Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकृषि उत्पादनको बजारीकरणमा पैँचोको उल्लेख्य योगदान

कृषि उत्पादनको बजारीकरणमा पैँचोको उल्लेख्य योगदान


बुटवल । पाल्पा, गुल्मी, अर्घाखाँचीलगायतका जिल्लामा कुनै समय कृषिजन्य उत्पादनहरु बजार अभावका कारण यसै कुहिएर जाने गर्दथे । किसानहरुले आफूले घरमा खानको लागि लगाएका तरकारीबालीहरु घरलाई आवश्यकभन्दा बढी भएपछि अरु यत्तिकै बारीमै छोडिदिने प्रचलन थियो । सबैका खेतबारीमा उत्पादन धेरै भएपछि पैदल गएर पुगिने आसपासका कुनै बजार क्षेत्रहरुमा धेरै बिक्री हुने कुरा पनि भएन ।

समय र परिस्थिति बदलिँदै जाँदा अहिले पहाडका गाउँ–गाउँमा सडक सञ्जालको विस्तार भएको छ । यससँगै पहाडी क्षेत्रहरुमा उत्पादित खाद्यवस्तुहरुले तराई र सहरका विभिन्न क्षेत्रहरुमा विस्तारै बजार ओगट्न थालेका छन् । भारतबाट आयातित र तराईमा उत्पादित अन्नबालीभन्दा पहाडमा उत्पादित अन्नबाली बढी अर्गानिक र स्वादिलो हुनाले यसको माग बढ्दै गएको छ । साथै अहिले पैंचो पसल प्रालि बुटवलले पाल्पा, गुल्मी, अर्घाखाँचीलगायतका जिल्लाहरुका गाउँ–गाउँ पुगेर कृषिजन्य उत्पादनको संकलन गरी सहरमा ल्याएर बिक्रीवितरण गर्नथालेको छ । गुल्मीको रिडीमा १८ करोड लागतमा कृषि उद्योग खोलेको पैँचोले हालसम्म ३० करोडबराबरको लगानी गरिसकेको पैँचो पसल प्रालिका प्रमुख सञ्चालन अधिकृत केशव न्यौपानेले बताए । १३ वटा शाखा कार्यालय र एक सय पाँचवटा संकलन केन्द्रहरुबाट ग्रामीण क्षेत्रका हरेक उत्पादनहरुलाई बजारीकरण गर्दा वार्षिक ४० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको उनको भनाइ छ ।

पहाडी क्षेत्रहरुमा उत्पादित कुनै पनि उत्पादनहरुमा पैँचो पसलले रोलमोडेलको रुपमा काम गरेको उनको दाबी छ । पैँचो पसलले गाउँ–गाउँमा पुगेर उत्पादन खरिद गरी बजारीकरण गर्दा व्यावसायिक रुपमा कृषि गर्नेहरुलाई त धेरै सहज भएको उनले बताए । साथै आफ्नै घरमा खानको लागि कृषि गर्ने कृषकहरुको घरलाई आवश्यकभन्दा बढी भएको उत्पादन एक, दुई, पाँच, दश, ५० किलो जे–जति भए पनि पैँचो पसलले खरिद गर्ने हुँदा आमकृषकलाई पनि आफ्नो खाद्यवस्तु कुहिने तथा बिग्रिने डर हराएको उनको भनाइ छ । पैँचोको उक्त सेवाबाट ३० हजारभन्दा बढी किसान लाभान्वित भएको न्यौपानेले बताए । यस्तै उनले हाल व्यावसायिक कृषकहरुको संख्या वृद्धि हुँदै गएको पनि जानकारी दिए । कृषकहरुको उत्पादन र उत्पादकत्व वृद्धिका लागि पैँचो पसलले घर–घरमा गएर प्राविधिक सेवा दिने गरेको छ । विदेशबाट फर्किएका युवा, विदेशिन खोज्ने युवाहरुलाई कृषिप्रति आकर्षण बढाउन विभिन्न कार्यक्रमहरु पनि गर्ने गरेको न्यौपानेले बताए ।

कृषकहरुलाई खाद्यबालीमा विषादी नराख्ने कुरामा प्रेरित गर्दै अर्गानिक विषादी बनाएर राख्न आवश्यक तालिमहरु पनि बेला–बेलामा दिँदै आएको उनले जानकारी दिए । अर्गानिक विषादीको प्रयोगले स्वास्थ्यलाई कुनै असर नगर्ने र खाद्यवस्तुको स्वादमा पनि फरक नपर्ने उनको भनाइ छ । किसानलाई चाहिने सामान दिने र किसानको उत्पादन लिने अथवा लेनदेन गर्नुका साथै नगद छैन सामान चाहियो भन्दै कुनै कृषकले उत्पादन भएपछि दिउँला भनेर कुनै सामान लैजान चाहेमा पैँचोमै सरसामान दिने पैँचो पसलको मुख्य विशेषता भएको उनले बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया