Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिबजारमा बढ्यो सुन्तलाको मूल्य

बजारमा बढ्यो सुन्तलाको मूल्य


काठमाडौं । सुन्तलाको सिजन सकिन लागेसँगै मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महिनाअघि ठूला साइजको सुन्तालाको मूल्य प्रतिकेजी न्यूनतम एक सय २० देखि एक सय ४० रूपैयाँसम्म रहेको थियो । अहिले भने उक्त सुन्तलाको मूल्य प्रतिकेजी एक सय ५० देखि एक सय ७० रूपैयाँसम्म रहेको छ ।

गत वर्षको तुलनामा यो वर्ष सुन्तला आयातमा कम भएको समितिका अध्यक्ष कृष्ण प्रसाद धितालले बताए । गतवर्ष दुई हजार १३ मेट्रिकटनको हाराहारीमा सुन्तला कालीमाटी बजारमा भित्रिएको थियो भने यस वर्ष एक हजार छ सय ९० मेट्रिकटन सुन्तला मात्रै भित्रिएको धितालले बताए । उनका अनुसार यो वर्ष भारतबाट मात्रै कालीमाटीमा दुई सय मेट्रिकटनबराबरको सुन्तला आयात भएको थियो । यद्यपि भारतबाट आउने सुन्तला र नेपालमा पाइने सुन्तलाको स्वाद फरक हुने भएकाले उपभोक्ताले स्वदेशी सुन्ताला नै किन्ने गरेका छन् ।

भारतबाट आउने सुन्तलाको मूल्य भने नेपालमा उत्पादन भएको सुन्तलाको भन्दा कम रहेको छ । नेपालमा सुन्तला कात्तिकको अन्तिमदेखि फाल्गुनसम्म पाइने गर्दछ । तर भारतबाट आउने सुन्तला भने बाह्रै महिना नै बजारमा पाइने हुँदा नेपालको सुन्तला सकिएपछि भारतको सुन्तलाको मूल्य वृद्धि हुने अध्यक्ष धितालले जानकारी दिए । नेपालमा पाइने सुन्तला सिजनमा मात्र पाइने र स्वादिष्ट हुने भएकाले सिजनमा भने यहाँको सुन्तला नै बढी खरिद हुने उनको भनाइ छ । उनले भने, ‘नेपाली सुन्तालालाई स्टोरेज गरेर राख्ने सिस्टम भयो भने भारतबाट आयात गर्नु पर्दैन । तर यहाँ स्टोर गरेर राख्ने प्रविधि छैन । उत्पादन पनि अहिले त्यति उत्साहजनक छैन ।’

नेपालमा पनि भन्डारणको राम्रो व्यवस्था हुने हो भने नेपाली सुन्तला १२ महिना नै सजिलै पाउन सकिने धितालले बताए । यस्तै गतवर्षहरूको तुलनामा सुन्तला खेतीमा पनि कमी आएको छ । किसानले लगानी उठाउन नसकेकै कारण पनि सुन्तला खेतीमा चासो दिन छाडेको धितालको भनाइ छ । हाल कालीमाटी बजारमा कास्की, तनहुँ, स्याङ्जा, काभ्रपलाञ्चोक, चितवन, धादिङ, रामेछापलगायतका जिल्लाबाट सुन्तला आउने गरेको छ ।

स्वदेशी सुन्तला ठूला, मध्यम र साना साइज गरी तीन ग्रेडका बजारमा पाइन्छन् । ठूला साइजका सुन्तलाको मूल्य सबैभन्दा धेरै पर्छ । यो सुन्तला अहिले बजारमा प्रतिकेजी दुई सय रूपैयाँ पर्नेगरेको कालीमाटी बजारका खुद्रा व्यापारी सर्वेन्द्र महतले बताए । उनका अनुसार मध्यम साइजका सुन्तलाको मूल्य अहिले प्रतिकेजी एक सय ५० रूपैयाँ र साना साइजको सुन्तलाको मूल्य प्रतिकेजी एक सय रूपैयाँ रहेको छ । एक महिनाअघि सिजनका बेला उनले ठूलो साइजका सुन्तला प्रतिकेजी एक सय २० रूपैयाँमा बेच्ने गरेको बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया