Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिबैतेश्वरमा ५० हजार पशुको स्वास्थ्य बीमा

बैतेश्वरमा ५० हजार पशुको स्वास्थ्य बीमा


सुबास बस्नेत
दोलखा, फागुन ७
बैतेश्वर गाउँपालिकाले पशुपालक किसानकै घरमा पुगेर सुरक्षित पशु बीमा कार्यक्रम सुरु गरेको छ । पालिकाले चालू आर्थिक वर्षमा बजेट नै विनियोजन गरेर पशु बीमा कार्यक्रम अघि सारेको हो । बैतेश्वर गाउँपालिकाभित्रका ८ वडाका स्थानीय पशुपालक किसानलाई लक्षित गरेर पशुधन सुरक्षित गर्नको लागि पशु बीमा कार्यक्रम अघि सारेको गाउँपालिकका अध्यक्ष छवि लामाले जानकारी दिए ।

पालिकाले गत साताबाट सुरु गरेको साना ठूला पशुको बीमा कार्यक्रम तीव्ररूपमा गरिरहेको बैतेश्वर गाउँपालिकाका पशु स्वास्थ्य शाखा अधिकृत शान्तिप्रसाद दाहालले बताए । अधिकृत दाहालका अनुसार हालसम्म अनुमानित करिब तीन करोड मूल्यबराबरका २५ सय साना–ठूला पशुको बीमा गरिसकेको उनले बताए । जसमध्ये पशु सुरक्षाबापतको ७५ प्रतिशत बीमा रकम नेपाल सरकारले दिनेछ भने बाँकी किसानले तिर्नुपर्ने २५ प्रतिशत रकम गाउँपालिकाले तिरिदिनेछ ।

हाल बैतेश्वर गाउँपालिकाको वडा नम्बर १ मा एक करोड २० लाख ७१ हजार मूल्यबराबरका नौ सय ४३ वटा बाख्रा र एक सय ८१ वटा गाई, भैंसीलगायतका ठूला पशुको बीमा गरिएको छ । यी सबै पशुको सुरक्षाबापत पाँच प्रतिशतले हुन आउने छ लाख रकम पालिकाले किसानलाई दिनेछ । त्यसैगरी २ नम्बर वडामा ५४ लाख ३५ हजारबराबरका तीन सय ३३ बाख्रा, भेडा र एक सय ४६ वटा ठूला पशुको बीमा गरिएको छ । बीमाको पाँच प्रतिशतले हुन आउने ६५ हजार नौ सय रकम पालिकाले दिनेछ ।

यता पालिकाको वडा नम्बर ३ मा ११ लाख, ९५ हजारबराबरको एक सयवटा साना–ठूला पशुको बीमा गरिएको छ । त्यसको बीमाबापतको पाँच प्रतिशतले हुनआउने १४ हजार नौ सय रकम पालिकाले किसानलाई सिधै भुक्तानी गर्नेछ । यो सबै रकम जोड्दा करिब साढे दुई करोड मूल्यबराबरका पशुको स्वास्थ्य बीमा गरिसकेको गाउँपालिका सदस्य देवराज खत्रीले जानकारी दिए । उनका अनुसार अहिले वडा नम्बर १,२ का पशुको बीमा सकेर ३,४ मा रहेका दुईभन्दा ठूला पशु पाल्ने किसान र साना जातका १० भन्दा बढी भेडाबाख्रा पालन गर्ने किसानका पशुको स्वास्थ्य बीमा जारी रहेको सदस्य खत्रीले जानकारी दिए । पालिकाले फागुनभित्र सबै वडाका पशुको बीमा गरिसक्ने जनाएको छ ।

गाउँपालिकाले भेटेनरी प्रविधिसहितको टोली लगेर बीमा गरिरहेको छ । पालिकाको अनुमानअनुसार आठ वडाका २५ हजारभन्दा बढी ठूला पशु र ५० हजार बाख्रा जातका पशुको स्वास्थ्य बीमा गर्ने योजना बनाएको कार्यपालिकाका सदस्य खत्रीले बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया