Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषि१६ वर्षदेखि व्यावसायिक गोलभेंडा खेतीमा सिंगो गाउँ !

१६ वर्षदेखि व्यावसायिक गोलभेंडा खेतीमा सिंगो गाउँ !


दोलखा । विगत १६ वर्षदेखि जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर ४ मा पर्ने एउटा सिङ्गो गाउँका दर्जनौँ कृषकले व्यावसायिक गोलभेँडा खेती गर्दै आएका छन् । मैनापोखरी बजारदेखि साढे दुई किलोमिटर टाढा पर्ने उनियाचौर गाउँका कृषकहरूले २०६३ सालदेखि व्यावसायिकरूपमा गोलभेँडा खेती गर्न लागेका हुन् ।

गाउँमा पहिलो पटक चन्द्र बहादुर दाहालले गोलभेँडाको खेती सुरु गरेका थिए । अहिले गोलभेँडाको खेतीलाई उनले गाउँभरमै विस्तार गर्न सफल भएका छन् । गोलभेँडा उत्पादनबाटै राम्रो आम्दानी लिनेगरेका उनले यही खेतीलाई गाउँभरमा विस्तार गर्न सफल भएको बताए । १६ वर्षअघि पनि कृषिमै रहेका दाहाल त्यो समय १० रूपैयाँमाना भैँसीको दुध ल्याएर मैनापोखरी बजारमा बेच्ने गर्थे । भैँसीको दुध बिक्रीबाट खासै राम्रो आम्दानी नभएपछि भैँसीपालनसँगै उनले २०६३ सालमा दुईवटा टनेल बनाएर गोलभेँडा र केराउको खेती गर्न सुरु गरेको सुनाए । हाल उनले २९ वटा टनेल बनाएर गोलभेँडा लगाएका छन् । गोलभेडा खेतीबाट सिजनमा दुईदेखि पाँच लाखसम्म आम्दानी गर्ने गरेको उनले बताए ।

गोलभेँडा खेतीको लागि गाउँपालिकाले उनीसँगै ११ जना किसानलाई पकेट कार्यक्रमको एक लाख ३४ हजार रूपैयाँ र प्लास्टिकको टनेल अनुदान दिएको समेत दिएको थियो । त्योबाहेक अन्य कुनै संघसंस्थाबाट आफूले अनुदान तथा ऋण सहयोग नलिएको उनले बताए । दाहालले आफ्नै लगानीमा २९ वछा गोलभेँडा टनेल हालेका छन् । एउटा टनेलमा एक सय ७० वटा सिर्जना जातको बिरुवा लगाएको उनले बताए । यस्तै उनले १० वटा टनेल थप गरेर बेमौसमी तरकारी लगाउने सोच बनाएको सुनाए ।

पछिल्लो समय उनीसँगै सो गाउँका १८ घरधुरीले व्यावसायिकरूपमा नै गोलभेँडाको खेती गर्न थालेका छन् । उक्त गाँउमा हाल दुई सय १७ वटा गोलभेँडाको टनेल छन् । सुरुमा सो गाउँमा चन्द्र बहादुर दाहाल र शिव प्रसाद दाहाल दाजुभाइको गोलभेँडा खेतीमा प्रतिस्पर्धा नै हुने गथ्र्यो । तर पछि गाउँमा एकपछि अर्कोले किसानले गोलभेँडाको खेती गर्दै गएपछि सिङ्गो गाउँ नै गोलभेँडाको गाउँ बन्न पुगेको छ ।

सोही गाउँ उनियाचौरका कृषक गोरे सार्कीले पनि चन्द्र र शिवले गोलभेँडा लगाउन सुरु गरेको देखेर २०६९ सालदेखि आफूले पनि गोलभेँडाको खेती गर्न सुरु गरेको बताए । उनले घरमाथिको बारीमा छवटा गोलभेँडाको टनेल छ । गोरे सार्की र उनकी श्रीमति कृष्णमाया सार्कीको दैनिकी गोलभेँडा गोडमेल र भैँसीलाई घाँसपात गरेरै बित्ने गर्छ ।

उनियाचौरबाट सिजनमा दुई करोडभन्दा माथिको गोलभेँडा उत्पादन हुँदै आएको सो गाउँका किसान शिव प्रसाद दाहालले बताए । गाउँमा उत्पादन भएको गोलभेँडा बिक्री गर्न बजार अभाव भएपछि तराईका जिल्लामा समेत पठाइने गरेको उनले सुनाए । गाउँमा उत्पादन गरिएको धेरैजसो गोलभेँडा सर्लाही, रौतहट र महोत्तरीमा जाने उनको भनाइ छ । उक्त जिल्लाबाट गाउँमै गोलभेँडा लिन व्यापारीहरू आउने गरेका छन् । स्थानीय बजारमा गोलभेँडा बिक्री गर्न सहज नहुँदा तराईका जिल्लामा पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया