Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिअनुदान नपाएर ठगिए उखु किसान

अनुदान नपाएर ठगिए उखु किसान


धन बहादुर जप्रेल
कञ्चनपुर, माघ १९
उखु किसानहरुलाई सरकारले दिने भनिएको अनुदान रकम नपाउँदा कञ्चनपुरका उखु किसान ठगिएका छन् । किसानले उखु बेचेको एक वर्ष र आर्थिक वर्ष सकिएको पाँच महिनापछि अनुदान रकम पाए तर पनि ७० प्रतिशत मात्रै पाए । अझै केही किसानले सरकारी अनुदानको रकम अहिलेसम्म नपाएको गुनासो गरेका छन् । योसँगै सरकारले अघिल्लो आर्थिक वर्ष २०७५/०७६ देखि उखु किसानलाई सिधै सरकारी संयन्त्रमार्फत अनुदान रकम दिने निर्णय कञ्चनपुरका किसानका लागि अभिशाप भयो ।

यसभन्दा पहिलाका वर्षमा किसानहरुले सिधै उखु बिक्री गर्ने उद्योगबाट अनुदान रकम पनि पाउँदै आएका थिए तर गत वर्षदेखि सरकारी अनुदान लिन निकै सकस भयो । तर त्यसका लागि उखु किसानले सीडीओ कार्यालयदेखि प्रदेश सरकारसम्म अनुदान रकमका लागि डेलिगेसन दिनुप-यो ।

गत वर्ष कञ्चनपुरमा रहेका दुवै चिनी उद्योगमा कञ्चनपुरका पाँच हजार पाँच सय ९४ किसानले उखु बेचेका थिए । जसमध्ये पाँच हजार दुई सय ९७ जना किसानले ७० प्रतिशत मात्रै अनुदान पाए भने दुई सय ९६ किसानले एक प्रतिशत पनि अनुदान रकम पाउन सकेनन् ।

महाकाली सुगर उद्योगमा गत वर्ष उखु बिक्री गरेका दुई सय ९६ किसानमध्येका बेलौरी नगरपालिका ५ का उखु किसान नर्सिङ विष्टले आफूले अनुदान रकम नपाएको बताए । ‘मैले अहिलेसम्म सरकारले दिने भनेको अनुदान रकम पाएको छैन’, उनले भने, ‘सरकारले अहिलेसम्म अनुदान रकम दिएको छैन । सरकारले दिने हो कि कसले दिने हो सरकारले दिने भए त अहिलेसम्म सबै दिनुपर्ने हो ।’ उनले आफूले सुरुदेखि नै अनुदान नपाएको बताए । उनले यस वर्ष करिब आठ सय क्विन्टल उखु बेचेको जानकारी दिए । अर्का किसान प्रकास अर्यालले अनुदान रकम नपाएको बताए । उनले अघिल्ला वर्षहरुमा उद्योगबाट रकम पाए पनि यस वर्षदेखि सरकारले आफैँ अनुदान रकम दिने भने पनि किसानले सहज रुपमा नपाएको बताए ।

बेलौरी नगरपालिका १० शिवनगरको महाकाली सुगर इन्डष्ट्रिज प्रालिमा तीन हजार एक सय ७४ र पुनर्वास नगरपालिका २ आईबीआरडीको भागेश्वर सुगर एण्ड केमिकल प्रालिमा दुई हजार चार सय १९ किसानले उखु बिक्री गरेका थिए । उद्योगलाई भ्याट छुटबापत सरकारले प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा किसानलाई अनुदान निर्धारण गरेको थियो । कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरले ८ मंसिर ०७६ देखि अनुदानको रकम वितरण गरेको थियो । कञ्चनपुरका पूरै उखु किसानलाई अनुदान वितरणका लागि आएको रकम अपुग भएको प्रमुख कोष नियन्त्रक मणिभद्र न्यौपानेले बताए ।

कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार अनुदान रकम वितरणका लागि १६ करोड, ३७ लाख र ११ हजार रुपैयाँ आएको थियो । जसमध्ये ५ हजार २ सय ९७ किसानले मात्रै अनुदान रकम पाएका छन् । त्यो पनि ७० प्रतिशत मात्रै । प्रतिक्विन्टल ४५ रुपैयाँ ६९ .पैसाका दरले कोलेनिकाले वितरण गरेको छ । कोलेनिका कञ्चनपुरका प्रमुख कोष नियन्त्रक न्यौपालेले दुवै उद्योगबाट ५ हजार ५ सय ९३ किसानको वितरण आएको बताए । उनका अनुसार भागेश्वर उद्योगमा उखु बिक्री गरेका २ हजार ३ सय २५ किसानको कञ्चन विकास बैंकमा १ जना र माछापुच्छे« बैंकमा २ हजार ३ सय २४ किसानको ७० प्रतिशत अनुदान रकम दाखिला गरिएको छ भने महाकाली सुगर मिलमा उखु बेचेका २ हजार ९ सय ७२ किसानको बैंक अफ काठमाडौँमा ७० प्रतिशत रकम भुक्तानी गरिएको छ ।

कुल ५ हजार २ सय ९७ किसानलाई १६ करोड ३५ लाख र ४६ हजार रकम भुक्तानी गरिएको कोलेनिकाले जनाएको छ । ‘दुवै उद्योगले हामीलाई उपलब्ध गराएको विवरणअनुसार प्रक्रिया पुगेका किसानलाई ७० प्रतिशतका दरले रकम भुक्तानी गरेका छौँ’, प्रमुख न्यौपानेले भने, ‘कागजात नपुगेका किसानलाई प्रमाण पु-याउन सम्बन्धित पक्षलाई भनेका छौँ ।’ उनका अनुसार २ सय ९६ किसानले उद्योगले प्रमाण नै पेश गरेका छैनन् ।

उनका अनुसार २३ करोड चाहिने भए पनि १६ करोड ३७ लाख ११ हजार मात्रै रकम आएकाले थप ७ करोड ४४ लाख २१ हजार रुपैयाँ माग गरिएको बताए । ‘हामीले वितरण गर्न बाँकी ३० प्रतिशत र अनुदान रकम नपाएका अन्य किसानका लागि उक्त रकम माग गरेका छौँ’, प्रमुख कोष नियन्त्रक न्यौपानले भने, ‘माथिबाट रकम आएपछि छिट्टै वितरण गर्छौँ ।’

उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतन कुमार राईले विगतका वर्षमा सरकारले किसानलाई उद्योगमार्फत अनुदान उपलब्ध गराउँदै आएको बताए । ‘गत वर्षदेखि सरकारले उद्योगभन्दा सिधै किसानलाई अनुदान दिने घोषणा गरेको थियो’, उनले भने, ‘तर अहिलेसम्म केही किसानले पाइएको छैन ।’ अनुदान रकम नपाएपछि किसान मारमा पर्नुका साथै निराश भएको उनले बताए । यस वर्ष पनि किसानले सहजै उखु बिक्रीवितरण गर्न पाएका छैनन् । उद्योगबाट पुर्जी उपलब्ध नहुने भए पनि किसानलाई उखु तौलिन समस्या नभएको बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया