Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविश्वास बहुउद्देश्यीय सहकारी संस्थाद्वारा करोडौं ठगी, सञ्चालकहरू फरार

विश्वास बहुउद्देश्यीय सहकारी संस्थाद्वारा करोडौं ठगी, सञ्चालकहरू फरार


काठमाडौं । विश्वास बहुउद्देश्यीय सहकारी संस्था लि.मा अनियमितता भएको पाइएको छ । सहकारीमा आफूले गरेको बचत फिर्ता लिन गएका निक्षेपकर्ताहरुलाई निक्षेप फिर्ता गर्न नसकेपछि सहकारीको बदमासी बाहिर आएको हो ।

सहकारीमा भएको अनियमितता बाहिर आएसँगै यसका सञ्चालकहरु फरार भएका छन् । काठमाडौंको न्युरोडस्थित खिचापोखरीमा मुख्य कार्यालय रहेको सहकारीमा अध्यक्ष रमेश गौतम, उपाध्यक्ष मुनिन्द्र प्रसाद दाहाल, सचिव अनिल गौतम, कोषाध्यक्ष रसमाया गुरुङ्ग, सदस्यहरुमा शंकर अधिकारी, उमेश पराजुली र विनोद थापामगर रहेका भिए ।

काठमाडौं उपत्यकाको साथै उपत्यकाबाहिर समेत सदस्य सुविधा काउन्टरको नाममा शाखा कार्यालय खोलेर कारोबार गर्दै आएको विश्वास सहकारीको सबै शाखा बन्द भइसकेको छ । सहकारीका अध्यक्ष गौतमको प्रमुख योजनामा पदाधिकारी तथा सञ्चालक समितिका सदस्यहरुले बचतकर्ताले बचत गरेको करोडौँ रकम अपचलन गर्दा सहकारी समस्यामा परेको सेयर सदस्यहरुले बताउँदै आएका छन् ।

सहकारीको व्यवस्थापन सुशीला ढकालको संयोजनमा सदस्यहरुमा लक्ष्मी पौडेल, दिपा कार्की र हिरामाया लामाले हेर्दै आएका थिए । यो पदाधिकारीहरु समेत २०७४/०७५ को साधारणसभाले चयन गरेको थियो । हरेक वर्ष साधारणसभा गर्नुपर्ने सहकारीले त्यसयता साधारणसभा समेत गरेको छैन ।

‘आन्तरिक माइन्युट गरेर भित्रभित्रै मिलाएको भए हामीलाई थाहा छैन’, एक सेयर सदस्यले भने । पैसा फिर्ता नगरेपछि अहिले काठमाडौंको न्युरोड खिचापोखरीको मुख्य कार्यालयको साथै बौद्ध, सामाखुसी, बानेश्वर, कालिमाटी, जावलाखेल तथा इटहरीमा रकम जम्मा गर्नेहरुको रुवाबासी चल्न थालेको छ ।

सहकारीले सुरुमा मोटो ब्याज र अनेकौँ आकर्षक प्रलोभन देखाएर अर्बौँ रकम बचत गर्न लगाएको थियो । प्रलोभनमा पारी करोडौँ पैसा उठाएर सहकारीका अध्यक्ष गौतमले अन्धाधुन्ध लगानी र मनपरी गर्दा संस्था समस्यामा परेको पीडितहरुले बताए । स्रोतका अनुसार सहकारीले बचतकर्ताहरुको झण्डै १ अर्ब ५० करोड फिर्ता गर्नुपर्नेछ जसमा मनोज कन्दोही, महेन्द्र सुल्तानिया, सुभाष अग्रवाल, विनोद अग्रवाल, हरि अग्रवाल, संञ्जय अग्रवाल, परमेश्वर गोयल, शिवशंकर बथवाल, मुकेस अग्रवाल, रमेस सिंघानिया, जुगलकिशोर टिबटेवाल तथा कामेश्वर अग्रवालको मात्र झण्डै २० करोड रुपैयाँ सहकारीमा रहेको छ ।

जनताको करोडौँ हिनामिना गरेर सहकारीबाट भागेका अध्यक्ष रमेश गौतम नेपाल सहकारीमा सेयर होल्डर भएर नेपाल सहकारी सञ्चालन गर्दै आइरहेको स्रोतले बतायो । सहकारी संस्थाहरुलाई नियमन गर्ने निकाय सहकारी विभाग भए पनि सहकारी आफैँ पनि स्वनियममा चल्नैपर्छ । सहकारीहरु यसरी दिनप्रतिदिन धराशायी हुँदै गर्दा सदस्यहरुको बचतको सुरक्षा कसले र कसरी गर्ने भन्ने प्रश्न उब्जिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया