Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकिबी प्रशोधन तालिम पाएपछि कृषक उत्साहित

किबी प्रशोधन तालिम पाएपछि कृषक उत्साहित


महेन्द्र शाही
सोलुखुम्बु, माघ २२
किबी खेतीमा व्यावसायिकता खोज्दै आएका सोलुखुम्बु, खोटाङ र ओखलढुंगाका कृषकहरूलाई प्रशोधनसम्बन्धी तीनदिने तालिम प्रदान गरिएको छ । बागबानी केन्द्र फाप्लुको आयोजनामा सञ्चालित तालिममा तीन जिल्ला ३८ जना कृषक तथा प्राविधिकको सहभागिता रहेको थियो । किबी खेती गर्दै आएका कृषकले प्रशोधन तालिम पाएपछि खुशी व्यक्त गरेका छन् । उनीहरूले बजारमा बिक्री नभएका तथा बिक्री नहुने साना आकारका किबीबाट होलक्याण्डी, माडा, जाम, स्क्वाइसलगायतका परिकार बनाउन सिकेको जनाएका छन् । खोटाङको केपिलासगढी गाउँपालिका १ फेदीका कृषक बासुदेव राई भन्छन्, ‘किबीफलको उत्पादन सानाठूला भएकाले हामी ग्रेडिङ गरेर ठूला फल बजारमा पठाउछौँ तर साना खेर जाने अवस्था थियो ।

प्रशोधन तालिमले अर्को सम्भावनाको ढोका खोलिदिएको छ । म निकै खुशी छु ।’ सीपलाई व्यावहारिक बनाउने बासुदेवले बताए । यो तालिमपछि खेर गइरहेको उत्पादनबाट पनि आम्दानी लिन सकिने उनले सुनाए । सोलुखुम्बुका किबी कृषक ओङदावा शेर्पाले प्रशोधनपछिको जुसको स्वाद लिँदै भने, ‘जुस पिउँदा खास लाग्यो । जुन स्वास्थ्यवद्र्धक पनि छ । तालिमले प्रशोधन गर्ने सीप पाएको छु । प्रशोधनपछिको किबीका परिकारहरूले स्थानीयरूपमै बजार पाउँछ भन्ने आशामा छु ।’ यता ओखलढुंगा खिजिदेम्बा गाउँपालिकाका कृषक डबल बस्नेतले तालिमले किबीसँगै प्रशोधनबाट बनाउन सकिने अन्य परिकार पनि बजारसम्म लैजान सकिने वातावरण तयार भएको प्रतिक्रिया दिए । उनले भने, ‘प्रशोधन तालिम कृषकको लागि फलदायी हुनेछ ।’

किबीफल प्रशोधन तालिम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत खाद्य प्रविधि विकास तथा तालिम महाशाखाकी वरिष्ठ खाद्य प्रविधि अनुसन्धान अधिकृतहरूको उपस्थितिमा सञ्चालन गरिएको हो । खाद्य प्रविधि विज्ञ हुमा बोखिमले विभिन्न साइजका किबी उत्पादन हुनेहुँदा बजार पठाएर बाँकी रहेका किबी सदुपयोग गर्ने दरिलो विधि नै प्रशोधन भएको बताइन् । उनले भनिन्, ‘प्रशोधनबाट विभिन्न परिकार बनाएर स्थानीयसँग जोड्न सके स्वास्थ्यवर्द्धक खानेकुरा खाने वातावरण तयार हुनेछ । त्यसतर्फ पनि कृषकहरू लाग्न आवश्यक छ ।

किबी खेती प्रविधिलाई बढवा दिदै आएको बागबानी केन्द्रले उत्पादित किबीको बजारीकरणमा समस्या देखिएपछि प्रशोधन तालिमको आयोजना गरेको जनाएको छ । किबी खेती गर्ने कृषकको संख्या बाक्लिनु र क्षेत्र विस्तारसँगै थपिएको बजार व्यवस्थापनको चुनौतीलाई सहयोग गर्न प्रशोधन तालिम आयोजना गरिएको वरिष्ठ बागबानी विकास अधिकृत चन्द्रमान श्रेष्ठ बताए । उनले भने, ‘बजारसँग जोडिन नसक्ने या साना किबीफललाई प्रशोधन गरेर पनि आम्दानी लिन सकिन्छ भन्ने ज्ञान र सीप प्रदान गर्न तालिम दिएका हौ । यस तालिमबाट कृषकहरू उत्साहित छन्’ उनले भने । ओखलढुंगा र खोटाङका कृषकहरू किबी खेतीमा आकर्षित भएका छन् । यता, सोलुखुम्बुमा यही वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत किबी जोन कार्यक्रम समेत सञ्चालन भएको छ । उक्त कार्यक्रमले सोलुदुधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका र नेचासल्यान गाउँपालिकालाई कार्यक्षेत्र बनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया