Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिगल्याङ बल्पुकको कृषक समूह च्याउ खेतीमा आकर्षित

गल्याङ बल्पुकको कृषक समूह च्याउ खेतीमा आकर्षित


गल्याङ, फागुन ६
स्याङ्जाको गल्याङ नगरपालिका ३, वल्पुकका किसान च्याउ खेतीप्रति आकर्षित भएका छन् । बल्पुक कृषक समूहमा आबद्व कृषकहरु च्याउ खेतीतर्फ आकर्षित भएका हुन् । समूहमा आबद्व किसानहरुलाई यसअघि गल्याङ नगरपालिकाले निःशुल्क रुपमा च्याउको बीउ वितरण गरेको थियो । नगरपालिकाले वितरण गरेको च्याउको बीउबाट घरमा खान मात्रै नभई बिक्रीवितरण गर्न समेत पुगेपछि कृषक समूहले अहिले आफैँ बीउ खरिद गरी च्याउ लगाउने काम सुरु गरेको छ । उत्पादन राम्रो भएमा बजारको कुनै समस्या नभएको समूहका अध्यक्ष नमकला बस्यालले बताइन् । १५ जना स्थानीय कृषक रहेको समूहमा अहिले व्यावसायिक रुपमा नै च्याउ खेती गर्नका लागि तयारी थालिएको उनले जानकारी दिइन् ।

आइतबार च्याउबाट धेरै उत्पादन गर्ने तरिकाबारे जानकारी लिदै स्थानीय कृषकहरुले च्याउको उत्पादनलाई अझै बढाउने बताएका छन् । गल्याङ नगरपालिका कृषि शाखा प्रमुख शिव ढकालले च्याउका लागि पराल बनाउने, डल्ला पार्ने, विउ राख्ने तरिका सिकाएका थिए । यसअघि तालिमविना लगाइएको च्याउ खेतीबाट पनि राम्रो आम्दानी भएकोमा अब केही सीपको विकास भएकाले आफूहरुमा अझै उत्साह थपिएको समूहकी अध्यक्ष बस्यालले बताइन् । ढकालले वल्पुुकका कृषकमा च्याउ खेतीप्रति आकर्षण बढेको भन्दै उत्साही किसानलाई नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । स्थानीय कृषकहरुका लागि यस्ता कार्यक्रम प्रभावकारी रहने भन्दै उनले किसानको आग्रहमा आफू सम्बन्धित ठाउँमा नै पुगेर आवश्यक सीप प्रदान गरेको बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया