Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारटाट पल्टिनलागेका लालीगुराँस र स्टार सहकारीबीचको मर्जरको भित्री उद्देश्य

टाट पल्टिनलागेका लालीगुराँस र स्टार सहकारीबीचको मर्जरको भित्री उद्देश्य


ललितपुर । दशैँमा पनि साधारण बचतकर्ताको रकम फिर्ता गर्न नसकेर चरम आर्थिक संकट व्यहोरिरहेको छर्लंग भएका दुई सहकारीहरु श्री लालीगुराँस र स्टार सहकारीले केही दिनअगाडि मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरे । मर्जरमा गएपछि निक्षेपकर्ताको पैसा फिर्ता दिने भने पनि यसमा कुनै सत्यता देखिँदैन ।

‘ऋणमा ऋण थपिँदा ऋण नै बढ्ने हो, धन बढ्ने होइन’, एक निक्षेपकर्ताले भने, ‘दुईवटा भिखारी मिलेर धनी बनेको संसारमा उदाहरण छैन । परिवार ठूलो भएपछि भिखारीबीच थप झगडा चर्किन्छ । अहिलेको दुई सहकारीबीचको सम्झौता पनि त्यस्तै हो ।’

बुझेका निक्षेपकर्ताले त्यस्तो धारणा बनाए पनि पैसा बचाउनु मात्र पर्छ भनेर धेरै सोच्न नसक्ने निक्षेपकर्ताहरुलाई भने दुईवटा सहकारी मर्ज भएपछि आर्थिक अवस्था राम्रो हुन्छ भन्ने मात्र भ्रम छ । उनीहरुलाई ऋणमा ऋण थपिँदा ऋणकै भार बढ्छ भन्ने खासै जानकारी छैन । त्यो जानकारी नभएका सर्वसाधारण निक्षेपकर्तालाई भुलाउन अहिलेको मर्जर सम्झौताले साथ दिएको छ । सम्झौताले यी दुई सहकारीका मुख्य सञ्चालकलाई भाग्न मद्दत गरेको छ, निक्षेप फिर्ता गर्न कुनै सहयोग गर्ने देखिँदैन ।

ललितपुर महानगरपालिका वडा नं. ३ मा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर महानगरपालिका वडा नं. ५ कुमारीपाटीमा रहेको स्टार बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्षहरु अमरदास श्रेष्ठ र दिनेश राईले गत ७ गते शुक्रबार दुई सहकारी एकीकरण गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । उनीहरुले उक्त सम्झौतालाई धेरै प्रचारमा पनि ल्याए । त्यसको खास उद्देश्य पैसा फिर्ता माग्न आउने निक्षेपकर्ताहरुको ध्यान अन्यत्र मोड्नु मात्र हो ।

उनीहरुले एकीकरणका लागि श्री लालीगुराँसका अध्यक्ष अमरदास श्रेष्ठको संयोजकत्वमा अञ्जु उप्रेती र सीए गोविन्द शर्मा गैह्रे तथा स्टार सहकारीकी उपाध्यक्ष श्रद्धा शाक्य र सीए प्रयास श्रेष्ठ रहेको कार्यदलको घोषणा गरेका छन् । श्री लालीगुराँस र स्टार सहकारी दुवैले कोरोना महामारीपछि बचतकर्ताहरुको रकम फिर्ता गर्नसकेका छैनन् ।

पुल्चोकमा रहेका श्री लालीगुराँस सहकारीलाई त्यसका सचिव समेत रहेका गोर्खाका सुरेन्द्र भण्डारीले व्यापक रुपमा दुरुपयोग गरेर व्यक्तिगत सम्पत्ति जोड्ने माध्यम बनाएका छन् र भण्डारीकै कारण श्री लालीगुराँस सहकारी टाट उल्टिने अवस्थामा पुगेको छ ।

त्यसका सञ्चालकहरुलाई ट्रयापमा पारेर भण्डारीले ब्रह्मलुट मच्चाउँदै आएको र अप्ठ्यारो अवस्थामा पुगेपछि सहकारी मर्ज गरेर अरुलाई टाँसो लगाएर आफू उम्किन एकीकरणको प्रारम्भिक सम्झौतामा हस्ताक्षर गराएको स्रोतको दाबी छ । यी दुई सहकारीको वित्तीय अवस्था हेर्दा त्यसमा सत्यता नै देखिन्छ । किनकि उक्त सहकारीमा निक्षेप फिर्ता माग्न आउनेहरु दैनिक खाली हात फर्किनुपरेको छ ।

एकीकरणका लागि प्रारम्भिक सम्झौता गरेको स्टार सहकारीले पनि पछिल्लो समय बचतकर्ताहरुको रकम फिर्ता गर्नसकेको छैन । सहकारी क्षेत्रमा लगानीयोग्य पैसाको अभाव चुलिँदै गएको बेला स्टार सहकारीका सञ्चालकहरुले सहकारीको रकम अपचलन गरी कार्यक्षेत्रबाहिर गएर घरजग्गामा गरेको लगानीले प्रतिफल दिन नसक्दा उक्त सहकारी विघटनको डिलमा पुगेको हो ।

चाडबाडको मौसमसँगै रकम झिक्ने बचतकर्ताहरुको संख्या बढ्दै गएपछि एक महिनाभित्रै ४६ करोड रुपैयाँ फिर्ता भएपछि अहिले स्टार सहकारी रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगेर हात उठाउँदै श्री लालीगुराँस सहकारीसँग मर्ज गर्ने अवस्थामा पुगेको हो ।

बचतकर्तालाई फिर्ता गर्ने रकम नभएर अप्ठ्यारो अवस्थामा पुगेको स्टार बचतले लगानी गरेका भाखा नाघेका कर्जा पनि उठ्न छाडेका छन् र तीन हजार सेयर सदस्यको ३७ करोड रुपैयाँ सेयर पुँजी पनि डुब्ने अवस्थामा पुगेको छ भने दुई अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी र ७० करोड रुपैयाँको घरजग्गाको लगानी पनि झोल न मोलको हुने अवस्थामा पुगेको छ ।

स्टार र श्री लालीगुराँस दुवै सहकारीले ललितपुरमा मुख्य कार्यालय रहे पनि अन्यत्र सेवा कार्यालय खोलेर भरमार रुपमा घरजग्गामा लगानी गरेका थिए । यसको अलावा श्री लालीगुराँस सहकारीले भैरवकुण्ड जलविद्युत् आयोजना, गाईफार्मलगायतमा समेत लगानी गरेर करोडौँ रुपैयाँ डुबाएको छ र त्यसरी रकम डुबाउने मुख्य पात्र सुरेन्द्र भण्डारी नै हुन् ।

सहकारीका सञ्चालकलाई सुरक्षा दिन सिफारिस
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको ठाडो निर्देशनमा बचतकर्ताहरुको रकम हिनामिना गरेर उनीहरुलाई रकम फिर्ता नगर्ने सहकारीका सञ्चालकहरुलाई उल्टै सुरक्षा प्रदान गर्न गृह मन्त्रालयलाई सिफारिस गरिएको छ ।

व्यवहार बिगारेका सहकारीका पहुँचवाला टाठाबाठा सञ्चालकहरुको आग्रहमा सहकारी मन्त्रालयले यस्तो सिफारिस गरेर दशैँको मुखमा पनि रकम फिर्ता नपाएर भौँतारिएका पीडित बचतकर्ता सरकारी दमनमा पर्ने भएका हुन् ।

Open photo

बचतकर्ताको रकम फिर्ता नगरेर सहकारीका सञ्चालकहरु भाग्ने क्रम बढेपछि बचतकर्ताहरु विगत दुई महिनादेखि सहकारीको कार्यालयमा रकम फिर्ता माग्न पुग्ने गरेका छन् । त्यस्तो क्रम बढेपछि सहकारीमन्त्री श्रेष्ठको मन्त्रालयले गत भदौ १२ गते नै गृह मन्त्रालयलाई त्यस्तो सिफारिस गरेको थियो र चाडबाड मनाउन रकम फिर्ता माग्न बचतकर्ताको संख्या बढ्दै गएपछि दशैँको मुखमा सहकारी मन्त्रालयले गरेको सिफारिस सार्वजनिक भएको छ । पीडितको रकम फिर्ता गर्न पहल गर्नुपर्ने सरकारले उल्टै ठगहरुलाई सुरक्षा दिनुले सहकारीमा जनताको लगानी असुरक्षित बन्नपुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया