Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिडडुवाली किसानहरू तरकारीखेतीबाटै कमाउँछन्, वार्षिक ५ करोड

डडुवाली किसानहरू तरकारीखेतीबाटै कमाउँछन्, वार्षिक ५ करोड


चौतारा । धेरै धन कमाउन मन लाग्यो, के गर्ने होला ? अधिकांशको जवाफ हुनसक्छ–विदेश जाने । तर टन्न पैसा कमाउन विदेशमा जानैपर्छ भन्ने छैन । दिनरात आफ्नै गाउँघरको माटोमा पसिना चुहाउने अनि दश नङ्ग्रा खियाउने हो भने सुन यहीँ फलाउन सकिन्छ । यसको ज्वलन्त उदाहरण हेर्न जाँदा हुन्छ–चौतारा साँगाचोकगढी नगरपालिका १४ नं वडामा । जहाँ यतिबेला किसानका खेतबारीभरि लटरम्म गोलभेँडा पाकेका छन् । किसानहरूलाई गोलभेँडा टिप्न र बेच्न भ्याइनभ्याइ छ । कोही आफ्ना खेतबारीमा फलेका गोलभेँडा टिपिरहेका छन् । कोही गाडीमा लोड गरिरहेका छन् अनि कोहीचाहिँ हरहिसाबमा व्यस्त देखिन्छन् ।

हरेक दिन दिउँसो ४ बजेपछि चौतारा साँगाचोकगढी नगरपालिकाको १४ नम्बर वडाको डडुवा, रानीटार र झुलेटारबाट साँगाचोक हुँदै गोलभेँडा बोकेर दैनिक पाँचदेखि ११ वटासम्म गाडी काठमाडौँ जान्छन् । कम्तीमा दैनिक सात सय क्रेट डडुवाका किसानले फलाएका गोलभेँडा काठमाडौँदेखि चितवन हुँदै झापासम्म पुग्ने गरेको छ । गाडी लिएर किसानको गोलभेँडा लिन व्यापारीहरू गाउँमा नै आउँछन् । चौतारा साँगाचोकगढी नगरपालिका १४ नम्बर वडाका डडुवा, रानीटार र झुलेटारका तीन सय घरधुरीले गोलभेँडा लगाएका छन् । डडुवाकी मिना नेपालको बारीमा पाँच जना खेताला पाकेका गोलभेँडा टिप्न व्यस्त थिए भने एक जनाले बाटोसम्म डोकामा बोकेर गोलभेँडा ओसारिरहेका छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्षअघिसम्म विदेश जाने चक्करमा थिएँ’, गोलभेँडा टिप्दै डडुवाकी मिना नेपालले भनिन् । दुई/चार पैसाका निम्ति निकै कष्ट भोगेकी डडुवाकी मिना नेपाललाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । गोलभेँडा बेचेर यो वर्ष सात लाख घर भित्रिने उनको अनुमान छ । अहिले उनले चार रोपनी बारीमा गोलभेँडा रोपेकी छिन् । उनी भन्छिन्, ‘श्रीमान् शिक्षक, बालबच्चा विद्यालय जान्छन्, सासु ससुरा काम गर्न सक्नुहुन्न । रेखदेख मेरै हो, बिदाको समयमा सहयोग गर्नुहुन्छ ।’ खेताला, बीउबिजन, औषधि गर्दा डेढ लाखजति लगानी परेको उनी बताउँछिन् ।

यहाँका किसानको गोलभेँडा फलाउने तरिका अलि फरक छ । किसानहरूले मकै दोहो-याउने बेला गोलभेँडाका बिरुवा रोप्ने गर्छन् । पात लाछ्ने, मकै पाक्ने बेला बोटको टुप्पो काट्ने र मकै भाँच्ने गर्छन् । बाँकी ढोड गालेभेँडालाई थाक्रो हुन्छ । यसले गोलभेँडा खेतीका लागि टनेल, थाक्रो हाल्ने लगानी गर्नु पर्दैन । यसो गर्दा एकैपटक मकै र गोलभेँडाको उत्पादन हुनेगरेको छ । विनासिँचाइ यहाँको माटोमा बग्रल्ती गोलभेँडा फल्ने गरेको छ । यो क्षेत्र समुद्री सतहबाट १४ सय मिटरको उचाइमा छ । दक्षिण फर्केको जमिन, रातो र कालो मिसिएको माटो तरकारीका लागि उर्वर मानिएको छ । डडुवा, रानीटार र झुलिटारका तीन सय घरधुरी हरेक परिवारले मकैभित्र रोपेका गोलभेँडाले अहिले आम्दानी गरिरहेका छन् । सामान्य रूपमा गोलभेँडा रोपेका परिवारले पनि यो समय कम्तीमा एक लाख आम्दानी गरेका छन् । ठूलो क्षेत्रफलमा गोलभेँडा लगाउँदै आएका उद्धव नेपालको परिवारले २० लाखको गोलभेँडा भदौयता मात्र बेचिसकेको छ । अहिले गोलभेँडा र काउली मात्र भए पनि सिजनअनुसार विभिन्न प्रकारका नगदे र कोसेबाली उत्पादन गर्दै आएका डडुवाका स्थानीय किसानले तरकारी बेचेर मात्रै वार्षिक पाँच करोड रुपैयाँ गाउँ भित्र्याउने गरेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका १४ नम्बर वडाका अध्यक्ष शेरबहादुर श्रेष्ठका अनुसार यो वर्ष कृषि पकेट क्षेत्रको लागि साढे दुई लाख नगरपालिकाबाट अनुदान आयो भने साढे दुई लाख वडाले बजेट विनियोजन ग¥यो । वडाबाट किसानले चार हजार प्याकेटको बीउ अनुदान पाए । चौतारा साँगाचोकगढी नगरपालिकाले १४ नम्बर वडाको यो क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषण गरेपछि व्यवसाय फस्टाउँदै गएको छ । तरकारी बिक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाइ खर्च त मज्जाले टरेकै छ । खर्च कटाएर बचेको पैसा बचत गर्न थालेका छन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया