Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिदेउराली सहकारी अध्यक्ष चौलागाईंको झूठो प्रस्टीकरण : सहकारीमा कुनै समस्या छैन

देउराली सहकारी अध्यक्ष चौलागाईंको झूठो प्रस्टीकरण : सहकारीमा कुनै समस्या छैन


काठमाडौं । बचतकर्ताले आफ्नो नियन्त्रणमा लिएको सातादोबाटोस्थित प्रधान कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारीले सहकारीमा कुनै समस्या नरहेको जनाएको छ । सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले सहकारीमा कुनै समस्या नरहेको भन्दै झूठा प्रस्टीकरण दिएका छन् । बचतकर्ताले नियन्त्रणमा लिएपछि सहकारीमा प्रवेश गर्न नपाएका उनले आफ्ना सहयोगी र समर्थकबीच उक्त झूठा प्रस्टीकरण सार्वजनिक गरेको एक बचतकर्ताले बताए ।

बचतकर्ताको निक्षेप फिर्ता दिन नसकी भाग्दै हिँडेका अध्यक्ष चौलागाईंले आफ्ना केही सहयोगी र समर्थकका बीच सहकारीमा समस्या नरहेको बताएका थिए । लगत्तै उनले निक्षेप फिर्ताको साटो जग्गा दिने आश्वासन समेत देखाएका थिए । अध्यक्ष चौलगाईंले सोमबार ललितपुर पार्टी प्यालेसमा उक्त कुरा बताएका हुन् । उनले सहकारीमा कुनै समस्या नरहेको प्रस्टीकरण दिएर सरकार, बचतकर्ता, लगानीकर्तालगायतका पक्षलाई भ्रममा पार्ने प्रयास गरेका छन् ।

उनले सहकारीमा समस्या नरहेको भन्दै रकम फिर्ता माग्ने बचतकर्ताहरुमाथि हुलहुज्जत र अभद्र व्यवहार गरेको आरोपमा प्रहरी दमन गर्ने योजना अघि बढाएको बचतकर्ताले बताएका छन् । सहकारीको समस्या समाधान गर्न भन्दै अध्यक्ष चौलगाईंले बैंकहरुबाट करिब तीन अर्ब रुपैयाँ ऋण लिएका छन् । बैंकबाट लिएको ऋणले नै उनको सहकारीमा समस्या रहेको प्रमाणित गर्छ, यसका साथै बचतकर्ताहरुले उनलाई निरन्तर खोजी समेत गरेका छन् ।

सहकारीमा नेपाल राष्ट्र बैंकका २० जना कर्मचारीले समेत बचत गरेका छन् भने सो रकम उनीहरुले पाउनसकेका छैनन् । यसका साथै ठूला तथा अन्य साना बचतकर्ताले समेत रकम पाउनसकेका छैनन् । जसका कारण अध्यक्ष चौलागाईं विगत दुई महिनादेखि लुक्दै हिँडेका छन् । अर्कोतर्फ उनले लिएको ऋणका कारण बैंकका व्यवस्थापकहरु समेत अप्ठ्यारोमा परेका छन् । यी सबै समस्याको बाबजुद अध्यक्ष चौलागाई एक जना बिचौलियाको घरमा कागज पत्र लुकाएर बसेका छन् । सहकारीहरुले निक्षेप रकम जथाभावी प्रयोग गर्दा समस्यामा परेको पाइन्छ । फितलो सरकारी अनुगमन, नियमविपरीत सहकारीको लगानी, जथाभावी कर्जा लगानीका कारण सहकारीहरु समस्यामा पर्दै गएका हुन् ।

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष चौलागाईंले संस्थामा सबै शीर्षकमा रहेका बचत रकमलाई दुई भागमा विभाजन गरेर बचत फिर्ता गर्ने बताएका छन् । पाँच लाखसम्मको बचत रकमलाई साना बचतकर्ता र पाँच लाख माथिका लागि ठूला बचतकर्ताको रुपमा विभाजन गरेर बचत फिर्ता गर्ने योजना बनाएको विज्ञप्तिमा भनिएको छ । निक्षेप फिर्ता लिन चाहनेहरुका लागि दुई चरणमा दुईवटा विकल्प दिएर सावाँ ब्याजसहित फिर्ता गर्ने । अन्य सहकारीहरुमा देखिएका समस्या एवं विकृतिले बजारलाई त्रसित बनाएको कारण पनि निक्षेपकर्ताहरु आत्तिएको भन्दै उनले देउराली बहुउद्देश्यीय सहकारी संस्था भने डुब्ने नै गरी कुनै समस्या नरहेको तथा विगत केही महिनायता संस्थामा तरलताजन्य समस्या आएको भए पनि त्यसको विस्तारै हल हुँदै जाने उनले दाबी गरेका छन् ।

संस्थाको रकम दुरुपयोग भएको नभई लगानी गरेका ठाउँहरुबाट रकम उठती नभएको हो । पहिलो पाँच लाखसम्मका साना बचतकर्ताहरुलाई तत्कालै संस्थाको तीनवटै काउन्टरबाट क्रमिक भुक्तानी गर्दै जाने र पाँच लाखभन्दा बढी बचत रकम भएकाहरुलाई दुई वर्षभित्र सम्पूर्ण रकम फिर्ता गरिने विज्ञप्तिमा अघि भनिएको छ, ‘पाँच लाख बढीका निक्षेपकर्ताहरुले बचत सुरक्षणको लागि घडेरीको रुपमा विकास गरिएको टुक्रा जग्गा नामसारी गरी बचत रकम सुरक्षण गरिनेछ ।

चौलागाईंले चितवन जिल्लाको भरतपुर नगरपालिका वडा नं. ६ मेघौलीमा रहेको ५७ बिघा जग्गालाई १२६७ प्लटमा प्लटिङ गरिएको छ । मेघौलीलगायत अरु विभिन्न ठाउँहरुमा समेत रहेका जग्गा बचत सुरक्षणका लागि ठूला निक्षेपकर्तालाई नामसारी गर्ने योजना संस्थाले बनाएको छ । बचतकर्ताहरुले रकमको सट्टा प्लट नै लिन सक्नेछन् ।’

करिब २० हजार सदस्यहरु रहेको देउराली बहुउद्देश्यीय सहकारीले निक्षेपकर्ताहरुबाट तीन अर्ब बचत संकलन गरेको छ । हाल संस्था निक्षेपकर्ताहरुको ६५ करोड रकम फिर्ता गर्नुपर्ने अवस्थामा छ । ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको सहकारीको भक्तपुर र न्युरोड समेतमा गरी तीनवटा काउन्टर छन् ।

यसैबीच सरकारले नै बचतकर्ताको निक्षेप फिर्ता नदिई भाग्दै हिँड्ने सहकारीलाई समस्याग्रस्त घोषण गरी उन्मुक्ति दिँदै आएको देखिन्छ । जुन प्रयास देउरालीले गरेको छ । सिभिल सहकारी, गौतमश्री सहकारी, लसकुस सहकारीपछि उपत्यकामा समस्याग्रस्त घोषणा मात्र हुन बाँकी भएका सहकारीको सूचीमा देउराली पनि अटाउन खोजेको छ । देउरालीका साथै लालीगुराँस सहकारी पनि सो तयारीमा रहेको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया