Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदेशको अर्थतन्त्रमा गैरकृषि क्षेत्रको आयतन बढ्दो

देशको अर्थतन्त्रमा गैरकृषि क्षेत्रको आयतन बढ्दो


काठमाडौं । मुलुकको अर्थतन्त्रमा कृषि (कृषि वन तथा मत्स्य) क्षेत्र भन्दा गैरकृषि क्षेत्रको योगदान बढी छ । यस वर्ष धान उत्पादनमा ह्रास आएको कारण कृषि क्षेत्रले मुलुकको अर्थतन्त्रमा दिने योगदानमा कमी आएको बताइएको छ । चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २३.९५ प्रतिशत तथा गैरकृषि क्षेत्रले ७६.०५ प्रतिशत योगदान रहेको प्रारम्भिक अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ । चालू आर्थिक वर्ष २०७८/०७९ मा बजार मूल्यको आधारमा नेपालको अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब ६३ करोड रुपैयाँ पुग्ने अवस्थामा कृषि क्षेत्रको आकार घटेको हो ।

औद्योगिक वर्गीकरणअनुसार कृषि, खानी, औद्योगिक उत्पादन, ऊर्जा, पानी तथा ढल, निर्माण, यातायात, सञ्चार, बैंक तथा वित्तीयलगायत १८ वटा क्षेत्रमा गरेको अध्ययनको क्रममा गैर कृषि क्षेत्रको योगदान बढी रहेको पाइएको हो ।

चालू आर्थिक वर्षको कृषि क्षेत्र (कृषि, वन तथा मत्स्य)को कुल मूल्यअभिवृद्धि (जीभीए) वृद्धिदर २.३ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । त्यसैगरी गैरकृषि क्षेत्रको ६.८८ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान विभागले गरेको छ ।

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि वन तथा मत्स्य क्षेत्रले २३.९५ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यसैगरी यस क्षेत्रको कुल मूल्यअभिवृद्धि (जीभीए) वार्षिक वृद्धिदर २.३ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । धानको उत्पादनमा भएको ह्रासका कारणले यस क्षेत्रको वृद्धिमा कमी आउने अनुमान रहेको छ । तथापि यस क्षेत्रको उत्पादन वृद्धिका लागि सरकारी तथा गैरसरकारी प्रयासहरू सफल हुँदै गएका कारण मत्स्य उत्पादनमा पनि वृद्धि भएको अनुमान छ ।

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा खानी तथा उत्खनन् क्षेत्रले ०.५८ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ । खानी तथा उत्खनन क्षेत्रमा अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा यस वर्षको कुल मूल्य अभिवृद्धि (जीभीए) वृद्धिदर ८.१५ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । निर्माण क्षेत्रमा भएको वृद्धि सँगसँगै यस क्षेत्रको मूल्यअभिवृद्धि वृद्धिदर पनि सकारात्मक रहने अनुमान छ ।

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उद्योग क्षेत्रले ५.६५ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ । उद्योग क्षेत्रमा गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/०७९ मा कुल मूल्य अभिवृद्धि (जीभीए) ६.१४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ  । खानी तथा उत्खनन, उद्योग मात्र नभई विद्युत्, ग्यास तथा वातानुकूलित आपूर्ति सेवा क्षेत्रको अर्थतन्त्रमा योगदान वृद्धि हुने बताइएको छ ।

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा विद्युत, ग्यास, वाष्प तथा वातानुकूलित आपूर्ति सेवा क्षेत्रले १.३७ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रको कुल मूल्यअभिवृद्धि (जीभीए) अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा ३६.६७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरू भएका कारण यस क्षेत्रको मूल्यअभिवृद्धिमा उल्लेख्य रूपमा वृद्धि हुने अनुमान छ ।

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा पानी आपूर्ति ढल फोहोर व्यवस्थापन तथा पुनरुत्पादनका क्रियाकलापहरु क्षेत्रले ०.५१ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा चालू आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्यअभिवृद्धि (जीभीए) ०.७२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ ।

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा निर्माण क्षेत्रले ६.१७ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७८/०७९ मा निर्माण क्षेत्रको कुल मूल्यअभिवृद्धि (जीभीए) ९.५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । कोभिड १९ को कारण निर्माणाधीन आयोजनामा विश्वबजारबाट उपकरणलगायत सामग्रीको आपूर्तिमा आएको अवरोध हटेको तथा निर्माण सामग्रीको आयात तथा उत्पादन समेत वृद्धि भएकोले यस क्षेत्रको मूल्यअभिवृद्धि वृद्धि हुने अनुमान छ ।

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रले १६.४० प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ । यस थोक तथा खुद्रा व्यापारको क्षेत्रमा आर्थिक वर्ष २०७७/०७८ को तुलनामा चालू आर्थिक वर्षमा कुल मूल्यअभिवृद्धि (जीभीए) ९.१२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । कोभिड १९ को महामारीबट आपूर्ति प्रणालीमा आएको रोकावट हटेकोले यस क्षेत्रको मूल्यअभिवृद्धि वृद्धिदरमा सकरात्मक असर गरेको छ ।

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यातायात तथा भण्डारण क्षेत्रले ५.९८ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ । यस क्षेत्रको कुल मूल्यअभिवृद्धि (जीभीए) मा अघिल्लो वर्ष २०७७/०७८ को तुलनामा यस आर्थिक वर्षमा ४.५४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । कोभिड १९ को महामारीको कारण विश्वव्यापी रूपमा आवतजावतमा आएको अवरोध तथा कोभिड १९ को महामारीको असर न्यून भए पनि यस क्षेत्रको मूल्यअभिवृद्धि स्थिर मूल्यमा अघिल्ला सामान्य वर्षको अवस्थामा फर्किनसकेको देखिँदैन ।

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा आवास तथा भोजन सेवा क्षेत्रले १.६५ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान छ । यस क्षेत्रको कुल मूल्यअभिवृद्धि (जीभीए) अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा चालू आर्थिक वर्षमा सुधार भई ११.४२ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ । आन्तरिक पर्यटनमा कोभिडको संक्रमण प्रभाव कम हुँदै गएको गत आर्थिक वर्षको तुलनामा पर्यटन आगमनमा उल्लेख्य वृद्धि भएको कारणले यस क्षेत्रको मूल्यअभिवृद्धि वृद्धिदरमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा सूचना तथा सञ्चार क्षेत्रले २.०९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रको कुल मूल्यअभिवृद्धि (जीभीए) मा अघिल्लो वर्ष २०७७/७८ को तुलनामा चालू आर्थिक वर्षमा ३.५८ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ ।

वित्तीय मध्यस्थता क्षेत्रभित्र बैंकिङ समूहमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनीहरूको साथै सहकारी संस्थाहरूको कारोबार रहेका छन् । बीमा समूहमा बीमा समिति, जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरूको कारोबारहरू छन् । त्यस्तै सामाजिक सुरक्षा योगदान समूहमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष आदिका कारोबारहरू छन् । चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा वित्तीय मध्यस्थता क्षेत्रले ६=८६ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ । समग्ररूपमा यी क्षेत्रका क्रियाकलापमा भएको बढोत्तरीको कारणले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा चालू आर्थिक वर्षमा ६=०६ प्रतिशतले कुल मूल्यअभिवृद्धि (जीभीए) मा वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ ।

घर जग्गा कारोबार सेवा क्षेत्रअन्तर्गत मुख्यरूपमा जग्गा जमिनको खरिदबिक्री, जग्गा जमिन भाडामा लगाउने, अन्य घरजग्गा कारोबारका सेवा दिने तथा आफ्नै घर आवासबाट उपलब्ध आवास सेवाहरू पर्दछन् । चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ८.७९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रमा अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७८/०७९ मा ३.८२ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान छ ।

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलापहरू क्षेत्रले ०.९९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रमा अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७८/७९ मा ३.७८ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान छ ।

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक तथा सहयोगि सेवाका क्रियाकलापहरू क्षेत्रले ०.७८ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ । यस क्षेत्रमा अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७८/०७९ मा ४.४० प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रको वृद्धिदर गत आर्थिक वर्षभन्दा बढी हुने अनुमान छ ।

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रले ७.७३ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ । यस क्षेत्रमा चालू आर्थिक वर्ष २०७८/७९ को कुल मूल्यअभिवृद्धि (जीभीए) वृद्धिदर ४.०५ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । संघ, प्रदेश/स्थानीय तहको सरकारको सार्वजनिक प्रशासन तथा रक्षामा गरिएको खर्चको आधारमा यस क्षेत्रमा उक्त वृद्धिदर हासिल हुने अनुमान छ ।

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा शिक्षा क्षेत्रले ८.१ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ । यस क्षेत्रमा अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७८/०७९ मा कुल मूल्यअभिवृद्धि (जीभीए) ४.०८ प्रतिशतले वृद्धि हुने पूर्वानुमान छ । निजी तथा गैरसरकारी क्षेत्रहरूबाट संचालित शैक्षिक गतिविधिहरूमा भएको परिवर्तित सूचकको आधारमा तयार गरिएको अनुमानअनुसार पछिल्लो वृद्धिदर हासिल हुने प्रारम्भिक अनुमान छ । मध्यवर्ती उपयोग कम भएको तर आयमा बढोत्तरी भएका कारण निजी शैक्षिक संस्थाहरूको कुल मूल्यअभिवृद्धि (जीभीए) वृद्धिदर बढेको हो । तथापि विद्यार्थी संख्या उल्लेख्य रूपमा नबढेका कारण यस क्षेत्रको मूल्य अभिवृद्धि पनि सामान्य रूपमा मात्र वृद्धि भएको देखिन्छ ।

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रले १.७९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ । यस क्षेत्रतर्फ आर्थिक वर्ष २०७७/०७८ को तुलनामा चालू आर्थिक वर्षमा ६.९१ प्रतिशतले कुल मूल्यअभिवृद्धिमा (जीभीए) वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । स्वास्थ्य सेवाको पहुँच विस्तारका साथ साथै मानिसहरूमा स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि हुनु तथा निजी स्वास्थ्य संस्थाहरूको आयमा पनि क्रमिक रूपमा वृद्धि हुनुजस्ता कारणले यस प्रकारको वृद्धि देखिएको हो ।

औद्योगिक वर्गीकरण अनुसारका कला मनोरञ्जन तथा अन्य रोजगारदाता घरपरिवारका क्रियाकलापहरू र आफ्नो उपयोगको लागि घरपरिवारको वस्तु तथा सेवा उत्पादनका क्रियाकलापहरूलाई (कला, मनोरञ्जन, पुनः रचना, घरमै बसेर सेवा तथा काम गर्ने) अन्य सेवाका क्रियाकलापहरूमा समावेश गरिएको छ । अन्य सेवाका क्रियाकलापका क्षेत्रले ०.६१ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रमा कुल मूल्यअभिवृद्धि (जीभीए) वृद्धिदर अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७८/०७९ मा ३.७९ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ । केन्द्रीय तथा स्थानीय सरकारको सामुदायिक, सामाजिक क्षेत्रमा गरिएको खर्चको आधारमा र निजी क्षेत्रहरूबाट सञ्चालित एफएम रेडियो तथा टेलिभिजन जस्ता मनोरञ्जनात्मक सेवाको आर्थिक गतिविधिहरूको आधारमा यस क्षेत्रको गार्हस्थ्य उत्पादनमा वृद्धि हुने अनुमान छ । यसैबीच औद्योगिक वर्गीकरणलाई शीर्षकगत वर्गीकरण गरी हेर्दा भने कृषि, वन तथा माछापालन क्षेत्रको योगदान बढी छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया