Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिगौतमश्री बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गर्न आग्रह

गौतमश्री बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गर्न आग्रह


काठमाडौं । सहकारी विभागले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसमक्ष सिफारिस गरेको छ । कार्यालय बन्द गरी बचतकर्ताको रकम फिर्ता नगरी सञ्चालकहरु फरार भएसँगै विभागले गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषण गर्न मन्त्रालयलाई अनुरोध गरेको हो । संस्थाका अध्यक्ष तथा सञ्चालक भने काभ्रेपलाञ्चोक निवासी रामबहादुर गौतम छन् ।

सहकारीले सदस्यको हितविपरीतका कार्य गरेका, निर्धारित शर्तबमोजिम बचत फिर्ता नगरेको, सहकारी मूल्य मान्यता एवं सहकारी ऐन, नियम र निर्देशनको पालना नगरेको र संस्थाका एक हजार एक सयभन्दा बढी सदस्यहरुको बचत फिर्ता नगरी कानुनको पालना नगरेको तथा सहकारी ऐन २०७४ दफा १०४ विद्यमानता रहेको देखिएको हुँदा विभागबाट उक्त सहकारी संस्थालाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त सहकारी संस्थाका रुपमा घोषणा गर्न मन्त्रालयसमक्ष सिफारिस गरिएको विभागका उपरजिष्ट्रार एवम सूचना अधिकारी टोलराज उपाध्यायले बताए ।

सहकारीका बचतकर्ताहरुले एक अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको मागदाबीसहित एक हजार एक सय जनाले विभागसमक्ष निवेदन दिएका थिए । काठमाडौं, महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको सो सहकारीले बचतकर्ताहरुबाट बचत रकम फिर्ता नभएको भन्दै आवश्यक कारबाही गरिपाऊँ भन्दै विभागमा उजुरी दिएका हुन् ।

यसैबीच, गत मंगलबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई संस्थाका अध्यक्ष गौतम समित सञ्चालक तथा व्यवस्थापक कर्मचारीहरुलाई सोधपुछ गर्न विभागमा उपस्थित गराइदिन लिखित अनुरोध पठाइएकोमा उक्त संस्थाका कुनै पनि सञ्चालक तथा कर्मचारीहरुलाई हालसम्म पनि विभागको सम्पर्कमा नल्याइएको तथा उनीहरु सम्पर्कमा आउन नचाहेको बताइएको छ । ‘शुक्रबार पीडितहरु विभागमा आई आफ्नो समस्या राखे’, उनले भने, ‘हामीले सम्पर्क गर्न खोज्यौँ तर सञ्चालकहरु कार्यालय बन्द गरेर फरार रहेको पाइयो ।’

शुक्रबार नै सहकारी पीडितहरुसँग छलफल गर्दै उजुरी लिने काम विभागले गरेको थियो । सोसँगै विभागले पीडितहरुलाई न्याय दिलाउने गरी अघि बढ्ने तयारी गरेको छ । सहकारीको चल–अचल सम्पत्तिको सुरक्षा गर्ने र कार्यालय बन्द राख्नको लागि प्रहरी प्रधान कार्यालय, महाराजगञ्जलाई पत्र लेखिएको थियो ।

विभागका एक अधिकारीका अनुसार करिब सात अर्ब रुपैयाँबराबरको दायित्व निक्षेपकर्ताबाट लिएको र करिब पाँच अर्ब रुपैयाँ सम्पत्ति सहकारीसँग रहेको सूचना आफूहरुलाई आएको बताएका छन् ।

विभागले सहकारी संस्था, संस्थाका अध्यक्ष गौतम एवं निजको पत्नी निर्मला खत्री गौतमको नाममा नेपालभर रहेको घर/जग्गा यथाशीघ्र रोक्का राखी सहयोग गर्नका लागि आग्रह गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्र पठाएको छ उसले गत मंगलबार पत्र पठाइएको हो । त्यस्तै विभागले गौतम र पत्नी खत्रीसहित १५ जना सञ्चालक तथा कर्मचारीको बैंक खाता रोक्का राख्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ । संस्थाका सचिव राम गौतम, सदस्यहरु अर्जुन गोतामे, होम कुमारी खत्री, सन्तोषी केसी, सुमित्रा कार्की, भागवती थापा, सुभाष भुसालको पनि बैंक खाता रोक्का गरिएको छ । संस्थाका लेखा समिति संयोजक सुनिता तिमल्सिना, लेखा समिति सदस्य पंकजकुमार झा र विकास चौधरी, व्यवस्थापक रविन विष्ट, ऋण व्यवस्थापक अनिल गौतम, लेखापाल सुनिता सिंह लगायतका बैंक खाता रोक्का गर्न विभागले पत्राचार गरेको छ । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया