Techie IT
×
गृहपृष्ठसहकारी–कृषि‘कानुनको पालना नहुँदा सहकारी संस्थाहरू समस्याग्रस्त’

‘कानुनको पालना नहुँदा सहकारी संस्थाहरू समस्याग्रस्त’


काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीहरूले ऐन कानुनको पालना नगर्दा समस्याग्रस्त हुन पुगेको जनाएको छ । समितिले तयार पारेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनमा सहकारीहरूलाई समस्याग्रस्त हुनबाट जोगाउन सहकारी ऐन/नियमको प्रभावकारी कार्यान्वयनका साथै सहकारी संस्थाहरूमा सुशासन प्रवर्द्धन आवश्यक रहेको उल्लेख गरिएको छ ।

यस्तै समान प्रकृतिका कार्य गर्ने सहकारी संस्थाहरूबीच एकीकरण (मर्जर) गर्ने प्रक्रियालाई प्रोत्साहन गर्ने, सहकारीलाई विपन्न वर्गसम्म पुग्ने रणनीतिका साथ सञ्चालन गर्ने, सुशासनको पूर्ण प्रत्याभूति हुने गरी सञ्चालन गर्नेजस्ता आधारभूत सिद्धान्तहरूको पालना गर्न सकेमा सहकारी क्षेत्रप्रतिको जनताको विश्वास अभिवृद्धि गर्न सकिने पनि प्रतिवेदनमा उल्लेख छ । समितिले उक्त प्रतिवेदन सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बुझाएको हो । मन्त्रालयमा समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीहरूलाई जिम्मेवार बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन् । सहकारीहरू मूल्य, मान्यता, सिद्धान्तअनुसार चल्नुपर्नेमा जोड दिँदै उनले सहकारीहरू समस्याग्रस्त बन्ने अवस्था आउन नदिने गरी काम गर्न सम्बद्ध पक्षलाई आग्रह समेत गरिन् ।

मन्त्री श्रेष्ठले सहकारी अभियान र आन्दोलानलाई स्थापित गर्न र सहकारीलाई उत्पादनसँग जोडेर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सकिन्छ भन्नेमा मन्त्रालय विश्वस्त रहेको बताइन् । उनले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रूपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारीहरूलाई सदस्य केन्द्रित भई व्यावसायिक बनाउनुपर्नेमा जोड समेत दिइन् । समितिको वार्षिक प्रतिवेदन बुझाउँदै अध्यक्ष काशीराज दाहालले सहकारी संस्थाहरूमा विकृति र विसंगतिको रोकथाम र नियन्त्रणको लागि सहकारी दर्ता प्रक्रियामा नै विशेष ध्यान दिनुपर्ने बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया