Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिमौरीपालनमा रमाइरहेका प्रमोद !

मौरीपालनमा रमाइरहेका प्रमोद !


दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिका–४ का युवा व्यवसायी प्रमोद दाहालले विगत सात वर्षदेखि व्यावसायिकरूपमा मौरीपालन गर्दै आएका छन् । मौरीपालनबाट मात्रै उनले वार्षिक पाँच लाख आम्दानी लिने गरेका छन् ।

उनले आफ्नै १५ रोपनी क्षेत्रफलको जग्गामा तीन सय घार मौरी पालेको जानकारी दिए । आंशिकरूपमा घरायसी प्रयोजनको लागि मात्रै पालन गरेको मौरीलाई उनले २०७३ सालदेखि व्यवसायमा परिणत गरेको सुनाए । दैनिक हेरचाह गर्न नपर्ने र दानापानीको उचित व्यवस्थापन नगरे पनि छोटो समयमा नै सजिलै आम्दानी लिन सकिने भएकाले मौरीलापालन व्यवसायमा लागेको दाहालले बताए । बालीनालीमा जस्तो रोग कीरा नलाग्ने भएकाले मौरीपालन व्यवसाय आम्दानीको भरपर्दो स्रोत बनेको उनको भनाइ छ ।

दाहालले आफ्नै ग्यालेक्सी मौरीपालन फार्म खोलेर व्यावसायिकरूपले मौरी पाल्न थालेका हुन् । साथै प्रमोदले बैतेश्वरका अन्य कृषकलाई समेत मौरीपालनसम्बन्धी तालिम दिन थालेका छन् । उनीबाट तालिम लिएका यहाँका दर्जनौँ कृषकले मौरीपालन सुरु गरेको उनले सुनाए । नेपाल किसान संघका केन्द्रीय सदस्य समेत रहेका दाहाल मौरीपालनसम्बन्धी तालिम दिन छिमेकी जिल्ला सोलुखुम्बु, सिन्धुपाल्चोक र दोलखाका विभिन्न वडा तथा पालिकामा समेत पुग्ने गरेका छन् ।

दाहालका अनुसार वर्षको दुई पटक जेठ र कात्तिक महिनामा मह काट्दा दुई लाख ७० हजार लिटरसम्म मह उत्पादन हुनेगरेको छ । प्रतिलिटर एक हजार पाँच सय रूपैयाँमा मह बिक्री हुँदै आएको छ । मौरीपालन व्यवसाय निकै राम्रो हुने हुँदा यसमा ढुक्क भएर लाग्न उनले सबै कृषकलाई अनुरोध समेत गरे । यस्तै उनले मौरीचरण र मौरीको व्यावसायिक पालनसम्बन्धी थप अध्ययन गरिरहेको सुनाए । नेपालका विभिन्न भागमा मौरीपालन हुँदै आएको छ । मौरीको मह शारीरिक दुर्बलता, मधुमेह, रुघाखोकीलगायतका रोगको लागि अति उत्तम औषधि मानिने दाहाल बताउँछन् । आयुर्वेदिक औषधिमा समेत मह मिसाइएको हुने उनले बताए । दाहालका अनुसार नेपालमा सेरेना, मेलिफेरा, भीरमौरी, कठ्यौरी र घारमौरीलगायत जातको मौरीको व्यावसायिक पालन हुँदै आएको छ । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया