Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिनिलगाईले दोधाराका किसानलाई सतायो

निलगाईले दोधाराका किसानलाई सतायो


धनबहादुर जप्रेल
कञ्चनपुर, माघ २४
कञ्चनपुरको महाकाली नदीपारिको क्षेत्र महाकाली नगरपालिकाको दोधाराका किसानलाई जंगली गाई ‘निलगाई’ले सताएको छ । निलगाईले नगरक्षेत्रमा संरक्षित जनावर निलगाईको आतंक बढेको स्थानीयहरूले बताएका छन् ।निलगाईको आतंकले स्थानीय किसान हैरान भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा भित्रिएको जैगली निलगाईले किसानले लगाएको खेतबाली नष्ट गर्दै आएको बताएका छन् ।

निलगाईको आतंक बढेपछि माहाकाली नगरपालिका वडा नं. ७ संसारी टोलका बस्तीहरूमा गहुँखेती नष्ट गरेको स्थानीयहरूले बताए । बस्ती नजिक रहेका संसारी मध्यवर्ती सामुदायिक वनमा बासस्थान बनाएका दर्जनौँ निलगाई रातिको समयमा खेचमा पसेर खेतिबाली सखाप पार्दै आएको स्थानीय गणेश सुनारले बताए । ‘रातिको समयमा २०/२२ को संख्यामा खेतबारीमा भित्रिने निलगाईले महाकाली नदिको किनारका बस्तीका हामीहरूको गुहँ खेति नष्ट गर्दे आएको छ’ किसान गणेश सुनारले भने ।

संसारीटोलका स्थानीय किसानहरू निलगाई धपाउन रातभर जागराम बस्दै आएको अर्का स्थानीय किसान ध्यामबहादुर बरालले बताए । माहाकाली नगरपालिकाको वडा नं. ७ संसारी टोल, ढकनाटोल वडा नं. ३ बडुवाल टोललगायत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतीय वनसँग जोडिएका महाकाली नगरपालिकाका बस्तीहरूमा यो समस्या विकराल देखिएको छ ।

इन्द्रा मध्यवर्ती सामुदायिक वनमा समेत रातिको समयमा निलगाई बस्दै आएको इन्द्रा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष करन सुनारले बताए । ‘सामुदायिक वनमा निलगाईको दिशा देखिँदै आएको छ’ इन्द्रा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष सुनारले भने । उक्त क्षेत्रहरूमा निलगाईले क्षति नगरोस् भनेर पहिले रातभरि टर्चबत्ती बालिन्थ्यो । तर, टर्च लाइटको उपाय पनि क्रमशः काम नलाग्ने भएपछि किसान रातभर खेतमै रात बिताउन थालेको स्थानीयहरूको भनाइ रहेको छ ।

निलगाईले संसारी टोलका गणेश सुनार, च्याम बराल, बेलबहादुर राना, रणबहादुर तिरुवालगायत दर्जनौँ स्थानीयहरूको गहुँ खेती नष्ट गर्दै आएको उनीहरूले बताए । निलगाई आतंक बढ्दा सम्बन्धित निकाय भने मौन बसेको स्थानीय किसानले आरोप लगाएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतीय वनसँग जोडिएका बस्तीहरूमा बाँस र तारको घेरा लगाएका खेती जोगाउन प्रयास भइरहेको छ भने, मध्यरातमा हुलका हुल निलगाई तथा जंगली जनावरले बाली नष्ट पार्दै आएको छ ।

महाकाली नगरपालिका क्षेत्रमा छाडा चौपायासँगै वन्यजन्तुबाट हैरान खेप्दै आएका किसानहरूले सरकारले दीर्घकालीन समस्या समाधानको माग राख्दै आएका छन् । जंगली जनावरले वर्षभरि खाने अन्नबाली सखाप पार्दै आएको भन्दै दोधारा क्षेत्रका सिकानहरूले मध्यवर्ती व्यवस्थापन समितिलाई गुहार्दै आएका छन् । ‘रातिको समयमा आउने निलगाईको बथानलाई धपाउन रातभरि साइरन बजाउने, थाली बजाउने, पटका पड्काउने तथा आगोको धुनी बाल्दै अनेकौँ उपाय अपनाउने गरेका छौँ । तर, पनि हामीबाट नियन्त्रण हुने देखिएन ।’ स्थानीय भन्छन् वर्षभरि खतरा बढेको भन्दै किसानहरू चिन्तित बनेका छन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया