Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसहकारीमा एकीकरण अभियान : ११ संस्थाबीच सम्झौता

सहकारीमा एकीकरण अभियान : ११ संस्थाबीच सम्झौता


काठमाडौं । संख्यात्मक वृद्धिले अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बेला सहकारी संस्थाहरू स्वस्फूर्तरूपमा एकीकरणमा जान थालेका छन् । शनिबार काठमाडौंका ११ वटा सहकारी संस्थाहरूले एकीकरणमा जाने सम्झौता गरेका हुन् ।

एकीकरण सम्झौता गर्ने सहकारीहरूमा काठमाडौंको न्युरोडस्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था, बालाजुस्थित मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था, बागबजारस्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था, चाबहिलस्थित लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था रहेका छन् । त्यस्तै तारकेश्वरस्थित योजना बहुउद्देश्यीय सहकारी संस्था, कलंकीस्थित उषाकिरण बचत तथा ऋण सहकारी संस्था, हात्तिसारस्थित माउन्ट अपि बचत तथा ऋण सहकारी संस्था, नयाँबानेश्वरस्थित सूर्यदेव बचत तथा ऋण सहकारी संस्था, न्युरोडस्थित हनुमानढोका बहुउद्देश्यीय सहकारी संस्था, न्युरोडकै दुर्गामाश्रिता बचत तथा ऋण सहकारी संस्था र पिपुल श्रोता बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

एकीकरणपछि संस्थाको नाम राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था प्रस्ताव गरिएको छ । संस्थाको मुख्य कार्यालय न्युरोड, ११ जनाको सञ्चालक समिति, तीन जनाको लेखा सुपरीवेक्षण समिति, अध्यक्षमा नरेन्द्र विष्ट र प्रमुख कार्यकारी अधिकृतमा इन्द्रप्रसाद गेलाल रहने प्रारम्भिक सहमति समेत भएको छ ।

एकीकरणपछि संस्थाको ४१ हजार सदस्य हुनेछन् भने कुल कर्मचारी संख्या पाँच सय १० जना पुग्नेछ । संस्थाको सेयर पुँजी ५५ दशमलव ५ करोड, बचत निक्षेप पाँच अर्ब ६५ करोड, ऋण लगानी पाँच अर्ब ७५ करोड, कुल कोष ३१ दशमलव ५ करोड र कुल सम्पत्ति तथा दायित्व सात अर्ब ७५ करोड हुने प्रस्तावित अध्यक्ष नरेन्द्र विष्टले जानकारी दिए । एकीकरणमा जाने सहकारीहरूले एक महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गर्ने र त्यसको १५ दिनभित्र एकीकृत साधारणसभा सम्पन्न गर्ने सम्झौता गरेका छन् । यस्तै शुक्रबार मात्रै नौवटा सहकारी संस्था र गत शनिबार पाँचवटा सहकारीले एकीकरणको लागि सम्झौता गरेका थिए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया