Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषि२६ औँ राष्ट्रिय चिया दिवस, नेपालमा १६ हजार ९ सय १७ हेक्टर जमिनमा चिया रोपण

२६ औँ राष्ट्रिय चिया दिवस, नेपालमा १६ हजार ९ सय १७ हेक्टर जमिनमा चिया रोपण


काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज अर्थात् बिहीबार २६औँ राष्ट्रिय चिया दिवस मनाउन लागेको छ । चिया उत्पादक किसान, स्टेट, प्रशोधक, उद्योगी, व्यवसायी, बिक्रेता, चिया उपभोक्ता र चियालाई माया गर्ने सबै नेपालीहरूले राष्ट्रिय पर्वको रूपमा वैशाख १५ गतेलाई ‘राष्ट्रिय चिया दिवस’को रूपमा मनाउँदै आएका छन् ।

बोर्डले ‘गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार, चियाको निर्यात आर्थिक समृद्धिको आधार’ भन्ने नारासहित यस वर्षको राष्ट्रिय चिया दिवस काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । चिया दिवसको अवसरमा चिया क्षेत्रको नीतिहरू केन्द्रित कार्यपत्र प्रस्तुति तथा छलफल, नेपाली चियाको प्रदर्शनी, टि टेस्टिङलगायतका कार्यक्रमहरू गरिने बोर्डले जनाएको छ । बोर्डका अनुसार नेपालमा हाल १६ हजार नौ सय १७ हेक्टर जमिनमा चियाखेती हुँदै आएको छ । आर्थिक वर्ष २०७७।०७८ को तथ्यांकअनुसार नेपालमा २३ हजार सात सय ४५ मेट्रिक टन चिया उत्पादन भएको थियो । नेपालमा चियाखेतीको सुरुवात तत्कालीन बडाहाकिम गजराज सिंह थापाले विस १९२० मा इलाममा चिया रोपण गरेर गरेका थिए । तत्कालीन राजा विरेन्द्रले विसं २०३९ मा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लाहरूलाई चिया क्षेत्रको रूपमा घोषणा गरेपछि सरकारी स्तरबाट व्यावसायिक चियाखेतीको प्रवर्द्धन हुन थालेको बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले जानकारी दिए ।

नेपालमा चिया तथा कफी क्षेत्रको योजनाबद्ध विकास गर्न नेपाल सरकारले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९ अन्तर्गत छुट्टै बोर्ड स्थापना गरेपश्चात् साना किसानको स्तरमा चिया खेतीले व्यापकता पाएको छ । नेपालमा हाल १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिकहरू चियाको विभिन्न मूल्य श्रृंखलामा संलग्न रहेका छन् । नेपालले अधिकांश उपभोग्य वस्तुहरू आयात गर्नुपरेको अवस्थामा मुलुकलाई आवश्यक पर्ने चिया भने आफै उत्पादन गरी भारतलगायत अन्य तेस्रो मुलुकहरूमा समेत नेपाली चिया निर्यात भइरहेको छ । बोर्डका अनुसार आव २०७६/७७ मा दुई अर्ब ७८ करोड रूपैयाँबराबरको ११ हजार एक सय ८५ मेट्रिकटन चिया निर्यात भएको थियो । यस्तै आव २०७७/७८ मा तीन अर्ब ७९ करोड ७१ लाख रूपैयाँबराबरको ११ हजार नौ सय २० मेट्रिकटन चिया निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

विदेशी मुद्रा आर्जन र ग्रामीण अर्थतन्त्रको मुख्य आधार रहेको चिया उद्योगका अगाडि गुणस्तरीय उत्पादन, अन्तर्राष्ट्रिय बजार, व्यावसायिक तथा दिगो खेती प्रविधि, अनुसन्धान एवं विकासका थुप्रै चुनौती समेत रहेको बोर्डका कार्यकारी निर्देशक भट्टराई बताउँछन् । उनका अनुसार नेपाली चियाको ९० प्रतिशतभन्दा बढी निकासी भारतसँग रहेको छ । प्रत्येक वर्ष निर्यातमा खडा हुने बाधा÷व्यवधान, झन्झटिलो प्रक्रिया साथै नेपाली चिया उच्च गुणस्तरको हुँदाहुँदै पनि अतिनै न्यून मुल्यमा बिक्री गर्नुपर्ने बाध्यताका कारण नेपाली चिया क्षेत्र क्षमताअनुसार नाफामूलक बन्न नसकेको उनले बताए ।

नेपालमा चिया उत्पादन सुरु भएको डेढ सय वर्ष बितिसक्दा पनि नेपालमा चियाको उत्पादन तथा प्रशोधन प्रविधिसम्बन्धी विषयमा आवश्यक अनुसन्धानात्मक कार्यहरू नहुँदा नेपालको आफ्नै चियाको जात एवं प्रविधि विकास हुन सकिरहेको छैन । त्यस्तै चिया क्षेत्रहरूमा आवश्यक बिजुली तथा सिँचाई पूर्वाधारको अभाव, भन्सार नाकाहरूमा निर्यात प्रवद्र्धनका लागि आवश्यक द्रुत गतिमा नतिजा दिनसक्ने अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रयोगशाला नहुनु, अति नै न्यून विनियोजित स्रोत÷साधनलगायत अन्य कृषिजन्य उद्योग सरह सहुलियत ऋणलगायतका सुविधाहरूबाट नेपाली चिया क्षेत्र वञ्चित हुनुपरेको छ ।

बढ्दो व्यापारघाटा कम गर्न चियाको गुणस्तरीय उत्पादनमा वृद्धि गरि निर्यात गर्नुको विकल्प नरहेको भट्टराई बताउँछन् । उनका अनुसार नेपालका छिमेकी मुलुकहरू भारत, श्रीलंकालगायतका राष्ट्रहरूले चियामा भ्यालु एड गरी प्रतिस्पर्धी बजारमा आफ्नो स्थान सुरक्षित गरिरहेका छन् । नेपालले पनि उपभोक्ताको मागअनुसार संख्यात्मक उत्पादनमा मात्रै नभएर तयारी चियाको विशिष्टकृत गुणस्तरमा ध्यान दिन अति जरुरी रहेको उनले बताए । नेपालमै पनि चियाको आन्तरिक खपत अति नै न्यून रहेकाले आन्तरिक बजार प्रवद्र्धन गरी खुला बजार नीतिअनुरूप चीन, रूस, ईयू, अमेरिकालगायतका मुलुकहरूसँग जिटुजी सम्झौता गरी त्यहाँ रहेका नेपाली कूटनीतिक नियोगहरूमार्फत नेपाली चियाको ब्राण्ड प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । यसले वार्षिक करिब चार अर्ब रूपैयाँ मूल्यबराबरको चिया निर्यात हुँदै आएकोमा अहिलेकै उत्पादन परिमाण कायम रहँदा पनि त्यसलाई बढाएर १० अर्ब रूपैयाँको निर्यात मूल्य बनाउन सकिने सम्भावना रहेको उनले बताए ।

चियाको गुणस्तरीय उत्पादन वृद्धि र दीर्घकालीन बजारको समस्या समाधानको लागि मुख्य रणनीतिक योजनाका साथ बोर्डले पनि केही परियोजनाहरूसँग मिलेर कार्य गर्दै आइरहेको छ । बोर्डले पूर्वी क्षेत्रमा सीमित रहेको चिया खेतीलाई पश्चिमी जिल्लाहरूमा पनि व्यावसायिक चियाखेतीको विस्तार, प्रविधि प्रसारसँगै उद्योग स्थापनामा सहयोग गर्दै आएको छ । त्यस्तै नेपाली चियाको आफ्नै क्लोन विकास गर्न अनुसन्धानरत निकाय नार्कसँग सम्झौता गरी प्रारम्भिक छनोटको कार्य अगाडि बढाएको जनाएको छ । बोर्डका अनुसार उत्पादित अर्थोडक्स चियाको बजार प्रवद्र्धनका लागि आफ्नै ट्रेडमार्क कार्यान्वयनमा ल्याई हालसम्म २६ वटा उद्योगहरूले ट्रेडमार्क प्राप्त गर्न सफल भएका छन् भने धेरै उद्योगहरू मापदण्ड पूरा गर्ने चरणमा रहेका छन् । यस्तै झापा जिल्लामा उत्पादन भइरहेको सीटीसी चियाको गुणस्तरमा एकरूपमा कायम गर्न मापदण्ड निर्माणको कार्य अगाडि बढेको बोर्डले जनाएको छ ।

यसैगरी बोर्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा निस्टेप परियोजनामार्फत स्थापित चिया बगानको व्यवस्थापनदेखि बजारीकरणसम्मको गुणस्तरमा पारदर्शिता कायम गरी विश्व बजारको मागअनुरूप अर्गानिक प्रमाणीकरणमा उत्पादक तथा उद्योगीहरूलाई सहयोग गरिरहेको छ । बोर्डलाई स्रोत साधन सम्पन्न बनाई चिया क्षेत्रमा राज्यबाट प्राथमिकताका साथ लगानी वृद्धि गरी सहज वित्तीय र नीतिगत व्यवस्था मिलाउन सकेमा नेपाली चियाले फड्को मार्नसक्ने बोर्डको दाबी छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया