Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषितरकारी खेतीबाट पहिलो सिजनमा १५ लाख आम्दानी

तरकारी खेतीबाट पहिलो सिजनमा १५ लाख आम्दानी


काठमाडौं । बूढानीलकण्ठ माध्यमिक विद्यालयले सुरु गरेको तरकारी खेतीबाट पहिलो सिजनमा १५ लाख आम्दानी गर्न सफल भएको छ । विद्यालयले करेसाबारीमा लगाएको तरकारीबाट उक्त आम्दानी भएको हो । विद्यालयवरिपरि साग, गोलभेडा, स्याउ, आरु, अलैँची लगाइएको छ । विद्यालयले निजी विद्यालयमा आकर्षण बढिरहेका बेला सीपसहितको शिक्षाका लागि कृषि फर्म सञ्चालन गरेको हो । यस विद्यालयमा आईटी, विज्ञान, कृषिलगायतका विषयमा प्रयोगात्मकसहित अध्यापन हुँदै आएको छ । कृषिमा अध्ययन गर्दै गरेका विद्यार्थीहरूले उक्त कृषि फार्ममा काम गर्दै आएका छन् । उक्त विद्यालयको फार्ममा विभिन्न मौसमका बिरुवाहरू लगाउन केही ‘ट्याङ’ खनेर राखिएको छ ।

पाँचदेखि १२ कक्षा सञ्चालन गरेको विद्यालयमा एक हजार एक सय ३५ विद्यार्थी छन् । उनीहरू पनि विद्यालयको करेसाबारीमा काम गर्छन् । सरकारले ल्याएको पढ्दै कमाउँदै कार्यक्रम लागू हुने चरणमा रहेका बेला विद्यालयले गरेको कामको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समेत प्रशंसा गरेका छन् । विद्यार्थी र शिक्षकका लागि होस्टेलको व्यवस्था भएको विद्यालयले ‘सिक्दै, सिकाउँदै, रमाउँदै कमाउँदै’ भन्ने नाराका साथ विद्यार्थीलाई जीवन उपयोगी शिक्षासहित अध्ययन गराइरहेको छ । देशकै उत्कृष्ट नतिजा ल्याउने दाबी गरेको विद्यालयले डा. महाविर पुनको सहयोगमा विज्ञान प्रयोगशालामार्फत रोवट बनाउने काममा अनुसन्धान गरिरहेको जनाएको छ ।

शिक्षामन्त्री पौडेलले बिहीबार बिहान सोही विद्यालयको निरीक्षण समेत गरेका थिए । विद्यालयले निर्वाहमुखी कृषि प्रणालीभन्दा वैज्ञानिक कृषि प्रणालीमा आधारित रहेर काम गर्नुपर्ने मन्त्रीले सुझाव दिए । ‘विद्यालयको शैक्षिक गतिविधि राम्रो गरेको छ,’ उनले भने, ‘उत्पादनलाई बढाएर बजारीकरण हुने गरी काम गर्नुहोस् ।’ मन्त्री पौडेलले विद्यार्थीको पढाइको विषयमा समेत जिज्ञासा राखेका थिए ।

‘बूढानीलकण्ठका विद्यार्थीहरूले जसरी अध्ययनसँगै उत्पादनमा जोड दिनुभएको छ, त्यसरी अन्य विद्यालयले पनि यहाँबाट केही सिक्न जरुरी छ’, उनले भने । बजारमा जमिनको अभाव भएको बताउँदै उनले भएको जमिनलाई व्यवस्थित गरी सिक्दै कमाउँदै कार्यक्रमलाई उदाहरणको रूपमा देखाउन पनि आग्रह गरे । विद्यालयका प्रध्यानध्यापक होमनाथ आचार्यले विद्यालयले उत्पादन गरेको तरकारी बजारीकरण गरेर आम्दानी गर्न थालेको बताए । ‘११ सय ३५ विद्यार्थीलाई तरकारी बाहिरबाट ल्याउन पर्दैन,’ उनले भने, ‘तरकारी खेतीबाट पहिलो सिजनमा १५ लाख आम्दानी गर्न सफल भयौँ ।’

उनका अनुसार विद्यालयले लोकल जातको बिरुवा उत्पादन गरी अध्ययन अनुसन्धानका लागि आउने अनुसन्धानकर्ता फिल्डमा आएर अवलोकन गर्न पाउनेछन् । ‘विद्यार्थीलाई बिरुवा रोप्ने र उब्जनी कसरी हुन्छ भन्ने सिकाउँछौँ अनि बिरुवा दिएर घर पठाउँछौं’, आचार्यले भने । कक्षा ५ देखि १२ कक्षासम्म पढाइ हुने विद्यालयलमा विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सीप सिकाउने गर्दछ । निरीक्षणमा पुगेका शिक्षामन्त्री पौडेललाई विद्यालयको विज्ञान ल्याब बनाइदिन विद्यार्थीले आग्रह गरेका थिए । विद्यालयमा उत्पादन भएको साग तथा टमाटर शिक्षामन्त्रीलाई विद्यार्थीले ‘कोसेली’ समेत दिएका थिए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया