्दै आएको बैतेश्वर गाउँपालिका मिर्गेका अलैँची व्यवसायी राजु तामाङले जानकारी दिए । एक महिनाको अवधिमा मिर्गेबाट दुई हजार पाँच सय केजी अलैँची झापा जिल्लामा ढुवानी भएको व्यवसायी तामाङले बताए । दोलखाबाट वार्षिक २० करोड रूपैयाँबराबरको अलैँची भारत, बंगलादेशलगायतका छिमेकी मुलुकमा खपत हुँदै आएको छ ।

रोगको पहिचान नहुँदा घट्दै अलैँची खेती : अलैँचीमा लाग्ने रोगको पहिचान हुन नसक्दा समग्र जिल्लामा अलैँचीको उत्पादन २० प्रतिशतले घटेको पाइएको छ । अलैँची भाउ र उत्पादन घट्दै गएको भन्दै कतिपय अलैँची किनासले अलैँची बगान मासेर पुरानै खेती गर्न थालेका छन् ।

अलैँचीमा विभिन्न रोग लागेर मर्दा र उत्पादन घट्दा समेत सम्बन्धित निकाय तथा कृषिज्ञान केन्द्र रामेछापले रोग रोकथाम गर्न कुनै चासो नदिएको किसानहरूको गुनासो रहेको छ । पाँच वर्षअघि लगाएको अलैँचीका बिरुवा धमाधम उत्पादन दिने बेलामा सुकेर मर्न थालेको किसान गोरी तामाङले बताइन् । सम्बन्धित निकायलाई जानकारी गराउँदासमेत रोग नियन्त्रण गर्न कुनै प्राविधिकसमेत गाउँमा नआएको दर्जनौँ किसानको गुनासो रहेको छ ।

किसानले लगाएको अलैँचीको बोटमा जेठ सुरु भएपछि पात सुक्ने, बोट मर्ने, पहेँलो हुनेलगायतको समस्या देखापर्ने गरेकाले जिल्लामा अलैँचीको उत्पादन घट्दै गएको हो । कतिपय किसान डरुवा रोगले पनि अलैँची मर्ने गरेको बताउछन् । समयमै सम्बन्धित निकायले अलैँचीमा लाग्ने रोगको पहिचान गरेर रोग रोकथाम नलागे दोलखामा अलैँची खेती नै मासिँदै जाने स्थानीय जानकारहरू बताउँछन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया