Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषि‘जमिनको व्यवस्थापन नगरी कृषिमा फड्को मार्न सकिन्न’

‘जमिनको व्यवस्थापन नगरी कृषिमा फड्को मार्न सकिन्न’


काठमाडौं, माघ २९
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कृषि उत्पादन वृद्धि गर्न र व्यावसायिकीकरण गर्नका लागि जमिनको वैज्ञानिकरूपमा व्यवस्थापन गर्नैपर्ने बताएकी छिन् । उनले जमिनको व्यवस्थित सुधार नगरी कृषिले फड्को मार्न नसक्ने जिकिर गर्दै जमिनको एकीकरण गरेर ठूलो स्केलमा उत्पादन गर्नुपर्ने बताइन् ।

राष्ट्रिय सहकारी महासंघको आयोजनमा सहकारीमार्फत उद्यमशीलता विकास राष्ट्रिय कार्यशाला गोष्ठीको सोमबार उद्घाटन गर्दै उनले घरेलु तथा साना उद्योगको विकास र विस्तारमा सहकारी लाग्नुपर्ने बताइन् । यसअघि घरेलु उद्योगलाई हेला गरेको भन्दै उनले अब त्यसलाई नै उजागर गरेर धेरै मानिसलाई उद्यमी बनाउने र रोजगारी सिर्जना गर्ने कार्यलाई बढवा दिनुपर्ने बताइन् ।

सहकारी ऐन २०७४ संशोधनका लागि तयारी भएको भए पनि बचत तथा ऋणको कारोबार गर्ने संस्थाका लागि छुट्टै कानुन आवश्यकता महसुस गरिएपछि केही समय रोकिएको उनले जानकारी दिइन् । कार्यक्रममा पूर्वमन्त्री तथा सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले सहकारी ऐन २०७४ र सहकारीलाई उद्योग व्यवसायमा जानका लागि बाधा गरेका अन्य ४७ वटा ऐन संशोधन गर्नुपर्ने बताए ।

सहकारी बचत तथा ऋणमा केन्द्रित हुनुमा शिक्षा, स्वास्थ्य, बीमा, हाइड्रोलगायतका क्षेत्रमा जानका लागि सहकारीलाई बाधा सिर्जना भएको गोष्ठीमा सहभागीहरूले बताएका छन् । राज्यले सहकारीलाई अप्ठ्यारो परेका कानुनी अड्चन फुकाइदिएर उद्यमशीलता विकासमा प्रोत्साहन गरेको खण्डमा सहकारीले आयात प्रतिस्पर्धा गर्ने र रोजगारी सिर्जना गर्ने ७७ जिल्लाबाट भेला भएका सहकारीकर्मीले अठोट गरेका छन् ।

राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेलले अहिलेको पुस्ता उद्यमी नबनी भावि पुस्ता उद्यमी बन्न नसक्ने बताउँदै समृद्ध मुलुक उद्यमशीलताको सहकारीले जोड दिन थालेको बताए । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले नेतृत्वमा बसेकाले फराकिलो सोच राखेर अगाडि बढ्न सकेको खण्डमा सहकारी क्षेत्रले नमूना कार्य गर्न सक्ने बताए ।

महासंघका अध्यक्ष मिनराज कँडेलले महासंघले सहकारी अभियानमार्फत उद्यमशीलता वृद्धि गरी सहकारीको योगदान वृद्धि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रममा वित्तीय संघीयताका विश्लेसक डा. खिमलाल देवकोटाले युवा स्वरोजगार सिर्जनाः नवीन प्रविधिको प्रयोग विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने वरिष्ठ राजयोग ध्यान प्रशिक्षक विजयराज शर्मा सिग्देलले व्यावसायिक सफलताको लागि तनाव व्यवस्थापन विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । बुधबार महासंघका निवर्तमान अध्यक्ष केशव बडालले दिगो विकास लक्ष्य कार्यान्वयनमा सहकारीको भूमिका विषय कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसैगरी सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारीमा उद्यमशीलता विकास र संस्थागत सुशासन विषयक कार्यपत्र प्रस्तुत गनेछन् ।

त्यसैगरी कार्यक्रममा सहकारी स्वायत्तता र स्वतन्त्रता नाम पुस्तक विमोचन गरिएको छ । महासंघका निवर्तमान अध्यक्ष तथा पूर्वमन्त्री केशव बडालद्वारा लिखित सहकारी स्वायत्तता र स्वतन्त्रता नाम पुस्तकको मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विमोचन गरिन् । स्वायत्तता र स्वतन्त्रता सहकारीको मुटु भएकाले यस विषयमा विश्वका सहकारी अभियानको अभ्यास र सहकारी तथा अर्थविज्ञहरूको महत्वपूर्ण विचारसमेत समेटेर सो पुस्तक तयार पारिएको बडालले बताए । पुस्तकको विषयमा टिप्पणी गर्दै राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले पुस्तक सहकारीकर्मीका लागि निकै उपयोगी रहेको बताए । पुस्तकको मूल्य तीन सय ५० राखिएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया