Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिअलैँची टिप्न सुरु

अलैँची टिप्न सुरु


दोलखा । जिल्लाका अलैँची कृषकहरूले अलैँची टिप्न सुरु गरेका छन् । यहाँका मध्यपहाडी क्षेत्रका लगाइएको अलैँची टिप्न सुरु गरिएको हो । अलैँची साउन अन्तिम सातादेखि टिप्न सुरु गरिन्छ । जिल्लाका प्रायः सबै क्षेत्रमा अलैँचीको खेती हुँदै आएको छ ।

जिल्लाको बिगु, तामाकोशी, बैतेश्वर र गौरीशंकर गाउँपालिकामा बढी अलैँचीखेती हुनेगरेको छ । यद्यपि पछिल्लो समय अलैँचीको मूल्यमा गिरावट आएपछि यसको खेती पनि घट्दै गएको छ । केही वर्षअघि निकै माग र मूल्य रहेको अलैँचीको पछिल्ला वर्षहरूमा भने दुवैमा गिरावट आएको किसानहरूले बताएका छन् । यसवर्ष अलैँची बिक्रीको सुरुवाती समय भएकाले मूल्य न्यून रहेको अलैँची व्यापारी राजकुमार तामाङले बताए ।

गतवर्ष पनि अलैँची किनबेचको सुरुको महिना भदौमा प्रतिकेजी पाँच सय रूपैयाँ रहेको थियो । छिमेकी देश भारतमा यसको माग बढे मंसिरपछि भने मूल्यमा केही सुधार आउनसक्ने तामाङले बताए । मंसिरपछि भने प्रतिकेजी एक हजार रूपैयाँभन्दा माथि हुनसक्ने उनको अनुमान छ । केही वर्षअघि अलैँचीलाई कालो सुनको रूपमा लिइने गरिन्थ्यो । तर पछिल्लो समयमा यसको माग खस्कँदै गएको छ ।

अलैँचीको माग र भाउ ओरोलो लागे पनि जिल्लामा लाखौँको अलैँची उत्पादन हुँदै आएको छ । गतवर्ष दोलखाको बैतेश्वर गाउँपालिकाबाट मात्रै करिब दुई करोडबराबरको अलैँची उत्पादन भएको अलैँची कृषक दिनेश तामाङले बताए । तामाङले गतवर्ष अलैँची बिक्रीबाट ९० हजार आम्दानी गरेको सुनाए । भारत र बंगलादेशमा कात्तिकपछि भाउ र माग वृद्धि भएकाले अघिल्लो वर्ष अलैँची बिक्रीबाट राम्रो आम्दानी लिएको उनको भनाइ छ । यस वर्ष भने अलैँचीको बिरुवामा रोग लागेर धेरै अलैँचीको बोट सुकेको हुँदा उत्पादन घटेको उनले बताए ।

अलैँचीको उत्पादनमा अब्बल मानिने मिर्गे जैनालु गाउँका प्रत्येक किसानले अलैँची बिक्रीबाटै घरखर्च धान्ने गरेका छन् । सिजनमा यहाँका किसानले ४० हजारदेखि चार लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँछन् । जैनालुका किसानलाई भदौदेखि मंसिरसम्मको समयमा अलैँची काट्न र अलैँची सुकाउन भ्याइनभ्याइ हुने गर्छ । गाउँमा रहेकोे दुईटा अलैँची भट्टीमा दैनिक अलैँची सुकाउनेहरूको लाइन लाग्ने गरेको छ । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया